काँकरभिट्टा । भूकम्प प्रभावित क्षेत्रका लागि सोमबार झापाबाट दुई ट्रक कम्बल पठाइएको छ ।
राहत सामग्री सिन्धुपाल्चोक र रसुवाका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले बताए ।
बङ्गलादेश सरकारले भूकम्पपीडितका लागि पठाइएको पाँच ट्रक कम्बल जिल्ला दैवि प्रकोप समितिले मेची भन्सार कार्यालय काँकरभिट्टाको परिसरमा रहेको इन्टरमोडलको गोदाममा राखेको थियो ।
सो सामग्री सोमबार सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि, प्रशासन र भन्सार अधिकृतलगायतको रोहवरमा प्रभावित क्षेत्र सिन्धुपाल्चोक र रसुवा पठाइएको पौडेलले बताए ।
‘गृह मन्त्रालयको आदेश नआएको कारण लामो समयसम्म गोदाममा नै राख्नुपरेको हो’ उनले भने– ‘आइतबार साँझ मात्र गृहको आदेश आयो, सात वटा प्रभावित जिल्ला पठाउनु भनेर, सोही अनुरुप सोमबार र मङगलबारसम्ममा पठाइसक्छौँ ।’ प्रजिअ पौडेलका अनुसार सिन्धुपाल्चोक, रसुवा, गोरखा, नुवाकोट, रामेछापलगायत स्थानमा कम्बल पठाइनेछ ।