भद्रपुर, २२ जेठ । आज भद्रपुरका दुई र कचनकवलका तीन जनामा कोरोना पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १२४ पुगेको छ ।
कोशी अस्पताल विराटनगरमा गरिएको पीसीआर टेस्टबाट थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए ।
कलवलगुरी प्रशिक्षण केन्द्रको क्वारेन्टाइनमा बसेकामध्ये भद्रपुर वडा नम्बर १ का ५६ वर्षीय पुरुष र ३ नम्बर वडाका १९ वर्षीय पुरुषमा कोरोना भेटिएको भद्रपुर नगरपालिका मेयर जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
कलवलगुरीकै क्वारेन्टाइनमा बसेका कचनकवल ६ नम्बर वडाका ४५ वर्षीय पुरुषमा कोरोना भेटिएको उनले बताए । उनीहरू सबै भारतबाट आएका हुन् ।
त्यस्तै कचनकवलमा पनि दुई जनामा कोरोना पुष्टि भएको छ । पथरिया माविको क्वारेन्टाइनमा बसेकाहरूको दोस्रो पटक स्वाब परीक्षण गर्दा दुई जना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए । कोरोना पुष्टि भएकाहरू ६ नम्बर वडाका १७ वर्षीय पुरुष र ४ नम्बर वडाका २५ वर्षीय पुरुष रहेका छन् ।
पथिरयामा माविमा बसेका २३ जनाको स्वाब दोस्रो पटक परीक्षणका लागि पठाएकोमध्ये १९ जनाको रिपोर्ट आएको हो । त्यसमध्ये दुई जनामा पोजेटिभ र अन्यको रिपोर्ट नेगेटिभ आएको हो । यसअघि कचनकवलमा एक सय जना कोरोना संक्रमण भेटिएको थियो ।