भाग्यले बिजयी मेनुका

  प्रकाशित मिति
२१ असार २०७४, बुधबार ११:०८


menuka
झापा । भाग्यले पनि साथ दिदोरहेछ भनेको यही हो । झापाको कमल गाउँपालिकामा अध्यक्ष पदमा उम्मेद्वार बनेकी नेकपा एमालेकी उम्मेदवार मेनुका काफ्ले गोलाप्रथाबाट निर्वाचित भएकी छन् ।

उनी प्रदेश नं. १ मा प्रमुख पद जित्ने पहिलो महिला बनेकी छन् । प्रतिष्पर्धी नेपाली काङ्ग्रेसका उम्मेद्वार हुकुमसिंह राईसँग मत बराबर भएपछि अब के हुने हो भनेर दुबै उम्मेद्वार अन्योलमा थिए ।

दलहरुले पुनः मतगणनाको माग गरे पनि निर्वाचन आयोगले प्रक्रिया पूरा गरेर गनिएको मत फेर नगनिने जवाफ दिएको थियो । अन्ततः गोला प्रथाबाट अध्यक्ष छान्ने निधो भएको थियो ।

अध्यक्ष पदमा नेपाली काङ्ग्रेसबाट हुकुमसिंह राई र उनी दुबैको मत ८२७५ थियो । एमाले पक्षले २ मत धेरै आएको भनी फेसबुकमा खबर फैलाए । तर यथार्थमा दुबैको मत बराबर आएको थियो ।

आयोगले गोला प्रथा गर्दा पहिलोपल्ट गोला तान्ने पालो मेनुकाकै आयो । भाग्यवश उनलाई ‘विजयी’ लेखिएको चिठ्ठा पर्यो ।
उक्त गाउँपालिकाको उपाध्यक्षमा एमालेकै बेनुराज शिवाकोटी निर्वाचित भएका छन् ।  झापाका १५ स्थानीय तहमध्ये हालसम्म ५ वटा स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । जस अनुसार नेकपा एमाले कनकाई र कमल गरी दुई तहमा, राप्रपा कचनकबल, हल्दिबारी र गौरीगञ्ज गरी तीन तहमा र नेपाली काङ्ग्रेसले झापा गाउँपालिकामा प्रमुख पद जितेको छ ।

तर मेनुका झापामा प्रमुख जित्ने एक मात्र महिला भएकी छन् । झापामा एमालेले हल्दिबारीमा मञ्जु सिटौलालाई र काङ्ग्रेसले गौरीगञ्जमा फुलवती राजबंशीलाई प्रमुख पदमा उम्मेद्वार बनाएको थियो । ती दुबै महिला पराजित भइसकेका छन् ।

झापामा प्रमुख पदमा साना पार्टीहरुले अरु महिलालाई उम्मेद्वार बनाए पनि जित्ने सम्भावना छैन । कमल गाउँपालिकामा प्रमुख पदमा विजयी मेनुकाको यो पल्टको चुनावी यात्रा अलि अनौटो नै छ ।

उनलाई पार्टीले प्रमुखको टिकट सुरुमै दिए पनि उनी अन्तिम समयसम्म पनि नउठ्ने सम्भावना थियो । आर्थिक अवस्था कमजोर भएका कारण चुनावी खर्च जुटाउन नसक्ने र महिला उम्मेद्वार उठाउँदा भिड्न गाह्रो हुने आरोपपूर्ण चर्चा चलेपछि उनले पनि चुनावमा नउठ्ने सोच बनाएकी थिइन् ।

तर ढिलोगरी उनले उम्मेद्वार बन्नै पर्ने भयो । मनोनयनको केही दिन अघि मात्र उनको उम्मेद्वारीको छिनोफानो भएको थियो । हल्दिवारीमा उनकै पार्टीको उम्मेद्वार मञ्जु सिटौलाले पराजय व्यहोरिसके पछि मेनुकाको पनि स्थिति बारेमा अन्योल थियो । तथापि सबै अन्योललाई चिर्दैै उनी मतगणनामा लगातार अग्रता लिदै बढिन् । चुनाव जित्न भने उनलाई जनताको अभिमतले मात्र होइन, भाग्यले पनि साथ दियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: