भद्रपुर महोत्सवमा अवलोकनकर्ता बढ्दै

  प्रकाशित मिति
१४ फाल्गुन २०७३, शनिबार २२:२४


भद्रपुर । सदरमुकाम भद्रपुरमा बिहीबार सुरु पूर्वाञ्चलस्तरीय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा अवलोकलकर्ताहरुको भीड बढ्न थालेको छ ।

महोत्सवको तेस्रो दिन शनिबार सार्वजनिक विदाका कारण पनि अवलोकनकर्ताहरुको उल्लेख्य सहभागिता रहेको छ ।
महोत्सव अवलोकन गर्न शारीरिक रुपमा कमजोरहरु पनि आएका थिए भने सीमावर्ती भारतीय क्षेत्रबाट पनि उल्लेख्य रुपमा अवलोकनकर्ता भित्रिएको आयोजको दावी छ ।

झापा उद्योग वाणिज्य सङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घ र वाणिज्य मन्त्रालय अन्तर्गतको एनटीआईएस कार्यक्रमको संयुक्त आयोजनामा भद्रपुर–५ झापा चोक छेउको खुला मैदानमा फागुन २१ गतेसम्म सञ्चालन हुने महोत्सवमा दैनिक ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने गरेको छ ।

शनिबार साँझ ‘पानी पर्यो, असिना झर्यो’ बोलको गीत गाउँदा उपस्थित दर्शकहरु कम्मर मर्काई मर्काई नाचेका थिए । स्थानीय कलाकारहरुले पनि नृत्यको उत्कृष्ट प्रस्तुति दिएका थिए ।

महोत्सवमा विभिन्न किसिमका १ सय १० वटा स्टल राखिएका छन् । महोत्सवलाई भव्य, सभ्य र उल्लेख्य सहभागितामूलक बनाउन उद्घाटन अघि भद्रपुर नगरपालिका परिसरबाट विभिन्न परम्परागत साँस्कृतिक झाँकीसहितको र्याली निकालिएको थियो ।
महोत्सवमा काठमाडौं, पोखरा, सुदूर पश्चिमाञ्चल क्षेत्रसमेतबाट स्टल आएको झापा उद्योग वाणिज्य सङ्घका कार्यालय सचिव शैलेस ढुङ्गाना बताउँछन् ।

झापाको कृषि तथा पर्यटनको विकासमा सघाउ पुर्याउने, सीमा पार आयात–निर्यात व्यापारलाई पनि प्रवर्धन गर्ने अपेक्षा गरिएको महोत्सवमा स्वदेशी तथा विदेशी उत्पादनहरुको प्रदर्शनी तथा कारोबार, स्थानीय कृषि उत्पादनको प्रदर्शनी, पूर्वका पर्यटकीय स्थलहरुको प्रसार–प्रसार, दर्जनौं अटोमोबाइल्सका प्रदर्शनी तथा कारोबार, बालबालिकाका लागि आकर्षक बाल उद्यान रहेको छ ।

पूर्वाञ्चल क्षेत्रको मात्र नभई सुदूर पश्चिमबाट समेत स्टल आएको छ भने पोखराबाट आएको स्वादिष्ट सेलरोटीसमेतको परिकारको स्टलमा उपभोक्ताको निकै भीड लाग्ने गरेको छ ।

त्यस्तै, बाँसको जराको सामग्री, अल्लोबाट निर्मित कपडा, ढाकाटोपीको स्टलमा पनि उपभोक्ताको भीड लाग्ने गरेको छ ।
सांस्कृतिक प्रस्तुतिका लागि महोत्सवको दोस्रो दिन शुक्रबार मेलिना राई, सिमान्त सन्तोष घिमिरे र नृत्य निर्देशक मुकेश अधिकारीले प्रस्तुति दिएका थिए भने आइतबार हिमाल सागरको प्रस्तुति रहने छ । त्यस्तै, १६ गते शिव परियार, १७ गते राजा राजेन्द्र पोखरेल र कालीप्रसाद वाँस्कोटा, १८ गते जीवन कलाप्रेमी र नीता मगर, १९ गते सविन लिम्बू र फारसाइट ब्यान्ड, २० गते प्रमोद खरेल र अन्तिम दिन २१ गते सुगम पोखरेलको प्रस्तुति रहने सांस्कृतिक उपसमिति संयोजक कालीचरण वस्नेतले जानकारी दिए ।

‘स्वदेशी उत्पादन बढाऔं, आत्मनिर्भर बनौं’ भन्ने उद्घोषका साथ भइरहेको महोत्सवको प्रायोजकमा एशियन थाइ फुडद्वारा उत्पादित रमपम तयारी चाउचाउ र गुडलाइफ विस्कुट, सहप्रायोजकमा मनसा सिमेन्ट, मारुती सिमेन्ट, बजाज मोटरसाइकल र सेलो खानेतेल रहेका छन् ।

नेपाल पर्यटन बोर्ड महोत्सवको प्रवर्धक रहेको छ भने जिल्ला विकास समिति, भद्रपुर नगरपालिका सहआयोजकमा रहेका छन् । त्यस्तै, पूर्वाञ्चल क्षेत्रका जिल्ला–नगर उद्योग वाणिज्य सङ्घहरु, वस्तुगत सङ्घहरु, सामाजिक सङ्घ–संस्था पनि सहआयोजकको रुपमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: