झापा । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि भारतले विदेशी नागरिकलाई यात्रामा प्रतिबन्ध लगाउने तयारी गरे पनि त्यसले नेपालीलाई कुनै असर नपर्ने भएको छ ।
अन्य देशका नागरिकलाई भारत प्रवेशमा कडा निगरानी गरिएपनि त्यसले नेपालीलाई कुनै असर नगर्ने नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
दूतावासका अनुसार भारतको पछिल्लो कदमले अन्य देशका नागरिक रोकिए पनि भारत जाने नेपालीलाई कुनै प्रभाव पार्नेछैन । स्वस्थ नेपाली भारतमा निर्वाध जान पाउने भए पनि सीमानामा स्वास्थ्य परीक्षण गरिने र कोरोनाको लक्षण देखिएमा फिर्ता पठाइने दूताबासले जनाएको छ ।
कोरोना भाइरसको त्रास बढ्न थालेपछि भारतले विशेष सावधानीसहित विदेशीको यात्रामा प्रतिबन्धको तयारी थालेको हो । यो तयारी अन्तर्गत भारतले घुम्न आउने अन्य देशका नागरिकको विशेष निगरानी गर्ने भएको छ । त्यसका लागि भारतले सीमा नाकामा परीक्षण गर्ने तयारी गरेको छ ।
यसैबीच, भारतले बुधवार विश्वका सबै देशका लागि जारी गरिएको भिसा रद्ध गरेको छ । यो भिसा १५ अप्रिल सम्मको लागि रद्ध गरिएको हो । तर, भारत फर्कन चाहनेले स्क्रीनिङ गरेर १४ दिनसम्म निगरानीमा बस्नु पर्नेछ । स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको एड्वाइजरीमा १३ मार्च सम्मका लागि जारी भिसा रद्ध गरिएको जानकारी गराइएको छ । तर, संयुक्त राष्ट्रसङ्घका अधिकारी, डिप्लोम्याट लगायतका सरकारी अधिकारीलाई प्रवेश दिइनेछ ।
जो व्यक्ति अहिले भारतमा छन्, उनीहरुको भिसा जारी रहनेछ । चीन, इटली, इरान, कोरिया, स्पेन, जर्मनीसहित अन्य सबै देशको यात्रा गरेर फर्किएका भारतीयको स्क्रीनिङ जाँच हुने र उनीहरुलाई १४ दिनसम्म निगरानीमा राखिनेछ । भारतमा कोरोना भाइरसका ६० केस आएका छन् । जबकी विदेशबाट आउनेवाला लगभग १० लाखभन्दा धेरैको स्क्रीनिङ गरिएको छ ।