भेडीगोठको दाजुभाई

  प्रकाशित मिति
४ पुष २०७३, सोमबार ११:००


dscn3530

बितेको पाँच वर्षदेखि चरण जिन्दगीमा यात्रारत इन्द्रबहादुर र धनबहादुर सार्कीको यात्रा कहाँ र कसरी टुङ्गीने हो त्यो त भन्न सकिन्न । तर, वर्तमानको भेडीगोठ पल्टनमा आफ्नो दैनिकी गुजारिरहेका इन्द्र र धनको भेडीगोठे चरण यात्राको पाँच वर्षे शब्द चित्र यस्तो छ ।

इन्द्रबहादुर र धनबहादुर गाउँकै एक विद्यालयमा कक्षा २ र ३ मा पढ्थे । घरबाट १ घण्टाको दुरीमा पर्ने विद्यालय जाने गरेका उनीहरू पढेर भविष्यमा ठूलो मान्छे बन्ने मिठो सपना बुन्दै थिए । सावाँ अक्षरमात्र चिन्न थालेका यी दाजुभाई अहिले हिमाली भेगतिर भेडा डुलाउँदै हिड्छन् । ५ वर्ष अघि बुबा भक्तबहादुर सार्कीले १ सय ५० वटाको भेडागोठ किनेपछि दाजुभाईको पढाइमा पूर्णविराम लागेको थियो । बुबालाई भेडा हेर्नका लागि साथीका रुपमा दुवैजनाले किताब कलम थन्क्याएर हिमालतिर लागे । विस्तारै उनीहरूको समय र उमेर त्यहि भेडीगोठमा बित्न थाल्यो ।

ताप्लेजुङ्गको सुरुङखिम गाविसमा जन्मिएका उनीहरू अहिले हिमाली भेगतिर भेडीगोठ डुलाउँदै हिड्छन् । गर्मी मौसममा हिमाली क्षेत्रमा र हिउँदको जाडोमा बेसीतिर आफ्नो गोठलाई सार्दै उनीहरूको दैनिकी बितेको छ । बिहान उठेर इन्द्र भेडा गन्ति गर्न लाग्छन् भने भाई चिया खाजाको व्यवस्था गर्छन् । बेलुका चरनबाट फर्केका भेडा बिहान गन्ति गरेर मात्र चरनमा पढाउनु उनको जिम्मा हो । हुन त बुबा भक्तबहादुर पनि सँगै हुन्छन् । तर, गोडको सम्पूर्ण जिम्मा यिनै दाजुभाईमा छ ।

मङ्सिरको दोस्रो हप्ता ताप्लेजुङको कालीखोला गाविसमा पुग्दा एक साता अघि मात्र उनीहरूले आफ्नो गोठलाई बेसी झारेका रहेछन् । आफु जन्मेको त्यस क्षेत्रमा भेडीगोठको हुल देख्दा आफुलाई पनि हेर्ने उत्सुकताले भेडागोठमा पुगेँ । खुल्ला आकासमा एउटा त्रिपालको भरमा उनीहरूको बासस्थानको व्यवस्था रहेछ । मङ्सिरको मध्य जाडोको पनि कुनै प्रभाव देखिन्दैनथ्यो उनीहरूमा । तिनवटा बारीका डिलमा लस्करै बसीरहेका भेडाँसँग भाइहरूको फोटो खिच्न मैले आग्रह गरेँ । तर, किन हो उनीहरू फोटोको नजिक आउन चाहेनन् । दाजुलाई फकायो भाइ नमान्ने अनि भाईलाई फकायो दाजु भाग्ने । उनीहरूसँग यो जुहारी निकैबेर चल्यो । मेरो केही लागेन । सायद नौलो भएर पनि होला । बारम्बार आग्रह गर्दा पनि स्वीकार नगरेपछि कुराकानी गर्न थालेँ । उनीहरूले पहाडी लवजमा विस्तारै आफ्ना अतितलाई बेलीविस्तार लगाउन थाले । बुबाले भेडीगोठ किनेपछि आफुहरूले पढ्न छोडेको बताए । पढ्ने रहर भए पनि घरको आर्थिक अवस्थाका कारण बुबासँगै भेडागोठमा हिडेँका रहेछन् । यतिकैमा भाई धनबहादुरले मलाई प्रश्न तेर्साए । ‘तिम्रो घर कहाँ हो ? तिमी के गछौँ ? थुप्रो पढेका छौ ? हामीलाई किन यसरी फोटो खिच्न खोजेको ? फोटो बेच्नलाई हो ? उनको निरन्तरको जिज्ञासाले मलाई पनि चकित बनायो । मैले आफ्नो बारेमा सबै भनेपछि उनले फेरी थपे ‘पढ्न पाएको भए हामी पनि तपाई जस्तै हुने थियौँ होला है ?’

२ सय ५० वटा भेडाहरूको हुल लिएर लेकाली खर्कहरू बिखेचौर, हर्कटे, झोरेनी, थाम, रुपसिङ्गे, निकासलगायतका क्षेत्रमा उनीहरूको ओहोर दोहोर हुने गरेको छ । वर्षमा एक दुई पटक मात्र घर पुग्ने गरेका उनीहरू धेरै समय लेकतिर नै बिताउने गरेका छन् । चिसोका कारण दुबैका हात खुट्टा फुटेका देखिन्थे । ‘के गर्नु नगरी खान पुग्दैन’ इन्द्रबहादुरले भने–‘घरमा अझै दुई जना भाई र दुइ जना बहिनी छन् । उनीहरू स्कुल जान्छन् । बुबा एक्लैले गर्न सक्दैनन् । पढेर पनि काम गर्ने पर्छ । बोरु बेलैमा यसरी गर्न थालियो भने सम्पती त कमाइन्छ ।’

पाँच वर्ष अघिदेखि सुरु गरेको भेडीगोठबाट उनीहरू खर्च कटाएर बार्षिक १ लाखसम्म आम्दानी गर्दै आएका छन् । यहि कमाईबाट परिवारको गुजारा चलाउँछन् । पढ्ने उमेरमा भेडागोठको चरनतिर लागेका यी दाजुभाई भेडा गोठमै रमाएका छन् । आफ्नो भविष्यलाई यहि भेडीगोठमा बनाउने जमर्काे गरिरहेका छन् । ५ वसन्त भेडीगोठमा बिताएका उनीहरूका लागि हिउँदको जाडो र बर्खाको झरी कुनैको केही मतलव राख्दैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: