भारतबाट तत्कालै पन्ध्र सय नेपाली काँकरभिट्टा भित्रिनसक्ने

  प्रकाशित मिति
२ जेष्ठ २०७७, शुक्रबार १३:०२


अर्जुन कार्की

काँकरभिट्टा, २ जेठ । नेपाल–भारतको सीमा नाकामा अलपत्र परेका करिव पन्ध्र सय नेपालीलाई पूर्वी नाका काँकरभिट्टाबाट स्वदेश ल्याउने तयारी थालिएको छ ।

लकडाउन सुरु हुनुभन्दा केही दिन अघि काँकरभिट्टा नाकाबाट नेपाल भित्रिएका नेपाली ।    (फाइल फोटो)

भारतका विभिन्न प्रान्तका क्वारेन्टाइनबाट फर्केका र सीमा नजिक अलपत्र परेका ती नेपालीले ठूलो सकस भोग्नु परिरहेको जानकारी आएपछि प्रदेश सरकारले स्वदेश फर्काउने भएको हो ।

भारत सरकारले केहि दिन अघि रेल सेवा सञ्चालनमा ल्याएपछि भारतको विभिन्न स्थानबाट नेपालीहरु रेल चढेर बोर्डर नजिक आइपुग्न थालेका छन् । उनीहरुलाई सुरक्षित रुपमा स्वदेश ल्याउन लागिएको हो ।

भारतको पश्चिम बंगाल र विहारमा हजारौंको संख्यामा नेपालीहरु रोजगारीबाट निकालिएका छन् भने उनीहरुलाई विदेशी भन्दै खाद्यान्नको राहत समेत नदिइएको समाचार आउन थालेको छ । उनीहरु अब सोझै रेल चढेर काँकरभिट्टा नाका आइपुग्ने भएका छन् ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले भारतमा रेल सेवा सञ्चालन भएपछि करिव पन्ध्र सय नेपाली तत्कालै सीमा नाकामा आइपुग्न सक्ने जानकारी प्राप्त भएको बताए ।

सीमा नाकामा अलपत्र नेपालीलाई स्वदेश फर्काएर झापामा क्वारेन्टाइनमा राख्नका लागि मेची बहुमुखी क्याम्पसमा ३०० बेडको क्वारेन्टाइन तयार भइसकेको छ । यो क्वारेन्टाइनको व्यवस्थापन नेपाली सेनाले हेर्ने बताइएको छ ।

उनीहरुको आरडीटी र पीसीआर परीक्षण गरिनु पर्ने भएको हुँदा सो सम्बन्धी छलफल भइरहेको प्रजिअ रानाले दिए ।

जिल्लाका १५ वटै नगरपालिका तथा गाँउपालिकामा एक–एक सयको वेड तयारी अवस्थामा राखिने र भारतबाट आउने व्यक्ति जुन पालिकाको उसलाई त्यतैको क्वारेन्टाइनमा पठाइने प्रारम्भिक तयारी गरिएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले समेत नाकाबाट अब आउने नागरिकहरुको ओइरोलाई कसरी सम्हाल्ने भनेर चासो राखेको बुझिएको छ । उनी यही विषयमा प्रशासन र पालिकाहरुसँग छलफलका लागि शनिबार झापा आउँदैछन् ।

भारतबाट तत्कालै एक हजारदेखि १५ सयसम्म नेपालीहरु काँकरभिट्टा नाकाबाट भित्रिन सक्ने प्रशासनको प्रारम्भिक अनुमान छ । त्यसका लागि कोरोना परीक्षण आवश्यक भएको हुँदा प्रदेश सरकारले यसको समेत तयारी गरिरहेको बुझिउको छ ।

सरकारको उपल्लो निकायले पनि झापामा भारतबाट आउने नेपालीका लागि क्वारेन्टाइन बनाउनु भनेर निर्देशन आएको प्रजिअ राना बताउँछन् ।

नाकाबाट भित्रिने नेपालीहरुलाई सबैभन्दा पहिला काँकरभिट्टा मावि परिसरमा लगिने भएको छ । त्यहाँ उनीहरुको अभिलेखिकरण र प्रारम्भिक स्वास्थ्य जाँच गरिने भएको छ ।

यसका लागि विहीवार काँकरभिट्टामा वृहत छलफल आयोजना गरिएको थियो । एक नम्बर प्रदेश सभा सदस्यहरु गोपाल चन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, स्थानीय सरकार प्रमुख विमल आचार्य, इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी राजेन्द्र पोखरेल, सशस्त्र प्रहरी गुल्मका प्रमुख ज्ञानमणि पौडेल, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष तमर राई लगायतका स्थानीय समाजसेवीहरुको वृहत छलफलले कोरोना संक्रमण नफैलियोस् भनेर बाहिरबाट आएकालाई सुरक्षा घेरामा आरडीटी र पीसीआर परीक्षण गराउन सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: