भारु नोट, प्रतिबन्ध र नेपाली बजार

  प्रकाशित मिति
५ मंसिर २०७३, आईतवार १२:३५


gyanendra

गत कार्तिक २३ गते मध्यरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको जनताको नामको सम्बोधनमा एकाएक भारतीय ५ सय र एक हजार दरका नोट प्रतिबन्ध गरेको घोषणाले धेरैलाई आर्थिक रुपमा टाँट पल्टाएको घट्ना बाहिर आउँदैछ ।

मोदीको भाषण भन्दा एक मिनेट अघिसम्म पनि आम नागरिकमा सुइँकोसम्म थिएन कि मोदीले यति खतरनाक कदम चाल्दैछन् भनेर । त्यसबाट एउटा कुरा चै छर्लङ्ग भएको छ । त्यो के भने भारतको कर्मचारी तन्त्रमा पनि मोदीको पकड बलियो छ । किनकि एक बर्षदेखि चलन चल्तीमा रहेका भारतीय ५ सय र एक हजार दरका नोट प्रतिबन्ध लगाउने र नयाँ प्रबिधि युक्त ५ सय र २ हजार दरका नोट बजारमा ल्याउने गरी ती नोट छापिसकेर उनले घोषणा गर्दासम्म त्यो सूचना कहिँ कतै चुहिन पाएन । यदि त्यसो हुन्थ्यो भने भारतको अर्थतन्त्रमा ठूलै चलखेल हुने प्रष्ट अनुमान गर्न सकिन्छ ।

मोदी सरकारको सफलता नै मान्नु पर्छ कि एकाएक नोटमाथिको प्रतिबन्धले भारतमा मात्र होइन भारतसँग ब्यापारिक सम्बन्ध भएका अन्य देशहरूमा पनि यसले ठूलै हलचल ल्याइदियो । जाली नोट बनाउने र बजारमा पु¥याउने तथा तस्करीको धन्धाबाट आय आर्जन गरेकाहरूलाई त यो निर्णय कुनै सुनामी भन्दा कम छैन ।

भारतीय प्रधानमन्त्री मोदीको यो घोषणा उनको सरकारको लागि त सफलता नै होला, तर खुला सिमा र निर्वाध रुपमा भारतीय नोटको प्रयोग हुने नेपाल जस्तो देशका लागि भने मोदी सरकारको निर्णयले ठूलै झट्का दिएको छ । नेपालका कुनै त्यस्तो बजार छैन जहाँ भारतीय नोटको कारोबार नहोस् । त्यसमा पनि सिमा शहर र तराईका बजारहरुमा त ठूलो आकारमा भारतीय नोटको कारोबार हुने गरेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले नै पुष्टी गरिसकेको छ ।

राष्ट्र बैङ्कको बिवरण भन्दा पर गएर आर्थिक बिषयका जानकारहरूको अध्ययनमा अहिले पनि ८ अरब जति भारतीय नोट नेपाली बजारमा छन् । अहिलेको सबैभन्दा ठूलो चुनौती नै नेपाली बजारमा भएका भारतीय ५ सय र एक हजार दरका नोटलाई कसरी ब्यवस्थापन गर्ने भन्ने नै हो । त्यसमा पनि स्रोत पुष्टी नहुने खालका कारोबारहरू मार्फत जम्मा भएका नोटको ब्यवस्थापन सरकारको बुता भन्दा बाहिर जाने अवस्थामा पुगेको छ ।

भारतीय पक्षले यस अघि कै ब्यवस्था अनुरुप एक जना नेपालीलाई २५ हजारसम्म मात्र भारतीय नोट सटही गर्न दिने भन्नेमा अडिग रहेको देखिन्छ भने नेपाल सरकारले पछिल्ला दिनमा भारत सरकारसँग यो बिषयमा दर्बिलो ढङ्गबाट समेत कुरा राख्न सकेको आम जनताले आभाष गर्न सकेका छैनन् । भारतसँग सिमा जोडिएका शहर बजारको अवस्थाको कुरा गर्ने हो भने अवस्था झन् भयावह देखिन्छ ।

पूर्वी सिमा जोडिएको शहर काँकरभिट्टाका एक व्यवसायीले कार्तिक २३ गते बेलुका ओछ्यान पर्दै गर्दा ३ करोड भारतीय नोट (जसमा अधिकांश ५ सय र एक हजार दरका नोट राखेका थिए) या भनौँ उनी नेपाली मूल्य अनुसार ४ करोड ८० लाखको मालिक थिए तर भोलिपल्ट बिहान अर्थात कार्तिक २४ ब्युँझदै गर्दा उनी कङ्गाल भइसकेको पत्तै पाएनन् । यो त एउटा उदाहरण मात्रै हो । काँकरभिट्टा जस्ता सिमानाका शहरहरूमा त सबै पसलमा भारतीय नोटको कारोबार हुन्छ ।

काँकरभिट्टामा मात्र यस अघि दैनिक १८ देखि २० करोडको भारतीय नोटको कारोबार हुने गरेको त्यस सम्बद्ध व्यवसायीहरूको तथ्याङ्कले देखाउँछ । भारतीय नोटमा भएको प्रतिबन्ध कै कारण अलैचीको कारोबारमा पूर्ण रुपमा रोक नै लगाउने अवस्थाका सृजना भएको छ । जसका कारण ठूलो बजार हिस्सा भारत रहेको नेपाली अलैची किसानहरू मारमा परिरहेका छन् ।

त्यसो त भारतमा ज्याला मजदुरी गरेर कमाएको धनलाई प्रयोगमा ल्याउन नसकेर हाम्रा गाउँमा बिहान बेलुकाको छाक टार्न नसक्ने अवस्थामा पुगेको हाम्रो सरकारले सायदै पत्तो पाएको होला । तर पनि नेपाल सरकारले भारतीय नोट प्रतिबन्धबाट नेपाली बजारमा भइरहेको समस्यालाई गभ्भीरताका साथ लिएको देखिएन ।

यतिका दिन बितिसक्दा पनि अहिलेसम्म नेपालमा भएका प्रतिबन्धित भारतीय नोटको ब्यवस्थापन कसरी गर्ने ? नेपालमा भएको भन्दा फेरि दुई खाले कुरा उठ्न सक्छ । पहिलो नेपाली बैङ्कहरूमा भएका नोट र अर्को नोपाली व्यवसायीहरूसँग भएको भारतीय नोट । त्यसैले भारतीय प्रतिबन्धित नोटका बारेमा राज्य जिम्मेवार भएर त्यसको सहि समाधान दिन सकेन भने यसले नेपाली बजारमात्र होइन केही बिशेष प्रकारका व्यवसायीहरूलाई टाट पल्टाउने निश्चित छ । त्यसैकारण पनि यो समस्याको समाधानका लागि सरकारलाई अबिलम्ब दबाब दिन जरुरी भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: