मेचीनगर, २ जेठ । मेचीनगरका नगरप्रमुख विमल आचार्यले जो जहाँ छ उही देशको क्वारेन्टाइनमा राख्ने नेपालसँगको सम्झौता भारतले एकतर्फी रुपमा तोडेको भन्दै विरोध प्रकट गरेका छन् ।
आफ्नै कार्यकक्षमा शुक्रवार पत्रकार सम्मेलन गर्दै नगरप्रमुख आचार्यले भारत सरकारले सम्झौता उल्लङ्घन गरी १२ सय नेपालीहरुलाई दशगजामा ल्याएर भोकभोकै बनाएको आरोप लगाए ।
भारतले अलपत्र बनाएर बोर्डरमा भोकभोकै बनाएपछि बाध्य भएर नेपालले आफ्ना नागरिकहरुलाई उद्धार गरेर देशभित्र ल्याउनु पर्ने अवस्था आएको उनको भनाई छ ।
‘नेपाली सीमा मिचेर पश्चिम नेपालमा सडक बनाएको घटना होस् या दशगजामा नेपालीलाई ल्याएर भोकभोकै बनाएको घटना होस्,’ उनले भने–‘भारतले नेपालप्रति जहिल्यै पनि हेपाहा प्रवृत्ति देखाउँदै आएको छ, भारतको यस्ता गतिविधिको म घोर निन्दा र भत्र्सना गर्दछु ।’
उनले लकडाउनका बेला भारतमा रहेका नेपालीलाई जहाँ छन् त्यही क्वारेन्टाइनमा खाने र बस्ने व्यवस्था नगर्नु अमानवीय व्यवहार भएको दोहोर्याउँदै बोर्डरमा अलपत्र बनाइएका सबै नेपालीलाई नेपाल ल्याउने तयारी भइरहेको जानकारी दिए ।
पश्चिम बङ्गालसँगको प्रमुख नाका काँकरभिट्टा आसपासमा १२ सय नेपाली नेपाल आउन तयार रहेको हुँदा तिनलाई कसरी व्यवस्थापन गर्ने भनेर शनिवार झापाका १५ वटै पालिकाका प्रमुखहरुसँग १ नं. प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीसँग निर्णायक छलफल हुने उपप्रमुख मीना उप्रेतीले बताइन् ।
काँकरभिट्टाबाट भित्रिने नेपालीहरुमध्ये मेचीनगर बसोबास भएका सबैलाई नगरले व्यवस्था गरेको क्वारेन्टाइनमा सहज रुपमा राखिने र नगरवाहिरका मानिसलाई काँकरभिट्टा माविमा स्थापना गरिने होल्डिङ सेन्टरमा छोटो समय राखेर उनीहरुको पालिकातिर पठाइने उपप्रमुख मीना उप्रेतीले बताइन् ।
नगरबाहिरकालाई राख्नै पर्ने अवस्था आए बढीमा डेढ सयसम्मलाई धुलावारीको राधास्वामी भवन र रामघाट दिब्यधाम भवनमा क्वारेन्टाइनका लागि राखिने उनले बताइन्।