भूतप्रेतहरु सल्बलाउन थाले : मन्त्री भट्टराई

  प्रकाशित मिति
१३ मंसिर २०७७, शनिबार १८:१८


फोटो : रासस/सन्तोष शर्मा

झापा, १३ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद देखा पर्दा लोकतान्त्रिक गणतन्त्रको संविधान नरुचाउने भूतप्रेतहरु सल्बलाउन थालेको बताए ।

जनताको लामो संघर्ष र आन्दोलनबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा एकता आवश्यक रहेको उनले बताए ।

भूतप्रेत भनेर उनले राजाबादीहरुप्रति संकेत गरेका हुन् ।

झापाको विर्तामोडमा सिद्धार्थ होटल ग्रान्डसिटीको आज उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले भने–‘भूतप्रेतहरुले पोखरा र झापातिर कतै जुलुस निकालेको र कतै निकाल्न लागेको सुनिएको छ, नेकपामा तलमाथि भयो भने परिवर्तन र संविधान नचाहने शक्तिहरु हौसिन्छन् भन्ने यो उदाहरण हो ।’

उनले नेकपाभित्रको विवाद चाँडै हल हुने र त्यसपछि सुपरफास्ट गतिमा नेकपा अघि बढ्ने विश्वास व्यक्त गरे ।

आज काठमाडौंमा चलिरहेको नेकपा सचिवालयको बैठकतर्फ इङ्गित गर्दै उनले सचिवालयले समस्याको हल गर्न नसके स्थायी कमिटीले सचिवालयका सबै प्रतिवेदनहरु खारेज गरेर नयाँ निर्णय लिने दावी गरे ।

‘सचिवालयले हल गरेन भने’, मन्त्री भट्टराईको चेतावनीपूर्ण भनाई थियो–‘स्थायी कमिटी निर्णय गर्न र समस्याको हल निकाल्न सक्षम छ, त्यो निर्णय कसैले नसोचेको पनि हुनसक्छ ।’

नेकपा अहिलेको अप्ठेरो परिस्थितिबाट विभाजनलाई क्रमभंग गर्दै अघि बढ्ने जनाउँदै उनले मुलुकमा विदेशी शक्ति, चरम दक्षिणपंथी र चरम बामपंथीको चलखेललाई विफल तुल्याइने बताए ।

सरकारले केही गरेन भन्नेहरुलाई जवाफ

सरकारले केही गरेन भन्दै नेकपा सरकारको आलोचना गर्नेहरु पूर्वाग्रही भएको उनको भनाई थियो ।

भनेको बेला भेन्टिलेटर नपाउँदा, खोजेको बेला आइसीयु नपाउँदा सर्वसाधारण जनतामा केही असन्तुष्टि हुनु स्वाभाविक भए तापनि सरकार सुतेर बसेको छ जस्तो गरी आरोप लगाउनेहरुले आफ्नो विगत हेर्नुपर्ने उनको टिप्पणी थियो ।

‘वुहानबाट स्वदेश फर्केका विद्यार्थीको स्वाव संकलनका लागि हङकङ पठाउनु परेको धेरै भएको छैन, आज मुलुकका ७० वटा प्रयोगशालबाट पीसीआर परीक्षण भइरहेको छ’, उनले सरकारका आलोचकहरुप्रति प्रतिप्रश्न गर्र्दै भने–‘हिजो सबैभन्दा लामो समय सत्तामा बसेकाहरुबाटै अहिले केही भएन भनेको सुन्दा अचम्म लाग्छ, हिजो उहाँहरुले कमसेकम २० वटा पीसीआर प्रयोगशाला बनाएर छाडेको भए हुन्थ्यो नि, किन केही नगरेको ?’

विश्वका चीनलगायत थोरै मुलुकले मात्र कोरोनाकालमा आफ्नो अर्थतन्त्रको विकासलाई धेरै तल गिर्न नदिएको चर्चा गर्दै उनले विश्व बैङ्कको प्रतिवेदन अनुसार अहिले नेपालले यस्तो संकटका बेला पनि २ दशमलब ५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको बताए ।

कोभिड १९ को सबैभन्दा ठूलो मार पर्यटन क्षेत्रले खेप्नु परेको उल्लेख गर्दै उनले पर्यटन व्यवसायलाई उठाउनका लागि सरकारले रु. ५० अर्बको पुनकर्जा कोष स्थापना गरेको स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: