भूमाफियाले हत्याएको विर्तामोडको करोडौं मूल्यको गुठीको जग्गा २३ वर्षपछि फिर्ता

  प्रकाशित मिति
१५ माघ २०७७, बिहीबार ०९:२१


झापा, १५ माघ (रासस) : भूमाफियाको चलखेलका कारण नक्कली मोही खडा गरी व्यक्तिको स्वामित्वमा गइसकेको झापाको विर्तामोडस्थित दुर्गा गुठीको करोडौं मूल्यको दुई बिगाहा आठ कठ्ठा १८ धुर जग्गा २३ वर्षपछि गुठीकै नाममा फिर्ता भएको छ ।

विर्तामोड नगरपालिका वडा नं. ३ मा अनारमनी दुर्गा मन्दिरको नाममा राजगुठीमा दर्ता रहेको १३ बिगाहामध्ये ३ बिगाहा ३ कठ्ठा १८ धुर जग्गा २०५४ मङ्सिर ११ गते टिकादेवी बिमली, सूर्यकुमार विमली र रमेश महर्जनको नाममा कीर्ते मोही हक कायम भएको थियो ।

राजगुठीमा दर्ता रहेको सो जग्गामा मोही कायम गरिएका तीनै जना व्यक्ति वास्तविक मोही थिएनन् । राजगुठीका मोहीले शतप्रतिशत जग्गा पाउने कानूनी व्यवस्था भएको हुँदा जग्गा हत्याउने षडयन्त्रपूर्वक कीर्ते मोही खडा गरिएको थियो ।

लामो समयको विवाद र मुद्दामामिला भए पश्चात स्व. टिकादेवी बिमलीको छोरा केशवप्रसाद बिमलीले सोमवार झापाको भूमिसुधार तथा मालपोत कार्यालयमा उपस्थित भई गुठीको जग्गा फिर्ता गरिदिएका हुन् ।

नेपाल सरकारको सहसचिव समेत रहेका बिमलीले ‘हक छाड सनाखत’ प्रावधान अन्तर्गत सो जग्गा गुठीलाई नै फिर्ता गरिदिएको भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरका प्रमुख योगन्द्र दुलालले बताए ।

उनका अनुसार मालपोत कार्यालयले ‘हक छाड सनाखत’को जानकारी गुठी संस्थानमा पठाइदिने र जग्गाको स्वामित्व पूर्णरुपमा गुठीको नाममा फिर्ता हुनेछ ।

फिर्ता भएको जग्गा विर्तामोड नगरपालिका वडा नं. ३ को कित्ता नम्वर १२० को एक बिगाहा २ कठ्टा १० धुर, कित्ता नं. ८२२ को ६ कठ्ठा, कित्ता नं. ८२५ को १३ कठ्ठा र कित्ता नं. ८१५ को ७ कठ्ठा ८ धुर रहेको छ ।

सार्वजनिक सम्पत्ति हडपेको आरोप लागेकामध्ये केशवप्रसाद बिमलीले मात्र जग्गा फिर्ता गरेका छन् । सूर्यकुमार बिमली र रमेश महर्जनले जग्गा फिर्ता गरेका छैनन् ।

अनारमनी दुर्गा मन्दिरको गुठीको जग्गा फिर्ता गराउन स्थानीयवासीले संघर्ष समिति गठन गरेर अदालतमा मुद्दा समेत हालेका थिए । तर सर्वोच्च अदालतले २०६६ फागुन ९ गते कीर्ते मोहीकै नाममा मोहीहक कायम गरिदिएको थियो ।

त्यसपछि विर्तामोडका पत्रकार गणेश पोखरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिनुभएको थियो । आयोगले अनुसन्धान प्रक्रिया अघि बढाए लगत्तै नेपाल सरकारका सहसचिव समेत रहेका बिमलीले जग्गा फिर्ता गरिदिए ।

स्व. डोमालाल राजबंशीले दुर्गा मन्दिरलाई १३ बिगाहा जग्गा दान दिएपछि त्यही जग्गा गुठीको स्वामित्वमा वर्षौदेखि रहँदै आएको थियो । हाल सो जग्गामा स्थानीयवासीले डोमालाल रंगशाला निर्माण गरेका छन् । पत्रकार पोखरेलले व्यक्तिले नक्कली मोही खडा गरी हडपेका अरु जग्गा समेत गुठीको स्वामित्वमा रहनेगरी फिर्ता हुने अपेक्षा गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: