चारआली । पैतालिस बर्ष अघि भूमिगत सेल्टरको रुपमा प्रयोग भएको झापा विद्रोहको एउटा ऐतिहासिक थलो ‘निचाझोडा सिमसार’मा युवा सङ्घ मेचीनगरले विस्तारित बैठक गरेको छ ।
आजभन्दा पैतालिस बर्ष अघि झापा आन्दोलनका योद्धाहरुले भूमिगत बैठकका लागि त्यसबेला घोर जङ्गलभित्र रहेको यस ठाउँलाई बैठक गर्थे ।
पर्यटकीय स्थलको प्रबर्धनका साथै ऐतिहासिक महत्वलाई आजको युवा पुस्तासँग जोड्ने उद्देश्यले निचाझोडमा बैठकको आयोजना गरिएको सङ्घका नगर अध्यक्ष सरोज मेहरा बताउँछन् ।
अध्यक्ष मेहराको अध्यक्षतामा भएको बैठकमा युवा सङ्घका जिल्ला सहसचिव सुमन थापा प्रमुख अतिथि रहेका थिए भने सो बैठकमा युवा सङ्घका जिल्ला सदस्यहरु प्रितम काफ्ले, सञ्जय मेचे, राजु धिमाल, क्षेत्रीय सचिव सञ्जीव कुमार थेबे, क्षेत्रीय अध्यक्ष रविन्सन थापा, त्रिदेव क्याम्पस स्ववियूका अध्यक्ष लक्ष्मी न्यौपाने, अनेरास्ववियू झापाका अध्यक्ष दुर्गा धमला र मेचीनगर वडा नंं. १३ का अध्यक्ष कृष्ण सिग्देल अतिथि थिए ।
बैठकले आगामी बैशाखको पहिलो साता राजनीति, साहित्य, सहकारी, शिक्षा, स्वास्थ्य, सामुदायिक बन, यातायात, सञ्चार लगायतका विभिन्न क्षेत्रलाई समेटेर मेचीनगरको समग्र विकास निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।
अन्तरक्रियामा यस क्षेत्रबाट केन्द्र र प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदहरुको समेत उपस्थिति रहने बताइएको छ ।
त्यसैगरी, आउँदो जेठ २ गते युवा सङ्घको स्थापना दिवसको अवसर पारेर नगरस्तरीय खेलकुदको समेत आयोजना गरिने बैठकले निधो गरेको छ ।
सङ्घका नगर सचिवालय सदस्य विकास निरौलाले सञ्चालन र अर्का सचिवालय सदस्य मानबहादुर तामाङले स्वागत मन्तब्य व्यक्त गरेको बैठकमा नगर अध्यक्ष मेहराले निचाझोडा सिमसारको ऐतिहासिक राजनीतिक महत्वको बारेमा प्रकाश पारेका थिए ।
नयाँ पुस्ताका युवाले झापा विद्रोहको ऐतिहासिक स्थलको बारेमा स्थलगत जानकारी पाउन् र अग्रजको योगदानलाई नभुलुन् भनेर यस स्थानमा बैठक गरिएको मेहराले मन्तब्यको क्रममा बताएका थिए ।
आगामी दिनमा सङ्घले आफ्ना बैठकहरु यस्तै पर्यटकीय स्थलहरुमा क्रमशः आयोजना गर्ने उनले बताए ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)