भुलेका छैनौं त्यो ‘माघ १९’

  प्रकाशित मिति
१९ माघ २०७७, सोमबार १०:४९


।। मोहन काजी ।।

विहानको ११ बजिसकेको थियो । सरकारी कार्यालयहरु सुनसान देखिन्थे । जताततै बन्दुकधारी परिचालित गरिएको थियो । पूर्वतिर हेर्दा रंगशालासम्मै प्रहरीको लर्को देखिन्थ्यो । पश्चिमतिर हेर्दा लेखनाथ चोकसम्म उस्तै । हाम्रो जुलुसले चोक र मुख्य बाटामा बसेका सुरक्षाकर्मीलाई छक्याउँदै रासस कार्यालय छेउको बाटो हुँदै जिल्ला प्रशासनतिरै नारा लगाउँदै जाने निधो गर्यो ।

शाही सत्ता लादिएको एक वर्ष भइसकेको थियो । ०६२ माघ १९ गतेको त्यो दिन निरंकुश शाही शासनको विरोध गर्न हामी चन्द्रगढी बस स्टेन्डमा भेला भइसकेका थियौं । मुलुकमा सात राजनीतिक दल र माओबादी विद्रोहीले शाही सत्ताको अन्त्यका लागि निर्णायक आन्दोलन गरिरहेको अवस्था थियो । शाही सत्ताले नेपाल पत्रकार महासंघलाई आठौं दल भन्दै समग्र प्रेसमाथि चर्को दमनको नीति अख्तियार गरेको थियो । लोकतन्त्र वहाली र राजतन्त्रको अन्त्यका लागि झापाली पत्रकारहरुले त्यो दिन सदरमुकाममा विरोध प्रदर्शन गरेर लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने अठोट गरेका थिए । पूर्वनिर्धारित कार्यक्रम अनुसार नै हामी सदरमुकाम केन्द्रित जुलुसका लागि जुटिरहेका थियौं ।

नेपाल पत्रकार महासंघको झापा सचिव भएको हैसियतले उद्घोषणसहित जुलुस सुरु भएको घोषणा मैले गरें । अग्रज पत्रकार लीला बराल, गोविन्द्रचन्द क्षेत्री, पूर्व अध्यक्ष माधव विद्रोही, महासंघका उपाध्यक्ष गोपाल गड्तौला, कोषाध्यक्ष तारामणि सापकोटा लगायतका अग्रज तथा साथीहरु अग्रभागमै हुनुहुन्थ्यो । राजेन्द्र गौतम, प्रेम आचार्य, राजु अधिकारी, पर्वत पोर्तेल, कृष्ण मिश्र, रमेश समदर्शी, नारायण खड्का लगायतका साथीहरुले प्रतिगामी शाही सत्ता मुर्दाबाद लेखेको कालो व्यानर निकाल्नु भयो । अरु साथीहरुले लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा र राजाको अधिनायकबादी शासनको विरोधमा नारा लेखिएका प्लेकार्डहरु उचाल्न थाल्नुभयो ।

पत्रकारहरुको जुलुस छापामार शैलीमा उत्तरतर्फ बढ्यो । चारैतिरबाट बन्दुकधारी नेपाल प्रहरी र सशस्त्र प्रहरीको जत्थाले हाम्रो जुलुसलाई घेर्यो । हामीलाई अघि बढ्न नदिइए पछि झन् चिच्याएर गगनभेदी नारा घन्काउन थाल्यौं । साथीहरुले शाही सत्ता मुर्दाबाद, लोकतन्त्र जिन्दाबाद, पुलिस दमन बन्द गर लगायतका नारा लगाइ नै रहे ।

जुलुस सुरु भएको पाँच मिनटमै हामीमाथि प्रहरी दमन सुरु भएको थियो । प्रहरीले हाम्रा व्यानर र प्लेकार्ड बलपूर्वक खोस्यो । साथीहरुले प्रहरीको घेराबन्दीभित्र संकटकाल लागेको त्यस्तो बेलामा त्यहाँ जसरी प्रतिरोध गर्नुभयो, त्यो वास्तवमै सलामयोग्य थियो । अविस्मरणीय थियो । त्यसबेला प्रहरीसँग लाठी खोसाखोस र तानातान भएको थियो । प्रहरीले कतिपय साथीहरुलाई बन्दुक ताकेका थिए । बन्दुकको कुन्जाले धकेलेका थिए । लछारपछार पारेका थिए ।

पत्रकारहरुले नारा घन्काएपछि चन्द्रगढीबासी हामीलाई साथ दिन आउनुभएको थियो । पत्रकारितामा सक्रिय दिपेन्द्र भट्टराई, जनक पाण्डे, नारायण भट्टराई लगायतका थुप्रै अधिवक्ताहरु प्रहरी दमनको प्रतिरोध गर्न त्यहाँ आउनुभएको थियो । माघ १९ लाई कालो दिनको रुपमा विरोध जनाउन पत्रकार महासंघले त्यसदिन चन्द्रगढीमा निकालेको जुलुस ऐतिहासिक थियो । आन्दोलनमा ठूलो ऊर्जा थपेको त्यसबेला झापामा लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरिरहेका सुधिर शिवाकोटी, रविन कोइराला, देबेन्द्र दाहाल लगायतले भन्नुहुन्थ्यो । पाको उमेरमा युवा झैं जोश बोकेर अग्रज पत्रकार गोविन्दचन्द क्षेत्री जुलुसमा सहभागी हुनुभएको थियो ।

चर्को प्रहरी दमनका कारण हाम्रो जुलुस अघि बढ्न पाएन । तैपनि हामीले विरोधलाई जहाँ रोकिएका छौं, त्यहीँ तीब्र पार्यौं । जति प्रहरीले लाठी हान्छ, उति चर्को स्वरमा साथीहरुले नारा लगाउन थाल्नुभयो । प्रहरीले थप शक्ति र गाडी मगाएर हामीलाई धरपकड थाल्यो ।

अगाडि भएको हुँदा म, गोपाल गड्तौला, राजेन्द्र गौतम, प्रेम आचार्य, नारायण खड्का, तारामणि सापकोटा लगायतलाई पाखुरामा समातेर हतियारधारी प्रहरीले घिस्याउँदै पहिलो खेपमै पुलिसभ्यानमा हाल्यो । त्यसपछि उमाकान्त खनाल, रमेश समदर्शीलगायतका साथीहरुलाई तान्दै ल्याएर गाडीमा हाल्दै गरेको देखें । एक एक गरी सबैलाई गिरफ्तार गरियो । एउटा गाडीमा नआँटेर साथीहरुलाई अरु भ्यानहरुमा पनि हालियो । एकैखेपमा पचासभन्दा बढी पत्रकार यसरी पक्राउ परेको घटना नेपालमै पहिलो थियो ।

पुलिसको नियन्त्रणमा पनि हामीले आत्मसमर्पण गरेनौं । अब हामीलाई जेलमा हाल्छ, यातना दिन्छ र जे पनि हुन सक्छ भन्ने अनुमान भइसकेको थियो । कानून व्यवसायी साथीहरुसहित सयौं जनसमुदायले हाम्रो गिरफ्तारीको विरोध गरिरहनु भएको थियो । पुलिसको भ्यानभित्रै हामीले पुलिस दमन मुर्दाबाद, शाही शासन मुर्दाबाद, लोकतान्त्रिक गणतन्त्र जिन्दाबाद जस्ता नारा लगाइरहेका थियौं । पुलिसको भ्यान जिल्ला प्रहरी कार्यालयभित्र पसेपछि पनि हामीले निरंकुशतन्त्र विरुद्ध नारा लगाउन छाडेनौं ।

जिल्ला प्रहरी कार्यालय चन्द्रगढीको हिरासतमा नअट्ने भएपछि हामीलाई बन्दुकधारीको घेराबन्दीमा चिसो चौरमा दिनभर राखियो । सबै साथीहरु भोकै थिए । माघे चिसोका कारण साथीहरुको स्वास्थ्यमा गडबडी हुन थालिसकेको थियो । आठ घण्टा चिसो चौरमा राखेर मानसिक यातना दिएपछि हामीलाई राति ७ बजेतिर पक्राउ पुर्जी थमाउन थालियो ।

प्रहरी कार्यालय परिसरभित्र अर्कोतिर प्रहरीको दंगा गणमा नेपाली कांग्रेस, नेकपा एमालेलगायतका आन्दोलनकारी दलका थुप्रै नेताहरुलाई बन्दी बनाएर राख्ने गरिएको रहेछ । हामीले दिनभरि बन्दी अवस्थामा रहँदा समेत चर्का नाराबाजी गरेको सुनेर दंगाको गणमा बन्दी रहनु भएका नेताहरुले समेत नाराबाजी गर्न थाल्नुभयो । उहाँहरुले हाम्रो आवाजमा साथ दिन थाल्नु भएको थियो । पुलिस हिरासतको त्यो बसाईमा कोही पत्रकारहरु पनि दबेका, डराएका र अत्तालिएका थिएनन् । लोकतन्त्रको पक्षमा लड्दा हिरासत त के जेल जान पनि तयार थिए झापाली पत्रकारहरु । साथीहरुले गीत गाउँदा राजतन्त्रको विरोधमा गाउनुहुन्थ्यो । पत्रकार राजु अधिकारीको अगुवाइमा ‘डाँफे नाँचेर बन्दैन मुलुक राजा राखेर…’ बोलको गीत गाउँदा लय नमिले पनि हामी सबैले स्व्र मिसाउँदा प्रहरी परिसर थर्कमान भएको थियो । गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ, रक्त क्रान्तिको ज्वालामुखीमा, रिङ्के बुङको राँगालाई लगायतका थुपै्र गीत हाम्रा साथीहरुले हिरासत बसाइमै गाउनुभयो ।

यति धेरै साथीहरु गिरफ्तारीमा परेका थियौं कि प्रहरीलाई समेत कहाँ लगेर राख्ने भन्ने समस्या पर्यो होला । आठ घण्टासम्म हामीलाई चौरमै राखियो । यो गिरफ्तारीको घटनाले मुलुक हल्लिएको थियो । रेडियोहरुमा समाचार आएपछि काठमाडौं र जिल्लाका आन्दोलनकारी दलहरुले पत्रकारहरुको रिहाइको माग गर्न थालिसकेका थिए । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले यो घटनालाई प्रेस माथिको सबैभन्दा चर्को दमनको रुपमा व्याख्या गर्दै अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)को ध्यानाकर्षण गराएको थियो । संयोगले त्यही दिन अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)को मिसन नेपालमा प्रेसमाथि भइरहेको दमनको अनुगमन गर्न काठमाडौं आइपुगेको रहेछ । झापाको घटना उनीहरुले थाहा पाइसकेका थिए ।

हामी तत्काल रिहा हुने कुनै छाँट थिएन । बरु रातभरि यस्तै चिसो चौरमै राख्यो भने ज्यान जाला भन्ने चाहिँ डर लागिरहेको थियो । परिवारका सदस्यहरुसँग समेत कुराकानी गर्न दिइएको थिएन । मोवाइल खोसेको थियो प्रहरीले । तैपनि एक दुई वटा मोवाइल साथीहरुले लुकाएर ल्याउनु भएको थियो । त्यसबाट आफ्ना मिडिया हाउसमा खबर पठाउन सकेका थियौं । जस्तो कि, त्यो दिन प्रहरीको हिरासतबाटै लेखिएको सम्पादकीय जनसंसद् दैनिकमा प्रकाशित भएको थियो ।

प्रहरी कार्यालयको सन्नाटा, बन्दुकधारीले बुट बजारेको कर्कश आवाज । चिसो चौरको दिनभरिको बसाई । बहुतै कष्टकर थियो । नेताहरुलाई बन्दी बनाएको दंगा बस्ने गोदामतिरको गेट राति पौने सात बजेतिर खुल्यो । केही प्रहरीले नाम बोलाउन सुरु गरे । पहिलो नाम मेरो थियो । प्रहरीले एउटा सेतो कागज थमायो र उता (दंगा बस्ने गोदाम)तिर जानु भन्ने उर्दी गर्यो । मधुरो बिजुली बत्तीको उज्यालोमा पढें–पक्राउ पुर्जी रहेछ । साथीहरुलाई अभिवादन गर्दै दंगाको गोदामतिर म गए । त्यसपछि प्रहरीले क्रमैसँग साथीहरुलाई पक्राउ पुर्जी थमाउन थाल्यो । केही साथीहरुले विरोधमा हंगामा गर्न थाल्नुभयो । पक्राउ पुर्जी बनाउन र नाम बोलाउन निकै बेर लाग्ने भयो । थोरैले मात्र पक्राउ पुर्जी पाउनुभएको थियो । अरु साथीहरुलाई पक्राउ पुर्जी थमाउन लाइन लगाइएको थियो ।

पक्राउ पुर्जी बोकेर दंगाको गेटतिर छिरिसकेका हामी अरु साथीहरुको पर्खाइमा थियौं । त्यत्ति नै बेला प्रहरीले हामीलाई जिल्ला प्रहरी कार्यालय भएतिरै बोलायो । घरि यता घरि उता जानु भन्ने प्रहरीको उर्दीले रिस पनि उठ्न थालिसकेको थियो । त्यसबेला जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी केशरीराज घिमिरे हुनुहुन्थ्यो । उहाँ अग्रज पत्रकार युवराज घिमिरेको भाइ हुनुहुन्थ्यो । उहाँले आफ्नो कार्यकक्षमा पत्रकारका नेताहरुसँग कुराकानी गर्न बोलाउनुभएको रहेछ । हामीलाई प्रहरीले उहाँको कार्यकक्षमा पुर्यायो । अरु साथीहरु पनि आउनुभयो । बाहिरबाट अग्रज पत्रकारहरु र राजनीतिक दलका नेताहरु समेत त्यहाँ आउनु भएको रहेछ । एसपी केशरीराज घिमिरेले हाम्रो पक्राउ पुर्जी फिर्ता माग्नुभयो । हामीले फिर्ता दियौं । उहाँले तपाईहरुलाई रिहा गर्न बोलाएको भन्नुभयो । शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गरेको दमन र गिरफ्तारीको विरोध त्यहाँ पनि गर्यौं । रातिको ८ बजिसकेको थियो । हामी सबैलाई रिहा गर्यो प्रहरीले । भोकले आकुलव्याकुल र मानसिक यातनाले थकित हामी राति घर पुग्ने अवस्था र साधन थिए । आन्दोलनकारी दलको तर्फबाट आउनुभएको राजेन्द्र घिमिरेलगायतले हामी सबैलाई त्यो रात भद्रपुरको धर्मशालामा खाने र बस्ने व्यवस्था मिलाइदिनुभयो ।

तसर्थ, भुलेका छैनौं त्यो कालो दिन–माघ १९ । राजनीतिक सहमतिमा बनेको सरकार अपदस्थ गरी २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले सार्वभौमसत्ता हत्याएको दिन । प्रेस स्वतन्त्रता हनन् गर्दै मिडिया हाउसमा बन्दुकधारी सैनिक पठाएर आतंकित पारेको दिन । इन्टरनेट, मोवाइल बन्द गरेको दिन । अनि भुलेका छैनौं, २०६२ माघ १९ पनि । जुन दिन नेपालमै सबैभन्दा धेरै पत्रकारहरु झापामा गिरफ्तारीमा परेको दिन । आठ घण्टा जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा थुनिएको दिन । ती तमाम पत्रकार अग्रज तथा साथीहरुलाई सलाम अर्पण गर्दछु, त्यो दिन चन्द्रगढीमा शाही सत्ताको चर्को दमन र घेराबन्दीका बीच झापाली पत्रकारहरुले लोकतान्त्रिक गणतन्त्रको पक्षमा निकालेको जुलुस ऐतिहासिक थियो । लोकतन्त्र ल्याउन नेपाली प्रेसले गरेको विद्रोह र संघर्षलाई सम्झिने दिन पनि हो आज ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: