भानुभक्त र उनको आशुकवित्व

  प्रकाशित मिति
२८ असार २०७३, मंगलवार २०:४५


Bhanubhakta_Acharya
नेपाली कविता साहित्यमा शम्भुप्रसाद ढुङ्गेललाई आशुकविको उपाधि प्राप्त छ । उनले चन्द्रशमशेरका अगाडि सिंहदरबारको वर्णन धाराप्रवाह कवितामा गरेका थिए । महाकवि लक्ष्मीप्रसाद देवकोटाको आशुकवित्व अनुपम थियो । उनी कवितामा भाषण गर्न सक्थे । रुसको तासकन्दमा भएको अफ्रोएसियाली लेखक सम्मेलनमा नेपालको प्रतिनिधित्व गरेर बोल्दा होस् वा राँचीबाट फर्कँदा दार्जिलिङको गोर्खा दुःख निवारक सङ्घको हलमा आफूलाई गरेको अभिनन्दनपछि प्रवचन दिँदा होस्, उनले आफ्नो कविते भाषणको परिचय दिएका थिए । यसरी बोल्दा उनी यति धेरै मग्न हुन्थे कि झन्डै आफैँलाई बिर्सन्थे । दार्जिलिङमै हो यिनले बोल्दा नाकबाट सिँगानको लत्को बगेको र दर्शक दीर्घाबाट पं. धरणीधर कोइराला उठेर स्टेजमा गई आफ्नो रुमालले कविको सिँगान पुछेको । यी दुवै कविभन्दा अगावै नेपाली साहित्यमा आदिकवि भनेर मान पाएका भानुभक्त आचार्यले आशुकविको पाइन् देखाइसकेका थिए । यसको चर्चा भएको पाइँदैन ।

आशुकवि भन्नाले कुनै दृश्य वा घटनालाई तत्काल कवितामय भाषामा वर्णन गर्ने कवि भन्ने बुझिन्छ । शब्दकोशमा आशुकविको अर्थ ‘छिटोछिटो कविता रच्न सक्ने कवि’ भनेर लेखिएको छ । समालोचक राजनारायण प्रधान लेख्छन्– भानुभक्तका प्रायः सबै फुटकर कविता घटना वा परिस्थिति विशेषका उपज हुन् । मोतीराम भट्टले जीवनी लेख्दा भानुभक्तको जीवनीबाट ती घटनाहरु मात्र चुनेको देखिन्छ, जहाँबाट कविमा कविता स्फुरण भएको थियो ।

वास्तवमा कविले आफ्नो परिवेश, काल, स्थान, घटना, भूगोल, इतिहास, संस्कृति आदिबाट प्रभाव ग्रहण गरेर त्यसलाई हृदयमा परिपाक लगाई शैलीबद्ध भाषिक अभिव्यक्ति गर्दा नै कविताको जन्म हुने हो । त्यस दृष्टिले हरेक कवि आशुकवि बन्न जान्छ । वा यसो भनौँ प्रत्येक कविमा आशुकवित्व हुन्छ, भलै मात्रा धेरथोर हुन्छ । यस सन्दर्भमा भानुभक्तको आशुकवित्वमाथि विचार गर्दा उनी पक्का आशुकवि देखिन्छन् । उनले अध्यात्म रामायणको नेपालीमा उल्था गर्दा आफ्नो आशुकवित्वको कति उपयोग गरे किटेर भन्न नसके पनि उनका फुटकर कवितामा भने हामी यथेष्ट उदाहरण भेट्छौँ । उनका कविताले समेटेका विषयवस्तुको विविधतासँगै यसको उदाहरण हेरौँ–
१) नरेन्द्रराज प्रसाईंका अनुसार भानुभक्तले कवितालाई लेखनमा मात्र सीमित राखेनन्, बोलीमा पनि कवितालाई सजाए । उदाहरणका रुपमा उनले कुनै एक अपरिचितलाई आफ्नो परिचय दिँदा तुरुन्तै कविता बनाएको घटना अघि सारेका छन् –
पहाडको अति बेस् देश तनहूँमा श्रीकृष्ण ब्राह्मण थिया
खुप् उच्चा कुल आर्यवंशी हुन गै सत्कर्ममा मन् दिया
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया
तिन्को नाति म भानुभक्त भनी हुम् यो जानी चिन्ही लिया ।

