रेवतिराज घिमिरे
भद्रपुर, २ साउन । लगातार तीन महिनासम्मको लकडाउनका कारण भद्रपुर भन्सार कार्यालयले लक्ष्य अनुरुपको राजस्व संकलन गर्न नसकेको जनाएको छ ।
आर्थिक बर्ष २०७६÷७७ को असार मसान्तसम्ममा २० करोड ६९ लाख २२ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको भन्सारले लकडाउनका कारण १४ करोड ४९ लाख ३५ हजार रुपैयाँ मात्र राजश्व संकलन गर्न सफल भएको हो ।
गत आर्थिक बर्ष २०७५÷७६ को असार मसान्तसम्ममा १९ करोड १८ लाख ७९ हजार २ सय १५ रुपैयाँ राजश्व संकलन गरेको कार्यालयले २०७७ चैत्र ११ गते देखि जेठ ३२ गतेसम्मको लकडाउनका कारण राजस्वमा भारी गिरावट आएको जनाएको छ ।
लकडाउनका कारण चैत्र महिनामा ४१ लाख ९५ हजार रुपैयाँ , बैशाखमा १४ हजार र जेठ महिनामा २ लाख ८४ हजार रुपैयाँ मात्र राजश्व संकलन भएको कार्यालय प्रमुख फडिन्द्र खतिवडाले बताए ।
उनले २०७६ फागुनसम्म कार्यालयले लक्ष्य अनुरुपको राजस्व संकलन गर्न सफल भए पनि चैत्रदेखि जेठसम्मको अबधिमा उक्त लक्ष्य पुरा हुन नसकेको समेत बताए । लकडाउन खुलेसंगै असार महिनामा मात्र लक्ष्यभन्दा केही कम १ करोड ४६ लाख ९० हजार रुपैयाँ राजश्व संकलन भएको कार्यालयका नासु विरेन्द्रनाथ पाण्डेले बताए ।
उनले असारमा मात्र १ करोड ७२ लाख ४४ हजारको लक्ष्य रहेको समेत जानकारी दिए । लकडानका कारण चैत्रमा २६ प्रतिशत ,बैशाखमा ०.०८ प्रतिशत र जेठमा १.५३ प्रतिशत मात्र रजश्व संकलन भएको पाण्डेले बताए ।
भारतको गलगलिया भद्रपुर जोड्ने मेची पुल निर्माण कार्य सम्पन्न भएसंगै २०७५ असोजबाट मुल भन्सारको मान्यता पाएको भद्रपुर भन्सार कार्यालयले २ बर्ष अघि आर्थिक बर्ष २०७४÷७५ को असार मसान्तसम्मको एक आर्थिक बर्षमा छोटी भन्सारको मान्यता अन्र्तगत रहँदा समेत १२ करोड १६ लाख ४६ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो ।
हाल यसै कार्यलय मातहतमा केचना छोटी भन्सार र झापाको कुमरखोज भन्सार कार्यलय रहेका छन् । यस नाका बाट भारतका ठाकुरगंज, गलगलिया, कलकत्तालगायतका विभिन्न ठाउँहरुबाट चिया उद्योगका प्याकेजिङ्ग, उद्योगका पार्टस, तयारी चिया सुर्ती, कपडा तरकारी लगायतका बिभिन्न सामनाहरु आयात निर्यात हुने गरेका छन् ।