भूमाफियाविरुद्ध पत्रकारले गुहारे आयोग

  प्रकाशित मिति
२२ पुष २०७६, मंगलवार २०:५९


विर्तामोड । पत्रकार गणेश पोखरेलले भू–माफियाले कब्जा गर्न लागेको विर्ताबजारको दुर्गा मन्दिरको जग्गा फिर्ता गराउने पहलका लागि सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग गुहारेका छन् ।

उनले आयोगमा मङ्गलवार निवेदन पठाएर मन्दिरको जग्गा राजगुठीमार्फत भूमाफियाले हडपेको हुँदा सो जग्गा फिर्ता गराउन माग गरेका छन् ।

बिर्ताबजारमा रहेको दुर्गा मन्दिरको नाममा १३ बिगाहा १७ कठ्ठा जग्गा रहेको र त्यही जग्गामा डोमालाल रङ्गशाला समेत रहेको निवेदनमा उल्लेख छ ।

आयोग समक्ष पत्रकार पोखरेलले देवी गुठीको जग्गा हडप्ने भूमाफियाको मिलेमतोमा पूर्व मन्त्री, नेता, न्यायाधीश र कर्मचारी समेत ४४ जना रहेको किटानी गरेका छन् ।

(आयोगमा पठाएको निवेदनको महत्वपूर्ण अंश पढ्नुहोला ।)

देवी गुठीका लागि डोमालाल राजवंशीले दिएको लगभग १३ विगाहा जग्गा देशभरका भूमाफियाको चङ्गुलमा पुगेको छ । अहिले डोमालाल राजवंशी रङ्गशाला बनाउने भनेर केही स्थानीयले निरन्तर फुटबल सञ्चालन गर्दै आएका छन् । तर, त्यहाँको करिव चार विगाहा जग्गा भूमाफियाले आफ्नो नाममा पास गरिसकेका छन् ।

अनारमनीको डोमालाल रङ्गशालालाई आफ्नो निजी सम्पत्ती बनाउने भू–माफिया को–को हुन् र कसरी हडप्ने प्रपञ्च मिलाए भन्ने अहिलेको पुस्ता कमै जानकार छ । सरकारले सरकारी जग्गा निजी बनाउनेबाट फिर्ता गराउन अधिकार सम्पन्न सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्वन्धी जाँचबुझ आयोग पनि गठन गरेको छ । त्यो आयोगको काम जारी रहँदा आफुले थाहा पाएका तथ्य सार्वजनिक गर्नु एक नागरिकको कर्तव्य ठानेको छु ।

अनारमनी दुर्गा मन्दिरको नाममा रहेको हालको डोमालाल रङ्गशालाको जग्गामा २०५२–२०५३ सालदेखि नै भू–माफियाको गिद्धेदृष्टि पर्यो । सर्वप्रथम त उनीहरुले मन्दिरको जग्गा राजगुठीमा लाने निर्णय गरे । यो कामका मुख्य मतियार थिए तत्कालीन देवी गुठीका अध्यक्ष खेम मैनाली र गणेश ओली । उनीहरुले गुठीलाई राजगुठीमा लाने निर्णय गरे । जग्गा राजगुठीमा लाने र मोही हक किन्ने उनीहरुको योजना थियो । राजगुठीको जग्गाको मोहीले प्राप्त गर्ने कानुनी व्यवस्था थियो ।

त्यो योजनालाई गुठी संस्थानका तत्कालीन कर्मचारी हाल पनि नेपाल सरकारका सहसचिव केशव विमलीसहितको सहयोग थियो । विमलीलाई तत्कालीन प्रभावशाली नेता सीपी मैनालीको साथ रहेको तथ्य जग्गा बचाउन आन्दोलन गरेका अनारमनी गाउँ विकास समितिका तत्कालीन उपाध्यक्ष लोकबन्धु कन्दङ्वाले बताउनु भएको छ । मैनाली र विमली लगायतको समूहले सूर्यकुमार विमली, टीकादेवी विमली र रमेश महर्जनको नाममा मोही खरिद गराए ।

रङ्गशालाको कित्ता नम्वर १२० को एक विगाहा दुई कठ्ठा १० धुर, ८२२ को ६ कठ्ठा, ८२५ को १३ कठ्ठा र ८१५ को ७ कठ्ठा टीकादेवी विमलीको नाममा दर्ता गराएका छन् । कित्ता नम्वर ८२० को ८ कठ्ठा रमेश महर्जनको नाममा र ८१२ को ७ कठ्ठा सूर्यकुमार विमलीको नाममा खरिद गरिसकेपछि मात्र स्थानीयबासीले थाहा पाए, देवी मन्दिरको जग्गा भू–माफियाको कब्जामा जाँदैछ भनेर । उनीहरुले २०५४ सालमा सूर्य मगर र शान्तिदेवी खड्काका नामबाट मोही खरिद गरी जग्गा लिएको मालपोत कार्यालयको स्रेस्तामा उल्लेख छ ।

तत्कालीन देवी गुठीका खेम मैनाली र गणेश ओलीले गुठीलाई राजगुठीमा लाने निर्णय गरी श्रेष्ठ र विमलीहरुसँग मिलेर जालझेल गरेका थिए । स्थानीयबासीले सो थाहा पाएपछि लोकबन्धु कन्दङ्वाको संयोजकत्वमा आन्दोलन समिति र खगेन्द्र प्रसाईंको नेतृत्वमा संरक्षण समिति बनाएका थिए । आन्दोलनपछि श्रेष्ठ र विमलीहरु मोही नभएको र अख्तियारको दुरुपयोग गरेको भन्दै पहिले डोमालाल राजवंशीले मन्दिरलाई दान दिएको जग्गामा भू–माफियाले चलखेल गरेको ठहर गरी मालपोतले मोही रद्ध गरेको थियो ।

माफियाहरुले सुरुमा काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेका थिए । त्यहाँ उनीहरुले जितेपछि संरक्षण समितिले मुद्धा पुनरावेदन अदालत पाटन पुर्याएको थियो । पुनरावेदन अदालत पाटनले भू–माफियाको षडयन्त्र थाहा पायो र जनताको पक्षमा फैसला गर्यो । त्यसपछि उनीहरु सर्वोच्च पुगेका रहेछन् । तर, संरक्षण समितिका अध्यक्ष नेकपा मालेका तत्कालीन पोलिटब्यूरो सदस्य समेत रहेका खगेन्द्र प्रसाईंले थाहै पाएनन् वा थाहा पाएर पनि कसैलाई जानकारी दिएनन् त्यो भगवान भरोसाको विषय बनेको छ ।

एकै पटक जिल्ला मालपोत कार्यालयबाट मोही कायम भएको जानकारी पाउँदा अनारमनीबासी जिल्ल परे । पछि बुझ्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय गौरी ढकाल र राजेन्द्रप्रसाद कोइरालाको इजलासले २०६६ फागुन ९ गते नै अनारमनी दुर्गास्थान राजगुठीको नाममा रहेको जग्गा भन्दै सूर्यकुमार विमली, टीकादेवी विमली र रमेश महर्जनको नाममा मोही कायम गराउन फैसला गरेको रहेछ ।

अदालतको मुद्दा शाखाले मालपोत कार्यालय झापालाई फैसलाको तीन महिनापछि अर्थात् २०६७ वैशाख ३० गते मोही कायम गरिदिन पत्राचार गरेछ । मालपोतले त्यसको तीन महिनापछि मात्र तत्कालीन गाउँ विकास समितिलाई पत्राचार गरेको तथ्याङ्क छ ।

यो पत्राचारको श्रृङ्खलालाई नै षडयन्त्र मान्न सकिने आधार छन् । किन यस्तो ढिलो भयो ? पुनरावेदनमा मुद्दा लड्ने खगेन्द्र प्रसाईंले सर्वोच्चमा मुद्धा पुगेको किन थाहा पाएनन् ? कतै सीपी मैनालीको पार्टीको पोलिटब्यूरो सदस्य भएकाले त होइन ? गुठी संस्थानमा कर्मचारी हुनु भनेको गुठीको जग्गा हडप्नु हो ? होइन भने टीकादेवीको वारेस भएर मुद्धा लड्ने केशव विमलीलाई किन अख्तियार दुरुपयोगमा उभ्याइएन ? दुई वर्षअघि नै सर्वोच्चले मोही खरिद–विक्री नहुने फैसला गरेको थियो । पछि मोही खरिद–विक्री नहुने भए पनि मोही कायम भए फैसला फेरिएको अवस्थामा करोडौं कमिने भएकाले भू–माफिया लागि रहेका हुन् । अहिले रङ्गशाला आसपासको जग्गा प्रतिकठ्ठा ३० लाख रुपैयाँमा खरिदविक्री भइरहेको छ । जम्मा मन्दिरको जग्गा १३ विगाहा १७ कठ्ठा छ । यो धन देखेपछि तीन नेत्र भएको अवस्था हो ।

मुद्दा फैसला गर्ने न्यायाधीश राजेन्द्रप्रसाद कोइराला भद्रपुर–१५ का मान्छे हुन् । उनलाई यस्तो मुद्दाबारे जान्न के कठिनाई थियो ? मुद्धाको फैसला गरेको केही समयपछि कोइराला रिटायर भए । कतै त्यही कारण पत्राचारका लागि ढिलाइ भएको त होइन ? भूमिसुधार मन्त्री सीपी मैनालीका कार्यकर्ता, भद्रपुरका कोइराला न्यायाधीश, संरक्षण समितिका अध्यक्ष सीपीका कार्यकर्ता, विमलीजीहरु सीपीका परिवारका मान्छे अनि मुद्धाको फैसला के यो संयोग मात्र हो ? यो संयोग नै हो भने पनि परिबन्ध मिलेको छ । सीपीदेखि गणेश ओलीसम्म लामै ताँती छ । यस्ता माफियालाई नङ्ग्याउनु सामाजिक दायित्व पनि हो । माले नेता तथा सर्वोच्चमा मुद्दा पुगेको पत्तो नपाउने खगेन्द्र प्रसाईंको भनाइलाई मान्ने हो भने जग्गा हडप्ने प्रपञ्चमा ४४ जना छन् । तर, प्रसाईं सर ती नाम सार्वजनिक गर्न तयार हुनुहुन्न । उहाँ भूमिसुधार मन्त्री पनि यही बीचमा भइसक्नु भएको छ ।

अहिले विर्तामोड नगरका उपमेयर पवित्रा महतारा प्रसाईं त्यो जग्गा फिर्ता गराएर रङ्गशाला बनाउनु पर्छ भनेर लाग्नु भएको छ । उहाँले मेयर विदेशतिर गएको समयमा एउटा समिति पनि बनाउनुभयो । तर, मेयर आएपछि काम अगाडि बढेको छैन । र, केही पार्टीका गनेचुनेका मान्छै नै यो जग्गा खरिद गरी भू–माफियालाई पैसा दिनु पर्छ भनेर लागेको स्रोतको जिकिर छ । उपमेयरको पवित्र कामका लागि नगरबासी ऐक्यवद्ध छन् ।

नीतिले कोही खराव हुँदैन, नियतले खराव हुने हो । मन्दिरलाई डोमालाल राजवंशीले जग्गा दान दिए । अहिले उनका नाती रिक्सा चालक छन् । उनका हजुरबाले दान दिएको जग्गाको मोही किन्ने नेपाल सरकारका सहसचिव र कानुन व्यवसायी छन् । कस्तो विडम्वना । यो जग्गा राज्यको स्वामित्वमा फिर्ता गराई पाउँ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: