झापा, १९ भदौ । डा. युवराज खतिवडाले मन्त्री पदबाट आजै राजीनामा दिने बताएका छन् ।
उनले आजको क्याबिनेट मिटिङमा आजै साँझसम्ममा राजीनामा दिने प्रधानमन्त्री केपी ओलीलाई बताएका हुन् ।
प्रधानमन्त्री ओलीका प्रियपात्र खतिवडाको सांसद् पदको अवधि ६ महिना अघि सकिएको थियो ।
नेकपाका अर्का नेता बामदेव गौतमलाई खतिवडाको रिक्त सांसद् सिटमा मनोनित गरिने भएकाले उनले मन्त्री पद त्यागेका हुन् ।
झापाको गौरादह (बैगुनधुरा) घर भएका खतिवडालाई अर्थमन्त्री जस्तो गहन जिम्मेवारीमा ओलीले नै रोजेर ल्याएका हुन् ।
अहिले पनि खतिवडालाई हटाउने मुडमा ओली थिएनन् । तर प्रचण्डसँगको विवादमा साथ दिएपछि गौतमलाई शक्ति सन्तुलनका लागि रोज्न बाध्य भए ओली ।
अब खतिवडालाई ओलीले अदृश्य तर शक्तिशाली जिम्मेवारीमा राखिरहने सम्भावना पनि छ ।