भारतबाट आउने कोइला ठप्प

  प्रकाशित मिति
२३ बैशाख २०७६, सोमबार १२:५८


।। अर्जुन कार्की ।।
काँकरभिट्टा । भारतले विभिन्न बहानामा पानीट्याङकी नाकाबाट आयात–निर्यात हुने सामानहरुमा कडाइ गर्न थालेको छ ।
एकपछि अर्को झमेला झिक्दै भारतले आयात–निर्यात हुने विभिन्न सामानमा नाकामा कडाइ गर्न थालेको हो ।

चार महिनादेखि भारतको विभिन्न ठाउँबाट काँकरभिट्टा नाका हुँदै नेपाल आयात हुने कोइलामा कडाइ गरेको कारण व्यवसायीहरुले आपत्ति गर्दै आएका छन् ।
यसअघि पनि नेपाली व्यवसायीले आयात निर्यात गरेका पेट्रोलियम पर्दाथ, चिया, अदुवा अलैची लगायतका कृषि वस्तुहरुमा भारतले नाकामा चेकजाँचका क्रममा कडाइ गरेको थियो ।

‘भारतसँगको हाम्रो व्यापार उसको मुडमा निर्भर छ, नीतिमा छैन’, निर्यात व्यापारका जानकार दिनेश पोखरेलले भने ‘कहिले नाकाबन्दी, नोटबन्दी हुँदै जिएसटीसम्म आइपुग्दा नेपाली पक्षलाई दुःख दिने काम मात्रै धेरै भएको छ । अनेक बहानामा दुःख दिने क्रम दिनहुँ चल्छ ।

भारतसँगको कारोबारमा निर्यातभन्दा आयातको आकार ज्यादै ठूलो छ । नेपालबाट अधिक निर्यात हुने कृषि वस्तुमा भारतीय अवरोध अनेक बहानामा दोहोरिने गरेको छ ।

खासगरी अदुवा र अलैँची जस्ता कृषिवस्तुको निर्यात कुनै न कुनै बहानामा प्रभावित भइरहेका छन् । जीएसटीको शुरुआतपछि आयात पनि घटेको छ । भारत सरकारले वस्तु तथा सेवा कर (जीएसटी) लागू गरेपछि पूर्वी नाका हुँदै सीमावर्ती भारतीय बजारबाट हुने मालसामानको आयात प्रभावित बनेको भन्सार अधिकारीहरुको भनाईछ ।

अहिले भारतीय बजारबाट पूर्वी नाका हुँदै नेपाल आयात हुने मालसामानमा पहिलेको तुलनामा निकै कम भएको कार्यालयले जनाएको छ । यो नाका हुँदै खाना पकाउने ग्यास, मट्टितेल तयारी पोशाक, सुपारी, सिमेन्ट क्लिङ्कर, हवाई स्प्रीड, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, रंगीन टेलिभिजन, ग्लेज टाईल, मोबिल, मोटरका व्याट्री, प्लाष्टिकका प्याक गर्ने ट्युवहरुलगायतका बिभिन्न सामाग्री भारत तथा तेश्रो मुलुकबाट आयात हुने गरेका छन् ।

मुसुरो दाल, भेनीयर सिट, चोकर भुस, आलस, चिया, खयर कत्था, जडीबुडी फलामे संरचनाहरु, अदुवा, सुठो, सुङ्गुर, प्लाइउड, क्राफ्ट पेपर, लगायतका बस्तुहरु नेपालबाट भारत तथा समुन्द्रपार निकासी हुने गरेको कार्यालयको भनाईछ ।

यसपटक पनि विभिन्न झमेला झिकेर पानीट्याङकी नाकाको कस्टमले चार महिनादेखि कोइला आयातमा कडाइ गरेको व्यवसायी र भन्सार एजेन्टहरुको भनाईछ ।

भारतको असम र मेघालयबाट नेपालका लागि आयात भएको कोइला पानीट्याङकी कस्टममा रोकिएका छन् । नाकामा विभिन्न झनझट दिएका कारण गत माघदेखि कोइला आयात बन्द भएको काँकरभिट्टा स्थित ब्लुस्काई सप्लार्यसका सञ्चालक सन्तोष आचार्यले बताए ।

‘मेघालयबाट नेपालका लागि आयात गरिएका कोइला पानीट्याङकी कस्टममा रोकिएका थिए’, सञ्चालक आचार्यले भने –‘त्यहाँ कस्टमले कोइलाको फर्जिबिल भन्दै भन्सार पास गरेको छैन । अन्य नाकाबाट चाहिँ त्यहि बिलले पास हुने हाम्रामा चाहिँ पास गर्न नमान्ने प्रविति यहाँ छ ।’

‘यो नाकाबाट कोइलाका बिल पास नहुनु भनेको भारतको ज्यादति बाहेक केहि हुनै सक्दैन’, उनले भने ।

उनका अनुसार असम र मेघालयबाट उत्पादन हुने कोइला हाल बन्द छ । बन्द भएको बेला कोइला त्यहाँबाट कसरी आउँछ भनेर कस्टमले सोध्ने गरेको आचार्यको भनाईछ ।

‘असम र मेघालयबाट उत्पादन हुने कोइला बन्द भएको हो । तर, विगतमा उत्पादन भएको कोइला त्यहाँका विभिन्न ठाउँमा स्टक गरेर रोखिएको छ’, सन्तोष निमार्ण सेवाका समेत सञ्चालक आचार्यले भने –‘ भण्डारण गरिएको कोइलाको बिल फर्जि भन्दै विभिन्न झनझट दिएर बिल तथा कागजपत्र चेकजाँच भन्दै पानीट्याङकी कस्टमले कलकता लगायतका ठाउँमा पुर्याउने गरेको छ ।’

भारतीय कस्टम एजेन्टका प्रतिनिधि विमल प्रधानले गत महिना ९ टनका ९ वटा गाडी भारतीय कस्टममा कोइला लिएर आएको बताउँदै भने ति गाडी र कोइलाको कागजात फर्जि भएको भन्दै नाकामा अडकाएको थियो ।

असम र मेघालयमा पुरानो स्टक रहेको कोइला लिएर आउँदा समेत कस्टमले विभिन्न बाहानामा रोकेका कारण नेपाल सरकार तथा व्यवसायीलाई मार्का परेको प्रधानले बताए ।

नेपालमा आयात हुने वा निर्यात हुने विभिन्न सामानमा भारतले जहिलै दुःख दिने गरेको उनले बताए । यस्तो अवस्थामा नेपाल सरकारले के भएको हो भनेर चासो नदिएको व्यवसायीको भनाईछ ।

दैनिक ५० देखि ३ सय वटासम्म कोइलाको गाडी नेपाल आउँने गरेको थियो । अझ सिजनमा ५ सय वटा गाडी नियमित आउँने गरेको भन्सार एजेन्टहरुको दावी छ । एउटा कोइलाको गाडी वापत भन्सार खर्च करिव ५० हजार रुपैयाँ लाग्ने गरेको एजेन्ट प्रधानले जानकारी दिए ।

यहाँको भारतीय कस्टमले झनझट दिएका कारण बिराटनगर तथा बिरगंज भन्सारबाट कोइला नेपाल भित्रिरहेको उनले बताए । हाम्रा सबै कोइलाका गाडी पानीट्याङकीमा राकिएपछि बिराटनगर तथा बिरगंज भन्सारबाट नेपाल छिराएको व्यवसयी आचार्यले जानकारी दिए ।

मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर आर्यालका अनुसार असम र मेघालयका कोइला उतपादन गर्ने खानीहरु हाल बन्द छ । भारतीय सरकारले खानीमा मजदुरहरु मृत्यु भएको कारण देखाएर कोइला उत्पादनमा रोक लगाएको उनले बताए ।

त्यहिँ कारणले भारतीय कस्टमले डुब्लिकेट बिलको आशंका गरेर कडाइ गरेको आर्यालको बुझाईछ । ‘अन्य नाकाबाट नेपाल कोइला आइरहेको छ’, भन्सार प्रमुख आर्यालले भने –‘तर, यो नाकाबाट नआउँनु भनेको यहाँ कडाइ गरिएको स्पष्ट बुझिन्छ ।’

भारत बाहेक तेस्रो मुलुबाट भने कहिले काहिँ कोइला नेपाल भित्रिएको उनले जानकारी दिए । बगंलादेश तथा अन्य मुलुकबाट कोइला पानीट्याङकी नाकाबाट सहजरुपमा नेपाल भित्रिएको छ ।

९० प्रतिशत कोइला भारतको असम र मेघालयबाट आउँने गरेको छ भने १० प्रतिशत मात्र अन्य मुलुकबाट आउँने गरेको मेची भन्सार कार्यालयले जनाएको छ ।

यो नाकाबाट कोइला नआएको कारण मेची भन्सारको लक्ष्य पुरा हुन गाहे रहेको कार्यालयको भनाई छ । यसपटक भन्सारको राजश्व समेत प्रभावित बनेको छ ।

मेची भन्सार कार्यालयका अनुसार यस आर्थिक वर्षको अर्थात २०७५÷७६ को लक्ष्य १२ अर्व ८२ करोड ६१ लाख रुपैयाँ छ ।

२०७५÷७६ को चैतसम्मको लक्ष्य ९ अर्व २३ करोड ४७ लाख रुपेयाँ हो तर गत साउनदेखि चैतसम्ममा ७ अर्व ९९ करोड ६३ लाख रुपैयाँ मात्र राजश्व संकलन भएको कार्यालयले जनाएको छ । यसपटक लक्ष्यमा पुग्न गाहे रहेको कार्यालयको बुझाईछ ।

जवकी गत वर्ष लक्ष्य भन्दा राजश्व बढी संकलन भएको थियो । २०७४÷७५ मा ९ अर्व २० करोड ९१ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य थियो तर लक्ष्य भन्दा बढी अर्थात १० अर्व १८ करोड २७ लाख रुपैयाँ राजश्व संकलन भएको मेची भन्सार कार्यालयले जनाएको छ । गतवर्ष १११ प्रतिशतले राजश्वमा वृदि भएको थियो । गत वर्षको ९ महिना अर्थात चैतसम्म ७ अर्व ४० करोड ५० लाख रुपैयाँ संकलन भएको थियो ।

गत आर्थिक वर्षमा कोइला, क्लिङ्कर र पेट्रोलियम पदार्थ आयातमा वृदि भएको थियो । तर, यस आर्थिक वर्षको चैत महिनासम्म कोइला आयातमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: