मेचीनगर, १४ असोज । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले भूगोलको आधारमा थप गाडी खरिद गरिएको दावी गरेका छन् ।
गाउँपालिकाले गाडी खरिद गरेको भनी चौतर्फी आलोचना भइरहेका बेला अध्यक्ष भुजेलले गाडी आवश्यकता र औचित्य पुष्टि हुने गरी खरिद गरिएको बताए ।
उनका अनुसार गाउँपालिकाको एउटा गाडी भए पनि भूगोलका आधारमा समस्या भएकाले नगरपालिकाको सहजताका लागि थप एउटा गाडी खरिद गरिएको हो ।
‘गाउँपालिकामा ७ वटा वडा भए पनि भूगोलको आधारमा पहाडी क्षेत्र पर्छ’, अध्यक्ष भुजेलले भने–‘यहाँका जनप्रतिनिधिहरु कुनै कुनै वडा दिनभरि हिड्दा समेत पुगिदैन ।’
प्रदेश सरकारले प्रदेशका आफ्ना मन्त्रीहरुको सवारी खरिद गर्दा मापदण्ड तोकेको छ । तर स्थानीय तहमा मापदण्ड नभएको उनको भनाइ छ ।
‘गाउँपालिकाको धेरै कामहरु हुन्छन्, एउटा गाडीले सम्भव भएन’, अध्यक्ष भुजेलले भने–‘अहिलेसम्म भाडामा गाडी प्रयोग गरेका थियौँ । तर, गाडी भाडा नै २२ लाख भन्दाबढी तिरिसक्यौँ ।’
‘गाडी खरिद गर्ने पहिलैको परिषद्मा कुरा उठाएका थियौँ, यहाँका राजनीतिक दलहरुले तत्काल खरिद नगर्नु भनेकाले रोकिएको थियो,’ उनले भने–‘तर, अनुगमन तथा अन्य काममा जान समस्या भएकोले गाडी खरिद गरिएको हो ।’
अध्यक्ष भुजेलले ६६ लाख ८० हजार रुपैयाँ मूल्य बराबरको स्कार्पियो गाडी खरिद गरिएको जानकारी दिए ।
उनले खरिद गरिएको नयाँ गाडी आवश्यकता अनुसार नगरपालिकाका सबैले प्रयोग गर्न सक्ने बताए ।
।। अर्जुन कार्की ।।