भूमिकाविहीन बनाइएको दलित सदस्यको गुनासो

  प्रकाशित मिति
२७ बैशाख २०७६, शुक्रबार १७:४६


   रेजिना गौतम

मेचीनगर । सङ्घीय संरचना कार्यान्वयनमा आएसँगै स्थानीयतहमा जनप्रतिनिधीहरु प्रतिनिधिमूलक रुपमा निर्वाचित भए । स्थानीय तहका प्रमुख, उपप्रमुखदेखि वडाका सदस्यसम्म प्रतिनित्वको सुनिश्चिततासँगै प्रायः सबै स्थानीय तहमा जातजाति र लिङ्गका हिसाबले समानुपातिक प्रतिनिधित्व रहेको पाइन्छ ।

यसरी निर्वाचित भएका जनप्रतिनिधिको वडामा भूमिका र कार्य अनुभवबारे झापाको मेचीनगर नगरपालिकाका दलित तथा कार्यपालिका सदस्यहरुले भने आफूहरु भूमिकाविहिन भएको गुनासो गरेका छन् ।

मेचीनगर नगरपालिकाकी कार्यपालिका सदस्य निर्मला परियार (निरु)ले गाउँ–गाउँमा आएको सिंहदरवारको सदस्य भएर अविर जात्रा गरिरहँदा के–के नै होला जस्तो लागेको भए पनि वास्तविकतामा त्यस्तो नभएको बताइन् । उनले भनिन्, ‘बैठकमा बस्ने ताली बजाउने र भत्ता थाप्नेभन्दा अरु काम भएको छैन ।’ वडाध्यक्षलाई कामको भारीमाथि भारी भएको तर कार्यपालिका सदस्यले केही नपाएको बताउँदै उनले भनिन् –‘वडाध्यक्षलाई भारीमाथि भारी छ, हामी चै सुन्ठी जस्तो सुकेर बस्नुपर्ने ।’ सानदार कुर्सी र एउटा किताब राखिदिएको छ, बैठकमा जाने भन्दा बाँकी केही काम पनि भएको छैन ।’


कोटा मात्रै पाएको जस्तो अनुभव भएको १२ नम्बर वडाकी दलित वडा सदस्य कृष्णमाया बराइलीले बताइन् । वडाध्यक्षले वास्तै नगरेको आरोप लगाउँदै उनले भनिन्,‘कोटा मात्रै पाएजस्तो लाग्छ, वडाध्यक्षले गन्नु हुन्न ।’ वडासदस्य भएपछि समुदायले आफूप्रति धेरै विश्वास गरेको भएपनि विश्वास अनुसारको काम गर्न नसकेको बराइलीले बताइन् ।

महिला सदस्य र दलित सदस्य दुवै दलितबाटै भएको मेचीनगर–९ की महिला सदस्य मिना गजमेरले वडामा धेरै उथल पुथल भएको बताइन् । जनप्रतिनिधिका समस्या कहाँबाट सुरु गर्ने र कहाँ अन्त्य गर्ने भन्ने थाहा नभएको बताउँदै भनिन्, ‘हामी दुवै दलित भएर होला, वडामा अरु जनप्रतिनिधिको मन जित्न सकेनौं होला ।’ फिल्डमा धेरै खटिनु परेपनि जस कहिले नपाएको उनले बताइन् ।

सोही वडाकी दलित सदस्य लक्ष्मी परियारले एकवर्ष अन्योलमै वितेको बताइन् । वडामा दलितका लागि छुट्टिएको बजेट दलित समुदायका लागि केही नगरी रकमान्तर हुने गरेको बताउँदै भनिन्, ‘केही थाहा थिएन, एकवर्ष अन्योलमै बित्यो, अहिले अलि अलि बुझ्दै जाँदा त्यस्तो रहेछ ।

मेचीनगरकै वडा नम्बर–११ की अञ्जु प्रसाई वर्देवाले कार्यपालिका सदस्यमा तीनजना दलित सदस्य निर्वाचित गरेपनि उनीहरुले काम नगरेको आरोप लगाइन् । कार्यपालिकामा के भइरहेको छ, दलितका लागि कति बजेट छुट्टिएको छ, त्यो हाम्रै हामीले पठाएका दलित सदस्यबाट थाहा पाउनु पर्ने हो तर खै हामीलाई कसले भनेको छ ? बरु दलित इतर सदस्यले भन्नुहुन्छ । आफूले चासो नराखि केही पनि नहुने बताउँदै बर्देवाले भनिन्, ‘चुप लागेर बसे केही हुँदैन, बोल्नु पर्छ, बुझ्नु पर्छ, लडाई गर्नुपर्छ र मात्रै पाइन्छ ।’ वडामा दलितका लागि बजेट छुट्याउन आफूले लडाई गरिरहेको उनको भनाई छ ।

वडा नम्बर–७ की सदस्य शान्तादेवी दर्जीले वडाको बजेट विनियोजनमा आफू पनि सँगै बस्ने गरेको बताइन् । दलितको बजेट दलित समुदायमै हुनुपर्छ भन्ने भएपनि दलितका विषयमा कार्यपालिकामा के –के छलफल भइरहेको छ भन्ने कुरामा जानकारी नहुने बताउँदै थपिन् ‘कार्यपालिकामा दलित समुदायकाबारे के छलफल हुन्छ भन्ने अहिलेसम्म थाहा पाएको छैन ।’

छलफलमा सहभागी दलित महिला सदस्यहरु विमला शिवा, कमला दर्जी लगायतका आ–आफ्नो धारणा राखेका थिए । नारी सञ्चार गृहको आयोजना तथा मेचीनगर नगरपालिकाको सहयोगमा हालै सञ्चालित महिला जनप्रतिनिधिहरुसंगको अन्तरक्रिया तथा पत्रकारिता तालिममा सहभागी मेचीनगर नगरपालिका भित्रका दलित सदस्यहरुले यस्तो धारणा राखेका हुन् । कार्यक्रम नारी सञ्चार गृहकी अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

लामो समयको संघर्षपछि प्रतिनिधित्वको अधिकार प्राप्त गरेका दलित महिला सदस्यले पदिय जिम्मेवारी प्राप्त गर्नका लागि आफूले पनि सशक्त हुन् जरुरी छ, भने उनीहरुको पद अनुसारको जिम्मेवारी दिन सम्बन्धित निकायले कञ्जुस्याँई गर्नुहुन्न ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: