मेचीनगर । नेपाल–भारत दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण प्रारम्भिक रेखाङ्कनका लागि भारतीय टोलीले फिल्ड अध्ययन थालेको छ ।
भारतीय आयल निगम (आइओसी) का अधिकारीहरुले सिलिगुढी–झापा पेट्रोलियम पाइपलाइनको दूरी छोट्याउने गरी स्थलगत रेखाङ्कन थालेको नेपाल आयल निगमका चारआली कार्यालय प्रमुख बिपिन श्रेष्ठले बताए ।
‘नेपाल र भारततर्फको फिल्ड हेर्नेगरी आइओसीका अधिकारीले प्रारम्भिक रेखाङ्कनको काम थालेका छन्, नेपाल तर्फबाट म सहभागी छु,’ श्रेष्ठले भने ।
माघ २९ गते झापा आइपुगेको भारतीय टोलीले नेपालतर्फको प्रारम्भिक रेखाङ्कन सकेर सिलिगुढी र पानीट्याङ्कीतर्फ अध्ययन गरिरहेको उनले बताए ।
‘आइओसीको सिलिगुढी डिपोदेखि झापाको चारआलीसम्म पाइपलाइनको दूरी ४५ किलोमिटर हुने भनिए पनि त्यो अझै छोटिने देखियो,’ श्रेष्ठले सुनाए ।
आइओसीको डिपो अझै नेपालतर्फ सर्ने र अरु छोटो बाटोको बारेमा पनि अध्ययन भएकाले ३० देखि बढीमा ३५ किलोमिटरमै पाइपलाइन योजना पुरा हुने उनले बताए ।
गत पुस २७ र २८ गते भारतको नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रुपको पहिलो बैठकमा नेपालले सिलिगुढी झापा दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको सम्भावता अध्ययन गरिदिन भारतलाई प्रस्ताव गरेको थियो ।
नेपाल आयल निगमले पेश गरेको आयोजना प्रस्तावको आधारमा भारतीय आयल निगमले पाइपलाइनको सम्भाव्यता मूल्याङ्कन गर्ने सहमतिअनुसार भारतीय पक्ष फिल्डमा आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति सहसचिव ध्रुब घिमिरेले बताए ।