२) ‘भानुभक्त आचार्यको जीवन—चरित्र’ का लेखक मोतीराम भट्टले गिरिधारी भाटसँग मुद्दा पर्दा भानुभक्तले कवितामै प्रतिवादी खापेको कुरा बताएका छन् —

ख्वामित् यस् गिरिधारीले अति पिर्यो व्यर्थै गर्यो झेल् पनी
यसका झेल उतार्नलाई सजिलो यो हो व्यहोरा भनी ।
गन्र्या छैन उजुर्गर्याँ पनि भन्याँ झुट्टा गराइदिनू
इसर्कार्मा जहार्दिञा खुशी भई यो झेल् कसोरी छिनू
पहिला खोला लागेको आफ्नो जमिन खोलाले छाडेपछि भोग्न सुरु गर्दा नै गिरिधारीले मुद्दा हालेका थिए । उक्त कविते प्रतिवादी खापेपछि पनि भानुभक्तको मुद्दा छिनिएनछ । किनभने भानुभक्तले अदालतमा पुर्याउनु पर्ने ‘खुसामद’ पुर्याएनछन्, अनि फेरि अर्को कविताको सृष्टि गरे जुन लोकप्रशिद्ध छ –

बिन्ती डिट्ठा बिचारी सित म कति गरुँ चुप् रहन्छन् नबोली
बोल्छन् ता ख्याल गर्याझैंँ अनि पछि दिनदिन् भन्दछन् भोलिभोलि
की ता सक्तीन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् इ भोलि
भोलि भाेिल हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली
मोतीराम भट्टका अनुसार यही कविता पेस गरेपछि मात्रै मुद्दा छिनियो र भानुभक्तले जितापत्र पाए । यो कविता परिस्थितिजन्य प्रभावको उपज त थियो नै, त्यसमाथि तत्कालीन प्रशासनिक विसङ्गतिमाथि सचेत प्रहारसमेत थियो । त्यो भ्रष्ट प्रशासन अहिले अरु भ्रष्ट र विद्रुप अनुहार लिएर फैलँदो छ । त्यसकारण कविता अझै जिउँदै छ र भानुभक्त कवितामा बाँचिरहेछन् ।
अर्को उदाहरण छ– भानुभक्त थुनामा बस्दाको । आफूले जागिर खाँदाको स्याही बुझाउन नसक्ता कुमारीचोकमा केही समय यिनी थुनामा परेका थिए । भनिन्छ— यिनी कमान्डर जनरल कृष्णबहादुर, जङ्गबहादुर राणाका नजिक थिए । थुनाभित्रबाट उनले यो (बिन्तीपत्र ) कविता लेखी चढाए —
रोज् रोज् दर्शन पाउँछु चरणको ताप् छैन मन्मा कछू
रात्भर्नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छू
लाङ्खुट्या उपिञा उडुुस् इ सङ्गी छन् इन्कै लहर्मा बसी
लाङ्खुट्याहरु गाउँछन् र उपिञा नाच्छन् म हेर्छु बसी ।

यस रचनामा हास्य र व्यङ्ग्य दुबै पाइन्छ । तत्कालीन जेलको वास्तविक अवस्था र थुनुवाको स्थितिको मार्मिक चित्रण छ । हामी प्रष्ट देख्छौँ, जेलको अवस्था अद्यापि उही छ, बरु अरु बिग्रँदो छ । तर उता भानुभक्त यत्ति एउटा कविताले जेलमुक्त हुनेवाला थिएनन् । बरु उनले त्यस समयको सदुपयोग गरे रामायणका अयोध्या काण्ड, अरण्यकाण्ड, किष्किन्धा काण्ड र सुन्दर काण्डको अनुवाद गरेर । बालकाण्ड पहिले नै सिध्याएका थिए । नेपाली भाषा–साहित्यको पक्षमा त्यो अपूर्व काम गरिसक्ता पनि उनी छुटेनन् । उनी थुनाको थुनामै, घर व्यवहार अलपत्र, उता त्यही साल छोरा रमानाथको व्रतबन्ध गर्ने साइत जुरेछ । फेरि उनले बिन्तीपत्र लेखे कवितामै–
जागिर्छैन धनी म छैन घरको केवल् कुदालो खनी
खान्थ्याँ दुक्ख गरेर चाकरी गर्याँ मान् पाउँला की भनी
एक् मन् चित्त लगाइ चाकरी गर्याँ खूसी भया छन् हरी
मान्माथि पनि भुक्तमान् थपि दिया कैल्हयै नछुट्ने गरी

जाहीरात गर्याँ प्रभू हजुरमा जो मर्जि होला भनी
कँडैसित् भनि मर्जि हुन्छ त भन्या क्यारुँ सहन्छु पनी

यस कविताले तत्कालीन शासकले चाकरीको भरमा जागिर दिने, सरुवा–बढुवा गर्ने, थमौती वा खोसुवा गर्ने जस्ता विधि र प्रव्रिmया अनुसार हुनु पर्ने कुरा आफ्ना अविवेकी निर्णयमार्पmत् गराउने वेथितिपूर्ण चलनलाई व्यङ्ग्य त गरेकै छ, त्यसमाथि पनि चाकरीको भाषा बोलेर टाउको टेक्छन् कि जस्ता देखिएका कवि अन्तिममा पुगेर स्वाभिमानले बाँच्ने कित्तामा उभिन पुग्छन् । त्यसले पाठकलाई शीतलता दिन्छ, शिर ठड्याइदिन्छ । जेहोस्, यस कविताले उनको आशुकवित्वको परिचय दिन्छ ।

४) गजाधर सोतीका घरमा बास नदिई भानुभक्तलाई लखेटेको घटना नेपाली समाजमा अपवादका रुपमा पाइने घटना हो । रिसाहा र सन्काहा भनेर भानुभक्तलाई गाली गर्ने लेखकहरु बाटो हिँड्दा–हिँड्दा लखतरान भएर साँझमा बास बस्न ताकेर गएको परिचित व्यक्तिकै घरबाट लखेटियून् अनि थाहा हुन्छ भानुभक्तको आव्रmोसको स्वाभाविकता । हो नि, त्यस बेलामात्र होइन, अहिले पनि हाम्रो समाजमा लच्छिन्–अलच्छिन्को सीमारेखा छ, स्वर्गनर्कको विश्वास छ, साँझमा आएका पाहुनालाई देवता मान्ने सांस्कृतिक प्रचलन छ । तब त तुरुन्त निस्क्यो आशुकविको मुखबाट शिखरिणी छन्दमा –

गजाधर सोतीकी घरबुढि अलच्छिन्कि रहिछिन्
नरक् जानालाई सबसित बिदाबारि भइछिन्
पुग्यौं साँझ्मा तिन्का घरपिढिमहाँ बास बसियो
निकालिन् साँझैमा अलिकपर गुजरान गरियो ।

५) यसरी नै मीत तारापतिकहाँ राति सासूबुहारीको झगडाले सुत्न नपाई लेखेको कविता र त्यसको निरन्तरता ‘बधूशिक्षा’ पनि भानुभक्त आशुकवि पनि हुन् भन्न अघि सारिने कृतिभित्रै पर्छ । शार्दूलविक्रीडित छन्दको यो कविता उनले राति सुत्न नपाएकै बखत लेखेको बुझिन्छ –

एक् थोक् भन्छु नमान्नु दुक्ख मनमा हे मित्र तारापति
तिम्रा ई जति छन् जहानहरु ता लड्न्या रहर्याछन् अति
सुन्या दन्तबझान आज घरमा कर्कर् गर्याको उसै
भर् रात् जाग्रन भो …….. मकनता लागेन निन्द्रा तसै
सारै झोक उठ्यो मलाइ र बधू शिक्षा बनायाँ पनी
यस्ले पत्नि, बुहारि, छोरिहरुको तालिम् गरौला भनि

