भारतीय औषधिमा निर्भर विरामीहरु अप्ठेरोमा

  प्रकाशित मिति
९ बैशाख २०७७, मंगलवार ११:३२


अर्जुन कार्की

मेचीनगर । भारतीय औषधिमा निर्भर विरामीहरु लकडाउनका कारण अत्यावश्यक औषधि नपाएर अप्ठेरोमा पर्न थालेका छन् ।

कतिपय अत्यावश्यक औषधि नेपालमा पाइँदैन । भारतीय सीमावर्ती बजारमै पुगेर ल्याउनु पर्ने हुन्छ । लगातारको लकडाउनले औषधिहरु लिन जान नपाएपछि विरामीहरु अप्ठेरोमा पर्न थालेका हुन् ।

बाहुनडाँगीका एक व्यक्ति प्यारालाइसिस पीडित छन् । उनले केहि दिनअघि आफन्तलाई औषधि लिनका लागि सुनसरीस्थित इनरुवाको सीमा नाका भारतीय बजारमा पठाएका थिए ।

धुलाबारीमा बस्ने ती आफन्त विहानै स्कुटरमा इनरुवा बजार पुगे औषधिको कागज बोकेर । तर, उनलाई प्रहरीले समात्यो । बेलुका ५ वजेपछि मात्र छोड्यो । उनको औषधि पाउने पसल विहान १० देखि ४ वजेसम्म मात्र खुल्थ्यो ।

उनलाई प्रहरीले झापाका प्रमुख जिल्ला अधिकारीको पत्र अर्थात पास लिएर आउनु नत्र यसरी हिँड्न पाइँदैन भनेर पठायो ।

भोलिपल्ट झापाका प्रमुख जिल्ला अधिकारीले त्यहाँका लागि पास दिन नमिल्ने बताएको ती आफन्तले भने ।

भारतको पानीट्याङ्कीमा पनि उक्त औषधि लिन प्रयास गरे सीमा नाका काटेर जान उनले सकेनन् ।

युरोपबाट बाहुनडाँगीका प्यारालाइसिस बिरामीका आफन्तले लोकतन्त्रपोस्टकर्मीलाई मेसेन्जरमार्फत कुरा गरिन् । “गाउँमा घर छ, बुबा प्यारालाइसिस् पीडित हुनुहुन्छ । औषधि सँधै इनरुवाको सीमा नाका भारतीय बजारको एक औषधि पसलबाट ल्याएर नियमित खानु हुन्थ्यो”, उनले भनिन्–“त्यो औषधि त्यहाँ मात्र पाइन्थ्यो, औषधिको कागज देखाउँदा जान दिएनन् प्रहरीले ।”

यता काँकरभिट्टा नाका वारिपारि दुबैतिर बन्द भएकाले पानीट्याङ्कीबाट पनि औषधि ल्याउन नसकिएको उनले बताइन् । झापामा त्यो औषधि पाइँदैन । जटिल अवस्थाका विरामीले औषधि खानै नपाउने अवस्था आएकोमा उनले गम्भीर चिन्ता व्यक्त गरिन् ।

मुटु, क्यान्सर, मिर्गौला, मधुमेह, प्रेसर लगायतका विभिन्न रोगका धेरै विरामीले नियमित औषधि खानु पर्ने हुन्छ । यी विरामीहरुले लकडाउनका कारण औषधि नियमित खान पाइरहेका छैनन् ।

‘नेपालमा नपाइने औषधिको माग झापामा बढेको छ,’ काँकरभट्टिास्थित मनिषा मेडिकलका सञ्चालक दिलिप सुवेदीले भने–‘मेचीनगरका अधिकांश गम्भीर प्रकृतिका विरामीहरुले भारतको औषधि खाने गरेका छन् । भारतको औषधि यहाँ पाइँदैन ।’

उनका अनुसार भारत तथा अन्य मुलुकमा एउटै औषधि ४ देखि ६ कम्पनीले मिसाएर उत्पादन गरेको हुन्छ । नेपालमा एउटा कम्पनीको एउटा औषधि मात्र उत्पादन हुने गरेको उनको भनाई छ ।

पाँच वटा औषधि खानु भन्दा एकैपटक सबै मिसाएको औषधि खानु ठिक भन्दै नेपालीले भारत लगायतका अन्य मुलुकका औषधि खाने गरेको सञ्चालक सुवेदीको दावी छ ।

त्यसैले लकडाउनमा भारतबाट औषधि ल्याउन नपाएर विरामीहरु अपठेरामा परेको उनको भनाई छ ।

मेचीनगरका धेरैजसो सुगर, प्रेसर, मुटु लगायत विरामीले भारतीय कम्पनीका औषधि खाने गरेको उनले बताए ।

मेचीनगर नगरपालिका कार्यपालिका बैठकले अत्यावश्यक औषधि सहजरुपमा उपलब्ध गराउन छलफल चलाएको थियो । बैठकले स्वास्थ्य विमा र अत्यावश्यक औषधि नगरवासीलाई उपलब्ध गराउन पहल गर्ने सहमति गरेको छ ।

नगरपालिकाका सामुदायिक विकास शाखाका अधिकृत अनन्तप्रकाश वस्तीले स्वास्थ्य विमा, अत्यावश्यक औषधि र खाद्यान्न अभाव भएका अति विपन्न परिवार हेरी आपतकालीन राहत प्याकेज ल्याइने बताए ।

नगरका विभिन्न संघसंस्था र वडाका प्रतिनिधिहरुसँगको छलफलपछि संयन्त्र बनाएर स्वास्थ्य विमा गरिएका, अत्यावश्यक औषधि र अन्य रोगका विरामीका लागि पनि औषधि सहजरुपमा उपलब्ध गराउन वडामा संयन्त्र बनाउने छलफल भइरहेको उनले जानकारी दिए ।

प्राथमिक स्वास्थ्य केन्द्र धुलाबारीमा स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गरिरहेका सोम ओझाले सामाजिक सञ्जालमा कोभिड–१९ को महामारीमा सुगर, प्रेसर र मुटुका बिरामीले आफ्नो नियमित खाने औषधि विमामार्फत खानुहुने बिमाकर्ताहरुलाई प्रत्येक वडाबाट भिडभाड नहुने गरी २ जनाले विरामीको पूर्जा संकलन गरेर ल्याउन अनुरोध गरेका थिए ।

सोहि अनुसार आइतबार र सोमबार स्वास्थ्य विमा गरेका २५० जना विरामीले सुगर, प्रेसर र मुटुको औषधि लगेको ओझाले जानकारी दिए ।

दुहागढीका राजन मैनालीले मिर्गौलाको प्रत्यारोपण गरेका छन् । उनलाई अत्यावश्यक औषधिको अभाव भएका बेला सामाजिक अभियन्ता सचिन न्यौपानेले उनलाई आफै किनेर औषधि घरमै पुर्याइदिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: