भारतीय गाडीको लस्करले कोरोना भित्राउने त्रास

  प्रकाशित मिति
२७ चैत्र २०७६, बिहीबार ०७:०८


काँकरभिट्टा नाकाबाट मेची भन्सार भित्रिदै गरेका भारतीय गाडीहरु ।

मेचीनगर, २७ चैत । लकडाउन र सीमा बन्द रहेका बेला काँकरभिट्टा मूलनाकाबाट लावालस्कर भारतीय ट्रक भित्रिन थालेपछि स्थानीयवासी कोरोना भित्रिएला भनेर भयभित भएका छन् ।

हाल मेची भन्सार कार्यालयको परिसरभित्र लकडाउन र बोर्डर बन्द भए यता नेपाल भित्रिएका डेढ सयभन्दा बढी भारतीय मालवाहक ट्रक पार्किङ गरेर राखिएका छन् । चालक तथा हेल्परहरु रातभरि गाडीभित्रै सुत्छन् भने दिउँसो कोही वरपर हिँड्छन् भने कोही तास खेलेर समय बिताउँछन् ।

उनीहरुमध्ये अधिकांशले मुखमा मास्क लगाएका हुँदैनन् । उनीहरु भारतको विभिन्न प्रान्तबाट कोइला लगायतका सामान लोड गरिएको गाडी लिएर नेपाल आएका हुन् ।

मेची भन्सार कार्यालयका प्रमुख ध्रुव विश्वकर्माले मङ्गलवार एकै दिन ११४ वटा मालवाहक गाडी भित्रिएको स्वीकार गरे । उनीहरुले कागजपत्र भन्सारमा बुझाउन बाँकी रहेकाले के सामान बोकेको र कहाँ लैजाने थाहा हुन बाँकी भएको भन्सार प्रमुखको भनाई छ ।

मेची भन्सार एजेन्ट सङ्घका अध्यक्ष मोहन निरौलाले विश्वभरि यत्रो महामारी फैलिइरहेको र मुलुक बाहिर रोजगारीमा गएका आफ्नै नागरिकले समेत नेपाल फर्किन सीमामा अनुमति नपाइरहेको अवस्थामा कोरोनाको उच्च जोखिम निम्त्याउँदै सयौं भारतीय गाडी भित्राउनु चिन्ताजनक विषय भएको बताए ।

निरौलाले भारतबाट यसरी लापर्वाहीपूर्वक मालसामान र गाडी भित्राउने कार्य रोकिनु पर्ने माग गरे । उनले भित्रिसकेका गाडीलाई भन्सारभित्रै लक गरेर राख्न र त्यसका चालक दललाई १४ दिनसम्म सिधै क्वारेन्टाइनमा राखिनु पर्ने माग गरे ।

काँकरभिट्टा नाकाबाट मेची भन्सार भित्रिदै गरेका भारतीय गाडीहरु ।

नेपाल तरुण दल झापा क्षेत्र नं. १ का सभापति अर्जुन राईले सरकारले यस्तो बेला सामान आयातको नाममा हेलचेक्राई गर्न नहुने धारणा राख्दै भारतबाट आएका गाडी र तिनका चालकहरुबाट कोरोना सङ्क्रमणको जोखिम बढेकोमा चिन्ता प्रकट गरे ।

उनले स्थानीय, प्रदेश र संघीय गरी तिन तहको सरकारले जोखिमबाट जोगाउने तत्काल कदम नचाले जनता आफै नाका बन्द गर्न अघि सर्ने चेतावनी दिए ।

सामाजिक सञ्जालहरुमा भारतबाट लावालस्कर ओइरिएका गाडी र भन्सारमा भइरहेको लापर्वाहीको विरुद्ध कडा आक्रोश व्यक्त भइरहेको छ ।

ग्रीन जेनेरेसन झापाका अध्यक्ष अर्जुन कार्कीले प्रदेशका सांसदहरुसँगको बैठकमा अबदेखि भारतीय गाडी नआउने सहमति भएको खबर पढेको उल्लेख गर्दै फेरि गाडीहरु आइरहेको देख्दा अचम्भित भएको फेसबुकमा लेखका छन् । कार्कीले ज्यानभन्दा कोइला महत्वपूर्ण नभएको टिप्पणी गरेका छन् ।

होटल व्यवसायी क्षेत्रीय संघ मेचीनगरका अध्यक्ष रामबहादुर तामाङले पनि भारतबाट लगातार गाडीहरु भित्रिएकोमा फेसबुकमा आपत्ति जनाएका छन् । उनले यसलाई नरोके कोरोना भित्रिने डर बढेको बताए ।

स्वास्थ्यमाथि यो गम्भीर खेलवाड भएको उनको भनाई छ । भन्सार परिसरमा दुई सयभन्दा बढी गाडीका स्टाफले सामाजिक दूरी कामय नराखी बसेको समेत उनले बताए ।

मेचीनगर-१५ मा स्थानीय युवाले रोकेका भारतीय गाडी फर्काउँदै प्रहरी ।

दुई दिन अघि मेचीनगर १५ ज्यामिरगढी पुगेका भारतीय ३ वटा गाडीलाई स्थानीय युवाले रोकेपछि प्रहरीे फर्काउन बाध्य भएको थियो ।

युवा अगुवाहरु प्रकाश खड्का, मिलन प्रसाई, नारायण खनाल लगायतका युवाले भन्सारबाट लकडाउन उल्लङ्घन गर्दै गाडी र सामान भित्राउने कार्य तत्काल बन्द गर्न फेसबुकबाट आवाज उठाउँदै आएका छन् ।

तर मेची भन्सार कार्यालयका प्रमुख धु्रव विश्वकर्माले माथिबाट आदेश नआएसम्म भन्सार बन्द गर्न नसकिने बताएका छन् ।

‘भन्सारबाट आयात निर्यात रोक्ने कुनै निर्देशन आएको छैन,’ उनी भन्छन्–‘कोलकाता बन्दरगाहमा एक महिनादेखि रोकिएका धेरैजसो सामान अहिले धमाधम आएका छन्, इन्डिया र भारत कसैले पनि रोक्न मिल्दैन ।’

तर भारतबाट आएका गाडीहरुलाई आउनासाथ कोरोना भाइरसविरुद्धको स्प्रे गरिने र चालक दललाई ज्वरो नापिने गरेको छ । गाडीहरु चाहिँ अत्यावश्यक सामान रहेछ भने गन्तब्यसम्म जान दिइएको उनले जनाए ।

चालक दललाई क्वारेन्टाइनमा राख्ने कि नराख्ने विषयमा प्रशासनसँग छलफल भइरहेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: