झापा । भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका एक संक्रमितको मृत्यु भएको हो ।
उनको मङ्गलबार विहान ७ बजेर ६ मिनेट जाँदा मृत्यु भएको अस्पतालले जनाएको छ । उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ ।
शवको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय गर्न बाँकी नै रहेकोले प्याकिङको काम भएको छैन ।
भरतपुर महानगरपालिका वडा नं. ११ का ६८ वर्षीय ती वृद्धलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मुट र निमोनियाको समस्या समेत थियो ।
जिल्ला प्रशासन कार्यालयको अनुमति विना नै क्रिटिकल अवस्थाका बिरामीलाई सारेको भन्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले आपत्ति जनाएका छन् ।
नारायणी सामुदायिक अस्पतालले सामान्य अक्सिजनको भरमा बिरामीलाई भरतपुर अस्पतालको आईसीयूमा सारेको थियो ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले आफूहरुले बिरामी नसार्न भन्दा भन्दै सारिएको बताए । मेसु तिवारीले बिरामी ल्याउँदा समेत सावधानी नअपनाएको बताए ।
नारायणी सामुदायिक अस्पतालको आईसीयूमा अन्य चार जना कोरोना संक्रमितसँगै राखिएका थिए । (अनलाइन खवर)