भारतीय अवरोधले २० ट्रक अलैची र चिया मेचीपुलमा अलपत्र

  प्रकाशित मिति
७ असार २०७७, आईतवार २१:०८


भद्रपुर, ७ असार (रासस) : पूर्वी नाका काँकडभिट्टाबाट भारत निर्यातका लागि पठाइएको २० ट्रक नेपाली चिया र अलैची मेची पुलमा चार दिनदेखि अलपत्र छ ।

मेची भन्सार कार्यालयका प्रमुख ध्रुवकुमार विश्वकर्माका अनुसार भारतीय सीमामा तैनाथ पश्चिम बंगाल प्रहरी र अर्धसैन्य वल एसएसबीको अवरोधका कारण नेपाली ट्रकहरु विहीवारदेखि मेची पुलमै रोकिएका हुन् ।

रोकिएका ट्रकमा नेपाली कृषि उत्पादन चिया र अलैची छन् । ती बस्तु भारतको सिलगढी पठाइएको नेपाली व्यापारीहरुले बताएका छन् ।

कोरोना महामारीको अवस्थामा समेत काँकडभिट्टा नाका खुल्ला रहँदै आएको छ । भारतबाट जुनसुकै सामान पनि नेपाली नाका पार गरेर आउने गरेका छन् । तर भारतको पश्चिम बंगाल प्रान्तीय सरकारले कोरोनाको बहानामा सीमावर्ती पानीटंकी नाकामा नेपाली सामानलाई एकतर्फी रुपमा रोक्दै आएको छ ।

पानीटंकी भन्सार कार्यालयमा सम्पर्क गर्दा भारतको केन्द्रीय सरकारबाट नेपाली सामानलाई कुनै रोक लगाइएको छैन भन्ने जानकारी आएको जनाउँदै मेची भन्सार कार्यालयका प्रमुख विश्वकर्मा भन्न्छन्–‘तर नेपाली सामान लोड भएका गाडीहरुलाई भारतीय भन्सार पुग्नु अगावै त्यहाँको पुलिस र एसएसबीले रोक्ने गरेको छ ।’

गत विहीवार नेपालबाट कृषिवस्तु बोकेका २३ वटा गाडी भारततर्फ गएका थिए । जसमध्ये दुई गाडी अलैची र एक गाडी अम्लिसो भने भारतीय प्रहरीले लैजान दिएको छ ।

लामो अवधिदेखि मेची पुलमा अलैची र चिया जस्ता मूल्यवान बस्तु अलपत्र अवस्थामा रहँदा सुरक्षाको समेत चिन्ता थपिएको छ । गाडीका चालकहरुले पुलमै रातदिन बिताएर सामान र ट्रकको सुरक्षा गरिरहेका छन् ।

नेपाल अलैची व्यवसायी महासंघका महासचिव सुवास भट्टराईले प्रत्येक ट्रकमा रु. डेढ करोडभन्दा बढी मूल्यको अलैची लोड गरिएको जानकारी दिए ।

उनले समस्याको समाधान बारेमा केन्द्रीय सरकार र प्रदेश सरकारको विभागीय मन्त्रीको ध्यानाकर्षण गराइएको बताए । नाकामा अवरोध नगर्न नेपालको तर्फबाट मन्त्रालय तहबाट पठाइएका पत्रहरुको भारतले जवाफ नपठाएको महासचिव भट्टराईले बताए ।

अबको बिकल्प भने भारतको जोगवनी नाका हुनसक्ने भट्टराईको भनाई छ । पश्चिम बंगाल सरकारले नाकामा अवरोध गरेको हुँदा विहारको नाका जोगवनी प्रयोग गर्न सकिने सम्भावना छ ।

तर सामानको कोलकातामा प्रयोगशाला जाँच भएर रिपोर्ट पानीटंकी नाकामा आइसकेको हुँदा फेरि जोगवनी नाका प्रयोग गर्दा दोहोर्याएर प्रयोगशाला जाँच गर्नुपर्ने झन्झट हुने व्यवसायीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: