भारतीय कडाइले बङ्गलादेशी पर्यटक ह्वात्तै घटे

  प्रकाशित मिति
२८ कार्तिक २०७६, बिहीबार १०:५६


अम्बिका भण्डारी

भद्रपुर, २७ कात्तिक (रासस) ः भारतले भिसा र सीमामा कडाइ गरेका कारण पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने बङ्गलादेशी पर्यटकको सङ्ख्यामा भारी गिरावट आएको छ ।

दश वर्ष अघि काँकडभिट्टा नाकाबाट वर्षेनी एघार हजार भन्दा बढी बङ्गलादेशी पर्यटक नेपाल आएको अध्यागमनको तथ्याङ्कमा देख्न सकिन्छ । तर अहिले त्यो सङ्ख्या ह्वात्तै घटेर दुई हजारभन्दा कम भएको छ ।

काँकडभिट्टास्थित अध्यागमन कार्यालयका अनुसार सन् २०१९ को चालू नौ महिनामा यो नाका भएर एक हजार ७२७ जना बङ्गलादेशी पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या सन् २०१८ मा एक हजार ९५०, सन् २०१७ मा एक हजार ९६४ र सन् २०१६ मा दुई हजार थियो ।

तर, एक दशक अघिसम्म बङ्गलादेशी पर्यटकको आगमन दर उच्च थियो । सन् २००४ मा ११ हजार १२७, सन् २००५ मा ११ हजार २१२, सन् २००६ मा ११ हजार ३१२ र सन् २००७ मा १२ हजार ५५३ जना बङ्गलादेशी पर्यटक काँकडभिट्टा नाकाबाटै नेपाल प्रवेश गरेको अध्यागमन कार्यालयको रेकर्डमा देखिन्छ ।

सन् २००८ मा भारतले मुम्बईमा भएको आतङ्कबादी हमलाको कारण जनाउँदै छिमेकी मुलुकको सीमा क्षेत्रमा आउजाउ र भिसा प्रक्रियामा कडाइ गरेको थियो । सोही वर्षदेखि नेपालमा आउने बङ्गलादेशी पर्यटक ह्वात्तै घटे ।

नेपाल पर्यटन बोर्ड काँकडभिट्टाकी निमित्त प्रमुख सुस्मिता दाहालले भारतले भिसामा कडाई गरेका कारण नेपाल आउने बङ्गलादेशी पर्यटकको सङ्ख्यामा कमी आएको बताए ।

नेपालले बङ्गलादेशी नागरिकहरुका लागि काँकडभिट्टा नाकामै ‘अन अराइभल भिसा’ सुविधा उपलब्ध गराएको छ । तर, बङ्गलादेशीहरु नेपाल आउनु अघि भारतीय स्थल नाका भएर काँकडभिट्टा आउनु पर्ने हुन्छ । उनीहरुलाई भारत प्रवेश गर्न भिसा पाउन सहज छैन । भिसा सुविधा पाउनका लागि बङ्गलादेशीहरुले त्यहाँको राजधानी नै धाउनु पर्ने हुन्छ ।

पछिल्लो समय आउने गरेका थोरै बङ्गलादेशी नागरिकहरु पनि आँखाको उपचारका लागि मात्र आउने गरेको र उनीहरु उपचार सकेर भरसक एकै दिनमा फर्किने गरेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख जनक कोइराला बताउँछन् ।

झापाको काँकडभिट्टामा रहेका तीन वटा र विर्तामोडमा भएका तीन वटा आँखा अस्पतालमा बङ्गलादेशका नागरिक उपचारका लागि आउने गरेका हुन् । घुमफिरका लागि बङ्गलादेशीहरु खासै आउँदैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: