भारतले सीमामा ल्याएर अलपत्र पारेका नेपालीको उद्धार गरिदै

  प्रकाशित मिति
६ जेष्ठ २०७७, मंगलवार ११:३७



भद्रपुर, ६ जेठ । भारतले सीमा क्षेत्रमा ल्याएर अलपत्र छाडिदिएका ३५ जना नेपालीलाई झापा गाउँपालिकाले सीमामै खानाको व्यवस्था गरेको छ ।

उनीहरुलाई भारतको किसनगञ्जबाट बसमा ल्याएर सोमबार साँझ सीमामा छाडिएको पालिकाका अध्यक्ष जयनारायण साहले बताउनुभयो । भारतका विभिन्न क्षेत्रमा रोजगारीमा गएका नेपालीहरु रेलको माध्यमद्वारा किसनगञ्जसम्म आएका थिए ।

रेल स्ट्रेसनमा झरेका नेपालीहरुलाई विहार सरकारले बसमा हालेर सीमासम्म ल्याएको उहाँको आरोप छ । ‘साँझमा भारत र नेपालको सीमा क्षेत्रमा भोकै तिर्खै आएका उनीहरुलाई पानी र चाउचाउको व्यवस्था त्यही गर्यौं’ अध्यक्ष साहले भने ‘अहिले विहान खानाको व्यवस्था गरेका छौं । खाना खाएपछि उनीहरुलाई उद्धार गरेर जिल्ला कोराना रोकथाम तथा समन्वय समितिले तय गरेको होल्डिङ सेन्टरमा पठाउँछौं ।’

पालिकाको वडा नम्बर १ मा रहेको लसुना सीमा क्षेत्रमा रहेका ३५ जना नेपाली मध्ये २५ जना झापाका विभिन्न पालिका र १० जना जिल्ला बाहिरका रहेको उनले बताए । उनका अनुसार दुई दिन अघि मात्र ३२ जना यही नाका भएर नेपाल प्रवेश गरेका छन् । उनीहरुमध्ये केहीलाई सम्बन्धित पालिकाले लगिसकेको र बाँकी रहेकालाई क्वारेन्टाइनमा सुरक्षित तवरले राखिएको उनले बताए ।

त्यसैगरी आज विहान मात्र कचनकवल गाउँपालिकाको सीमा क्षेत्रमा ६४ जना नेपाली आइपुगेका छन् । उनीहरुमध्ये १० जना पाठामारी र ५४ जना केचनाको सीमा क्षेत्रमा रहेका छन् । सीमा रहेका सुरक्षाकर्मीहरुले उनीहरुलाई त्यही रोकेर राखेका छन् ।

‘सीमा क्षेत्रमा आइपुगेका नेपालीलाई तत्काल उद्धार गरेर ल्याउँछौं, भारततिर फर्काउँदैनौं ’, प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले भन्नुभयो, ‘उनीहरुलाई राख्नका लागि होल्डिङ सेन्टर र क्वारेन्टाइनको जिल्लामा व्यवस्था गरिएको छ ।’

जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले पूर्वी नाका काँकडभिट्टामा प्रवेश गर्ने नेपालीका लागि मेचीनगरमा, झापा गाउँपालिकाको सीमा क्षेत्रबाट आउनेलाई कनकाई नगरपालिकास्थित कनकाई क्याम्पस, भद्रपुर र कचनकवलका सीमा क्षेत्रबाट आउनेका लागि राख्न मेची बहुमुखी क्याम्पसमा होल्डिङ सेन्टर तयारी गरिएको बताए ।।

उनले सीमा क्षेत्रबाट उद्धार गरेर ल्याइएका नेपालीहरुलाई जिल्लाभित्रका भए सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइने र जिल्ला बाहिरका भए स्वास्थ्य परीक्षण पछि सम्बन्धित जिल्ला तथा प्रदेशमा पठाइने व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार सीमा क्षेत्रमा आएर रोकिएका नेपालीका संख्या एक हजार बढी रहेका छन् ।

दुई दिन अघि पानीटेंकी, नक्लबाडी क्षेत्रमा रहेका एक हजार नेपालीलाई उद्धार गरेर नेपाल ल्याउने तयारी गरिएको थियो । तर, संघीय सरकार र भारत सरकार दुवैको आदेश नआएको हुँदा उनीहरुलाई ल्याउन नसकिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: