धुलाबारी । जेनियम युवा क्लब धुलाबारी वडा नं ९ र १० द्वारा आयोजित वडास्तरीय नकआउट भलिबल प्रतियोगिताको उपाधि वडा नं ६ ले जितेको छ ।
उपाधि जितेसँगै वडा नं ६ ले १५ हजार रुपैयाँसहित मेडल, ट्रफी तथा प्रमाणपत्र हात पारेको छ । यस्तै, प्रतियोगितामा दोस्रो स्थानमा चित्त बुझाएको वडा नं ११ ले १५ हजार रुपैयाँ प्राप्त गरेको छ । तेस्रो स्थान बनाउन सफल वडा नं ९ ले १० हजार रुपैयाँ पाएको छ ।
धुलाबारीको हाट बजार खेल मैदानमा तीन दिने वडास्तरीय प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा मेचीनगरका ११ वटा वडाका टीमले भाग लिएका थिए । क्लवले प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट भएका दर्जन बढी खेलाडीहरुलाई पनि पुरस्कृत गरेको क्लबका अध्यक्ष धनराज थापाले जानकारी दिए ।
विजेता टिम तथा खेलाडीलाई शुक्रवार आयोजित समापन कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद गोपाल बुढाथोकीले पुरस्कार वितरण गरेका थिए । समापन कार्यक्रममा जिल्ला भलिवल संघका सदस्य नरेश मेहेरा, मेचीनगर वडा नं ९ का वडाध्यक्ष गोपाल खड्का, १० का वडाध्यक्ष सुदय पनेरु, वडा सदस्य धिरावती लिम्बू, रविन बस्नेतलगायतको आतिथ्यता रहेको थियो ।
सोही अवसरमा क्लवले खेल क्षेत्रमा योगदान पुर्याउने पुराना खेलाडीलाई सम्मान पनि गरेको छ । क्लवले गणेशविक्रम नेम्वाङ, देवेन्द्रविक्रम नेम्वाङ, डिबी कार्की, रविन बस्नेत, गणेश बानियाँ, असिम निरौला, गोकुल पराजुली, गोपाल बस्नेत, राजन भेटवाल, मिलन डाँगी र शम्भू अधिकारीलाई सम्मान गरेको आयोजक जेनियम युवा क्लबका अध्यक्ष थापाले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्नका लागि मेचीनगर वडा नं ९ र १० ले पनि आर्थिक सहयोग गरेको थियो । क्लबका सदस्यबाट सहयोग सङ्कलन गरेर प्रतियोगिता सम्पन्न गरिएको क्लबका अध्यक्ष थापाले बताए । उक्त क्लब खेलकुद तथा अन्य सामाजिक गतिविधिमा सक्रिय रहँदै आएको छ ।