बधूशिक्षाको पक्ष वा विपक्षमा जति कुरा कथुरे पनि एउटा कुरा प्रष्ट के हो भने झन्डै दुई सय वर्ष अगाडि लेखिएको त्यस कृतिमा आजको विचार र प्रगतिशीलता खोज्नु भानुप्रति अन्याय गर्नु हुन जान्छ । तत्कालीन समाज र संस्कृतिको सापेक्षतामा नै उनको व्यक्तित्वको विश्लेषण गर्नुपर्छ ।
६) यही मेसोमा भानुभक्त सम्बन्धी दुईटा प्रसङ्ग कोट्याऊँ — भानुभक्तको काठमाडौंँको कुनै रइससँग बन्दुक सम्बन्धमा भएको वार्तालाप कवितामा पाइन्छ । जनश्रुतिअनुसार भानुलाई लोहाबाट निर्मित त्यो बन्दुकमाथि लोभ जागेछ र त्यसलाई फुत्काउने उपाय रचेछन् । उनले ती रइसलाई कवितामै सोधेछन्—
वद्वान् जन्ले लोहालाई बेच्नु छैन
भन्या सुन्थेँ यो कुरा हो कि हैन ?
अब विद्वान् भनिनलाई हो त भन्नै पर्यो । सकारात्मक उत्तर पाएपछि भानुले थपेछन् —
लोहा बेची मोल क्या लिनुहोला
जोग्यै ठानी यो उसै दिनुहोला
सामान्य हासपरिहास मात्रै भए पनि, काव्यतत्वको अभाव भए पनि तुरुन्त कविता गर्न सक्ने खुबीको प्रमाण भने यो अवश्यै हो ।
त्यसरी नै भुटेको मकैको सितनसम्बन्धी अर्को प्रसङ्ग छ –
असल् मुङ्ग्रे केरा कि त मही हवस् बेस अमिलो
कि ता सेतो मूला कि त बरु हवस् साग उसको
असल् हुन्थ्यो धुप्मा नतर कसरी खानु यसरी
भुटी ल्यायौ थाल्मा मकइ किन यो आज यसरी
भाव सघनता, बिम्ब र प्रतीक, अलङ्कार आदि खोज्दा नपाइएला तर जनसामान्यको जीवनको कुनै एक क्षणलाई जनबोलीकै रुपमा कवितामा उतार्नु कवित्व होइन भन्छ यदि कसैले भने कविता सम्बन्धमा सबैले फेरि एक पटक चर्चा गर्नैपर्ने हुन्छ ।
७) काठमाडौंमा भानुभक्त सुब्बा धर्मदत्त ज्योतिषीको घरमा बस्ने गर्थे । ती ज्योतिषीका एकजना साथीले बुढेसकालमा तरुनी स्वास्नी बिहे गरेछन् । बिहे गरेपछि तिनलाई लामो समय सुखभोग गर्न पाउँदिन कि भन्ने चिन्ताले सताएछ र आफ्नो आयु कति रहेछ भनी ज्योतिषीसँग सोधिपठाएछन् । तिनलाई भानुभक्तले दिएको उत्तर यस्तो छ —
पैले दाङ गइ एक् विवाह गरियो भन्या कुरो लेखियो ।
फेर् तेसै चिठिमा म मर्छु कहिले भन्या पनी देखियो ।।
आयूको त विचार् विवाह नगरी पैल्यै उचित् हो लिन्या ।
उल्लू छौ तिमि उल्लूलाई अहिले कुन् उत्तरै हो दिन्या ।।
८) त्यसो त भानुभक्तको घाँसी र कुवावाला कविता पनि यस प्रसङ्गमा आउँछ —
भरजन्म घाँसतिर मन् दिइ धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसि दरीद्र घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनि भै कन आज यस्तो
यसरी नै चाहे कान्तिपुर नगरबाट प्रभावित भएर लेखेको —
चपला अबलाहरु एक् सुरमा
गुनकेसरिको फुलली शिरमा
हिडन्या सखिलीकन ओरिपरी
अमरावतिकान्तीपुरी नगरी
कविता होस् वा
यतिदिनपछि मैले आज बालाजि देख्याँ
पृथिवितल भरीमा स्वर्ग हो जानि लेख्याँ

कवितामा होस्, आशुकवित्वसँगै देशभक्ति पनि पाइन्छ । आध्यात्मिक भावले ओतप्रोत धार्मिक चेत भएका कवि आफू स्वर्ग जान होइन स्वर्ग यहाँ ल्याउन चाहन्छन् ।
भानुका बारेमा कृष्णप्रसाद ज्ञवाली भन्छन् — यिनका कवितामा चमत्कारी शब्दक्रीडा र प्रदर्शनप्रधान पाण्डित्य प्रवृत्ति छैन ।
— शास्त्रीयताको गरुङ्गो भारी छैन ।
— क्लिष्टताको जालेमाले छैन ।
— अलङ्कारको उर्लँदो भेल छैन

त्यसो भए के छ त ?
अगमसिंह गिरी भन्छन् — सरस, सरल, सुन्दर र सुकोमल अभिव्यञ्जना छ ।
यिनको योगदानको विश्लेषण गर्दै मोतीराम भट्टले ‘कविताको मर्म जानी भाषा पद्य लेख्ने प्रथम कवि’ भने । हृदयचन्द्रसिंह प्रधानले यिनको आदिकवित्वसम्बन्धमा औँलो ठड्याए पनि ‘खसकुरालाई नेपाली र नेपालीलाई राष्ट्रभाषा बनाउने व्यक्ति’ भनेर भानुको महिमा गाए । रुपनारायण सिंहले यिनलाई अङ्ग्रेजीका चौसरको उपाधि दिए भने पारसमणि प्रधानले ‘शुद्ध नेपालीका प्रथम प्रयोक्ता माने । अझ बाबुराम आचार्यले त समकालीन कुनै कविमा भानुको जस्तो लालित्य र सरलता पाइँदैन, यिनको मृत्युको चालीस वर्षपछिका लेखनाथ पौडेलका कवितामा मात्र त्यो देख्न पाइन्छ भने ।

यिनका सम्बन्धमा समालोचकहरुले अर्को कोणबाट पनि हेरेका छन्— रामकृष्ण शर्मा यिनका खरो आलोचक हुन् । गोविन्द भट्टले त यिनले नेपालीमा रामायण, भक्तमाला, रामगीता, बधूशिक्षा लेखेर जनसामान्यमा जुन सांस्कृतिक क्षति पुर्याए, त्यो अहिलेसम्म पुर्न सकिएको छैन, बरु जनताले नबुझ्ने क्लिष्ट संस्कृतमै यिनले कविता लेखिदिएको भए नेपालीको कल्याण हुन्थ्यो सम्म भनेका छन् । हृदयचन्द्रसिंहले यिनको आदिकवित्वमाथि प्रश्न उठाए । त्यति भएर पनि रामायणले नेपाल र नेपाली जातिलाई एकताको सूत्रमा बाँध्ने र नेपाली भाषाको मानकीकरणमा पुर्याएको योगदान घटेको छैन । नेपाली कविता साहित्यको जग हालेको कुरामा दुइमत छैन । यिनका कृतिले नेपाली मन र नेपाली जिब्रामा रसबास गरेको कुरामा कसैले विमति राख्तैन । मुख्य कुरा भानुभक्तमाथि दोषरहित दैवी व्यक्तित्व आरोपण गर्ने र अभिजात वर्गको पक्षपोषण गर्ने सामन्ती सत्ताको पक्षपाती भन्ने दुवै अतिवादबाट हामी टाढा रहनु पर्छ र उनको मूल्याङ्कन गर्नुपर्छ ।
—९७४२६०४९४२
………………………………………………………..

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: