भाइरल भयो मोदीलाई जवाफ

  प्रकाशित मिति
९ मंसिर २०७२, बुधबार ११:५८


12219412_1704708369751770_1217504569163506426_n

मेचीनगर । झापाका एक युवा सञ्जय निरौलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिको प्रतिबाद गर्दै बनाएको ४ मिनेटको भिडियोले यतिबेला विश्वभर प्रशंसा पाएको छ ।

बाहुनडाँगी–९ तिरिङ घर भएका निरौलाले नेपालको संसद्मा मोदीले दिएको भाषणसँग हाल नाकाबन्दी लगाइरहेको भारत र मोदीको तुलना गर्दै भिडियो निर्माण गरेका हुन् ।

भिडियोमा निरौलाले मोदीको चिप्ला भाषणलाई हाल भारतले नाकाबन्दी लगाइरहेको विषय जोडेर कुरैपिच्छे तार्किक प्रतिबाद गरेका छन् ।

नौ दिन अघि नोभेम्वर ७ तारिखमा निरौलाले उक्त भिडियोलाई ‘स्वर्गभन्दा प्यारो छ हाम्रो बाहुनडाँगी’ नामक फेसबुक पेजमा अपलोड गरेका थिए । पेजमा लोड गरे लगत्तै भाइरल भएको सो भिडियो हाल भारतीय सरकार र स्वयम् त्यहाँका प्रधानमन्त्री मोदीका लागि अत्याउने विषय बनेको छ ।

हाल सो भिडियोलाई ३ लाख २१ हजार १ सय ९० जनाले हेरिसकेका छन् भने १६ हजार ६ सय २० जनाले शेयर गरेका छन् ।

‘मोदीका असली चेहरा’ भन्दै दिल्लीका मुख्यमन्त्री केजरीवालले समेत भिडियोलाई आफ्नो पेजमा राखेका छन् भने मोदीको सचिवालयका कर्मचारी मनबुँद सिंहले फेसबुक कमेन्टमा मोदीका तर्फबाट भिडियोको खण्डन गर्ने प्रयास गरेका छन् ।

धेरै मुलुकका राजनेता, कलाकार र बुद्धिजीवीले भिडियो हेरेका छन् भने भिडियोको कमेन्टमा नेपालले भोग्नु परिरहेको अवस्थाका लागि मोदीलाई दोष दिदै असङ्ख्य मत आएको छ ।

धुलावारीको पूर्वी व्लुज सङ्गीत समूहमा आवद्ध निरौला चारआली जेसीजमा समेत आवद्ध छन् । उनले भिडियोको निर्माण सोही समूहको स्टुडियोमा गरेको बताएका छन् ।

हालै लण्डन भ्रमणमा मोदीलाई विरोध गर्न ठूलो सङ्ख्यामा नेपाली सडकमा निस्कनुमा समेत भिडियोको प्रभाव रहेको बताइएको छ ।

आफुले निर्माण गरेको भिडियोले यत्रो चर्चा पाउला भन्ने सुरुमा कल्पनै नगरेको निरौला बताउँछन् । मोदीले नेपालको संसद्मा ढाट्दै गरेको भाषण र नाकाबन्दीको अमानवीय व्यवहारलाई दुनियाँसामू उदाङ्गो पार्ने प्रयास भिडियोमा गरेको बताए ।

भिडियोले चर्चा पाएपछि भारतीयहरूले सामाजिक सञ्जालमा कमेन्टमार्फत भिडियो हटाउन दवाव दिदै ज्यान मार्नेसम्मको धम्की दिएका छन् । तर धम्कीको तुलनामा उनलाई समर्थन गर्नेको सङ्ख्या कयौ गुणा ज्यादा छ ।

यसैविच भारतीय नाकाबन्दीको विरोधमा मोदीको भाषणलाई आधार बनाएर चर्चित भिडियो निर्माण गरेका झापाली युवा सञ्जय निरौलाको सुरक्षाको व्यवस्था मिलाउन चारआली जेसीजले माग गरेको छ ।

जेसीजका अध्यक्ष राजेश गिरीले सोमवार झापाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र दिदै भिडियोका निर्माता निरौलालाई भारतबाट टेलिफोन, म्यासेज र कमेन्ट लगायतका माध्यमबाट ज्यान मार्नेसम्मको धम्की आएको जनाएका छन् ।

धम्की आएकै कारण निरौलाले असुरक्षा अनुभूति गरेको हुँदा सुरक्षाको प्रबन्धका लागि जेसीजले माग गरेको जेसीजले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

भिडियोका निर्माता निरौला चारआली जेसीजका सदस्य हुन् । जेसीजको मागप्रति झापा उद्योग वाणिज्य सङ्घ शाखा चारआलीका अध्यक्ष शरद शिवाकोटीले ऐक्यबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: