काँकरभिट्टा । भारत पश्चिम बङ्गालको सिलगढीमा पक्राउ परी भारतीय प्रहरीको हिरासतमा राखिएका निर्दोष नेपाली नागरिक उदय फागो १७ दिनपछि विहीवार राति मुक्त भएका छन् ।
इलामको सूर्योदय नगरपालिका वडा नं.१० फिक्कल घर भएका २७ वर्षीय फागोलाई गत साउन २३ गते दिउँसो भारतको सिलगढीस्थित फेमेली क्लिनिकमा आमाको उपचार गराउन गएका बेला भारतीय प्रहरीले पक्राउ गरी दार्जीलिङको गोर्खाल्यान्ड आन्दोलनमा सघाएको झुठा मुद्दा लगाएको थियो ।
सुकुनामा साउन २१ गते भएको खुकुरी जुलुसमा सहभागी भएको भन्ने बिल्कुलै झुठो आरोप लगाएर फागोलाई भारतीय प्रहरीले आफन्तलाई भेट्न समेत नदिई हिरासतमा कडाइका साथ राखेको थियो ।
सिलगढीस्थित डिस्ट्रिक कोर्टले विहीवार एक सनुवाईमार्फत उनलाई तारेखमा रिहा गर्ने निर्णय सुनाएपति फागो प्रहरीको हिरासतबाट मुक्त भएर विहीवार राति ९ बजे काँकरभिट्टा आइपुगेका हुन् ।
रिहा भएर स्वदेश आइपुग्ने बित्तिकै फागोले भारतीय हिरासतमा रहँदा मानसिक यातना व्यहोर्नु परेको जनाउँदै आफु मुस्किलले बाँचेर आएको प्रतिक्रिया दिए ।
‘मैले कुनै गल्ती गरेको थिइन’, उनले काँकरभिट्टास्थित भन्सार गेटमा उत्रिनासाथ पत्रकारहरुसँग बोल्दै भने–‘भारत सरकारले अनाहकमा आतङ्कबादीको जस्तो व्यवहार गर्यो, यसमा मलाई अत्यन्त दुःख लागेको छ ।’
भारतीय प्रहरी हिरासतमा रहँदा रिहाइका लागि पहल गर्ने मानवाधिकारबादी, पत्रकार र सम्पूर्ण नेपालीहरुलाई फागोले धन्यबाद दिएका छन् ।
‘तपाइँहरु सबैको पहल, शुभेच्छा र सहयोगले म बाँचेर आएको छु’–फागोले भने ।
फागोको रिहाइका लागि राष्ट्रिय मानव अधिकार परिषद्का अध्यक्ष तुलसी थापा निकै सक्रिय थिए । उनी एक सातादेखि रिहाइको लगातार पहलमा थिए । उनकै नेतृत्वमा नेपाली पत्रकार र परिवारजनहरु फागोको रिहाइको माग गर्दै भारतीय अदालत, प्रहरी र प्रशासनसमक्ष पुगेको थियो ।
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारतको राजकीय भ्रमणमा रहेका बेला फागो रिहा भएका छन् । रिहाइको पहलकर्ता मानवाधिकारबादी थापाले फागोको रिहाइसँग प्रधानमन्त्री देउवाको भ्रमणको कुनै साइनो नभएको बताउँदै नेपाल सरकारले उनको रिहाइका लागि पहल नलिएकोमा दुःख व्यक्त गरेका छन् ।
फागोलाई काँकरभिट्टा नाकामा आउनासाथ फुलमाला र खादा लगाएर स्वागत गरिएको थियो । स्वागत गर्नेहरुमा लिम्बुवान पार्टीका नेता तथा नागरिक समाजका अगुवाहरु थिए ।
मानवाधिकारबादी थापाले फागो शुक्रवार काठमाडौँ जाने र पत्रकार सम्मेलनमार्फत आफ्ना कुरा बताउने कार्यक्रम रहेको बताएका छन् ।