भूपिनलाई बचाउन अभियान

  प्रकाशित मिति
१ मंसिर २०७३, बुधबार १६:५१


bhupin-pic
शनिश्चरे । दुबै मिर्गौला ड्यामेज भएका शनिअर्जुन–२ का ३६ वर्षीय भूपिन राईको उपचारमा आर्थिक अभाव भएको छ ।
जग्गाको नाममा एक धुर घडेरी पनि नभएका र पेन्टिङ मजदुरी गरी परिवारको पालनपोषण गर्दै आएका भूपिनको ३ महिना अघि मात्र मिर्गौला ड्यामेज भएको पत्तो लागेको थियो ।

यलम्बर टाइम्स साप्ताहिकका सम्पादक दिपीन राईका माहिलो भाइ भूपिनका ९ वर्षकी छोरी सगुन र ६ वर्षको छोरा आन्छोप्पा राई छन् । उनकी पत्नी शान्ता राई परिवारकै भरणपोषणका लागि केही महिना अघि वैदेशिक रोजगारीमा गएकीमा पतिलाई मिर्गौला रोगले सताएको थाहा पाएपछि हाल घर फिरेकी छन् ।

भूपिनको उपचार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विर्तामोडको विर्ता सिटी हस्पिटलमा भइरहेको छ । उनलाई चिकित्सकहरूले चाँडोभन्दा चाँडो मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएको दाजु दिपीन राईले बताए ।

‘भाइ भूपिनको उपचारमा हालसम्ममा पारिवारिक सहयोगमा ६ लाख रुपैयाँ भन्दा बढी खर्च गरिसक्यौँ’, पत्रकार दिपीन राई भन्छन्–‘डाक्टरले मिर्गौला प्रत्यारोपण गर्न १८ देखि २० लाख रुपैयाँ लाग्ने बताएपछि अब हामी आफैले उपचार गर्न नसक्ने अवस्थामा पुग्यौँ ।’

उनले भाइ भूपिनको स्वास्थ्य अवस्था दिनप्रतिदिन नाजुक बन्दै गइरहेको र हाल सातामा दुई पटक डाइलासिस गर्नु परेको बताए ।

छोराको स्वास्थ्य विग्रिएकोमा उनको पुरै परिवार चिन्तित छ । ‘बचाउन सकिन्छ भने म मेरो एउटा किड्नी दिन चाहन्छु’, भूपिनका लागि किड्नी दिने घोषणा गर्दे उनका ७३ वर्षीया वुवा धनबहादुर राईले भनेका छन् ।

भूपिनलाई उपचार खर्च जुटाउन स्थानीय युवा जुटेका छन् । शनिअर्जुन उद्योग वाणिज्य सङ्घका महासचिव एवम् सचेत युवा क्लवका अध्यक्ष चतुर्भुज काफ्लेको संयोजकत्वमा मङ्गलवार ‘भूपिन राई बचाउ अभियान’ गठन गरिएको छ ।

अभियानमा वाणिज्य सङ्घकै कोषाध्यक्ष सुरेन्द्र साह, युवा समाजसेवी चन्द्र राना मगर लगायत रहेका छन् । अभियानले पत्रकार सम्मेलन गरी भूपिनलाई उपचारमा सघाउन सार्वजनिक अपिल गरेको छ । सङ्कलन भएको सहयोगलाई बैङ्कमा जम्मा गरिने र उपचारमा व्यवस्थित ढङ्गले खर्च गरिने संयोजक काफ्लेले बताएका छन् ।

उनका अनुसार सहयोग जम्मा गर्न प्रभु बैङ्कमा खाता खोलिएको छ । सहयोग सङ्कलन र बैङ्क खाता सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय झापासँग अनुमति समेत लिइएको छ ।

प्रभु बैङ्कको खाता नं. ०१५११६००८३५१७८०००००१ रहेको र विदेशमा रहेकाले स्वीफ्ट कोड ‘पीआरभीयुएनपीकेए’ समेत उल्लेख गरेर सहयोग जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ ।

खाता खोलिएको पहिलो दिन ५० हजार रुपैयाँ सहयोग सङ्कलन भएको अभियानका सदस्य सचिव चन्द्र राना मगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: