मेचीनगर । भारतबाट आएर मेचीनगरको होल्डिङ सेन्टर र क्वारेन्टाइनमा बसेका नेपाली नागरिकलाई यहाँका विभिन्न संघ–संस्थाहरुले खाना खुवाइरहेका छन् ।
काँकरभिट्टा माविको होल्डिङ सेन्टरका ६१ र ईटाभट्टा स्थित आर्दश माविको क्वारेन्टाइनमा रहेका ८० जनालाई रोटरी क्लब, लायन्स क्लब र होटल व्यवसायी संघ मेचीनगरले खाना खुवाइने काम गरिरहेको छ ।
नगरपालिकाले भारतबाट आएका नेपालीहरुलाई खानाको व्यवस्था गर्ने भनिए पनि यहाँका ती संघ–संस्थाहरुले संक्रमणको जोखिमका बावजुद उनीहरुलाई विहान–बेलुकै खाना खुवाउने काम गरिरहेको होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल) ले बताए ।
मेचीनगर–६ नम्बर वडाका वडाध्यक्ष ललितबहादुर तामाङ, होटलका अध्यक्ष श्रेष्ठ, सचिव हस्तबहादुर तामाङ, नेत्र कार्की लगायतका समाजसेवीहरुले काँकरभिट्टा र ईटाभट्टा पुगेर खाना खुवाइरहेका छन् ।
विहीबार राति भारतबाट आएका ३१५ जनाको शुक्रबार आरडीटी टेष्ट गर्दा १५ जनामा आरडीटी पोजेटिभ भेटिएको थियो ।
ती १५ जनालाई मेची बहुमुखी क्याम्पस भद्रपुरको होल्डिङ सेन्टरमा राखिएको छ । उनीहरुको आज पीसीआर टेष्ट हुँदैछ ।
सेन्टर र क्वारेन्टाइनमा रहेका ३०० जनामा १५९ लाई रातिनै बसमा हालेर घर पठाइएको छ भने बाँकी १४१ जना अझै छन् । उनीहरुलाई पनि आज घर पठाउने तयारी गरिदैँछ ।
शुक्रबारदेखि भारतको सीमा नाकाबाट नेपालीहरु आएका छैनन् । तर, पश्चिमबाट काँकरभिट्टामा आएर अलपत्र परेका भारतीयहरु भने पारि छिरिरहेका छन् ।
।। अर्जुन कार्की ।।