‘भरत भूर्तेल स्मृति पत्रकारिता पुरस्कार’ आनन्द गौतमलाई

  प्रकाशित मिति
२५ फाल्गुन २०७५, शनिबार १४:४४


धुलाबारी । पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठान धुलावारी झापाले दिवंगत पत्रकार तथा लेखक भरत भूर्तेलको स्मृतिमा स्थापना गरेको ‘भरत भूर्तेल स्मृति पत्रकारिता पुरस्कार’ आनन्द गौतमलाई प्रदान गरिएको छ ।

आज धुलावारीमा आयोजित समारोहकाबीच रु. २५ हजार नगद राशीको पुरस्कार नयाँ पत्रिका दैनिकका सम्पादक कृष्ण ज्वाला देवकोटा र मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गौतमलाई प्रदान गर्नुभएको हो । गौतम कान्तिपुर दैनिकका ताप्लेजुङ समाचारदाता हुन् ।

भुर्तेलको स्मृतिमा प्रतिष्ठानले गत बर्षदेखि पत्रकारिता पुरस्कार वितरण गर्न शुरु गरेको हो । गत बर्ष सो पुरस्कार कान्तिपुर दैनिकै झापा समाचारादाता पर्वत पोर्तेललाई प्रदान गरिएको थियो । अग्रज पत्रकार चन्द्र भण्डारीको संयोजकत्वको समितिले पुरस्कृत प्रतिभाहरु चयन गरेको थियो ।

कार्यक्रममा प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट विद्यालयको सम्मान यस बर्ष गढीगाउँ माध्यमिक विद्यालयलाई प्रदान गरेको छ । रु. ५१ हजार राशीको यो पुरस्कार क्षेत्र नम्वर १ भित्रका उत्कृष्ट सामुदायिक विद्यालयलाई प्रदान गरिन्छ ।

त्यसैगरी उत्कृष्ट शिक्षकको रुपमा धुलाबारी माविका सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाई र उत्कृष्ट गणित शिक्षकमा गढीगाउँ माविकै रुद्रमणि खतिवडालाई नगद रु दश हजार राशीले पुरस्कृत गरिएको पुरस्कार छनोट समितिका संयोजक चन्द्र भण्डारीले बताए ।

कार्यक्रममा उत्कृष्ट छात्रामा बालकल्याण मावि मेचीनगरकी श्रद्धा वस्नेत, लोपोन्मुख जातिका विद्यार्थीहरु मध्येबाट शान्ति आदर्श माविका खेमराज लेप्चा, सन्तोष लेप्चा र सुस्मिता लेप्चालाई नगद रु ५÷ ५ हजार प्रदान गरियो ।

प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाले माता र पिताको स्मृतिमा प्रतिष्ठान नै खडा गरेर विगत ५ वर्षदेखि विभिन्न क्षेत्र र विधाका प्रतिभाहरुलाई पुरस्कृत एवम् सम्मानित गर्ने परिपाटी शुरु गरिएको जानकारी दिए ।

छविलाल खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि विमल आचार्य, नयाँ पत्रिका दैनिकका सम्पादक कृष्ण ज्वाला देवकोटा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

पुरस्कृत प्रतिभाहरुको व्यक्तित्वको परिचयसहित पुरस्कार घोषणा छनोट समितिका संयोजक चन्द्र भण्डारीले गरेका थिए भने सञ्चालन शिरो सन्दाईले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: