भैरहवाको पछिल्लो साहित्यिक यात्रा

  प्रकाशित मिति
१ फाल्गुन २०७४, मंगलवार ११:२६


   

मानिसको जीवन एउटा यात्रा रहेछ भन्ने निश्कर्षमा पुगेको छु  म। यो संसार यात्रा स्थल। अनि हामी यात्रा स्थलका यात्री। विहान उठ्यो, नियमित कार्य पूरा गर्यो, अनि दिनभरि ठेगिएका, नठेगिएका, आकश्मिक आइपर्ने वा योजनामा परेका अथवा पारिएका कार्यहरु  गर्यो बेलुका घर फर्कियो। दिनभरीको यात्रा पूरा भयो। दैनन्दिनको यात्रा भयो यो। दिनहरु व्यतित हुँदै जान्छन्, यात्राहरु थपिदै जान्छन्। जीवनभरि यो शिलशीला चलिरहन्छ। त्यसैले मैले जीवनलाई एउटा यात्राको रुपमा लिने गरेको छु। यात्रा पनि विभिन्न प्रकारका हुँदा रहेछन् । यसका उदेश्य पनि यात्राको प्रकृति अनुसार फरक फरक हुँदो रहेछ। व्यक्तिगत यात्रा, सामुहिक यात्रा , संस्थागत यात्रा आदि आदि। यात्रिने स्थान पनि यात्राको उदेश्य अनुसार फरक फरक हुँदो रहेछ। साहित्यिक, सांस्कृतिक, धार्मिक, सामाजिक , शैक्षिक ,भौगोलिक आदिआदि । यात्राका यिनै प्रकारहरु मध्येको विशुद्ध साहित्यिक यात्रमा पछिल्लोपटक अर्थात् २०७४ साल माघ ५ गते प्रश्रित प्रतिष्ठान नेपाल ,केन्द्रीय समितिको निमन्त्रणामा भैरहवासम्मको  दुईदिने यात्रामा यात्रिने सुअवसर प्राप्त भयो । त्यसो त यो भन्दा अघिल्ला वर्षहरुमा पनि भैरहवाको साहित्यिक यात्रा गरेकै  हो मैले। म लगायत अन्य साथीहरुले पनि। साहित्यिक यात्राको थालनीको श्रेय भने हामी झापाली साहित्यकारहरुले अग्रज साहित्यकार गुरु चूडामणि रेग्मीलाई दिनै पर्छ। साहित्यिक यात्राको संयोजनकारी र नेतृत्वदायी भूमिकाका निम्ति  गुरु चूडामणि रेग्मीको महत्वपूर्ण भूमिका रहेको छ।  भैरहवा, विराटनगर, इटहरी, इलाम, बेलबारी, काठमाण्डौ, रंगेली,सुरुङ्गा, गौरादह, पोखरा, चितवन, सुर्खेत लगायतका स्थानहरुमा गुरुकै नेतृत्वमा झापा, मोरङ, सुनसरी, इलाम , चितवन लगायत देशका विभिन्न स्थानका नवोदित तथा स्थापित स्रष्टाहरुलाई  ठूलै बसको व्यवस्थापन गरेर साहित्यिक सद्भाव यात्रामा लगेको धेरै वर्ष वितेको छैन। उहाँकै प्रेरणाले म पनि माथि उल्लेखित स्थानहरुमध्ये एकदुई स्थान वाहेकका सवै स्थानमा सहभागी भएको छु।यसपटक भने प्रश्रित प्रतिष्ठान नेपाल, पूर्व मेची शाखाका अध्यक्ष श्री विजय खरेलको नेतृत्वमा हाम्रो भैरहवाको यात्रा तय भएको हो।

प्रश्रित प्रतिष्ठान नेपाल, केन्द्रीय समितिको निमन्त्रणामा हामी त्यस तर्फ लागेका थियौं।  माघ ५ गते विहान ८ : ०० बजे नै खाना तयार भैसकेको थियो। खान खाएर गीताजी र म १० बजेतिर लाग्यौं मेरो अफिस तर्फ। अफिसमा कामको व्यवस्थापन गरेर त्यहाँबाट लागियो लेखनाथ पुस्तकालय । विजय  खरेल दाइलाई , फोन गरें। गाडी  लिएर सिधै लेखनाथ पुस्तकालय तर्फ आउन अनुरोध गरें । एकछिन् पछि काकरभिट्टाबाट विजय दाइ टुप्लुक्क  स्कार्पियो जीप लिएर आइपुग्नु भो।  गाडीमा कथाकार भुवन सुब्बा खरेल, कल्पना ओली र सुभद्रा भट्टराई पनि हुनु हुन्थ्यो। भुवन सुब्बा खरेललाई भैरहवामा सम्मान गर्ने कार्यक्रम थियो। गीताजीलाई वाई गर्दै म पनि गाडीमा थपिएँ। हाम्रो यात्राको अर्को सहभागी खगिन्द्रा खुसीलाई लिन हामी सरस्वती चोक पुग्यौं र उनलाई लिएर हाम्रो गाडी लेखनाथ चोकतिर लाग्यो। बाटामा स्रष्टा आरती पोखरेलको घर अगाडि हाम्रो गाडी टक्क रोकियो। आरतीजीले आफ्नो कृति “जीवनका भोगाईहरु” (संस्मरणात्मक निबन्ध सङ्ग्रह) एकप्रति खगिन्द्रा खुसीलाई दिनुभयो । आरती पोखरेल एक संघर्षशील महिला। एकल महिला भएर पनि संघर्ष गर्दै समाजमा स्थापित हुनु भएकी र साहित्यकारको रुपमा त सिंगो झापाले  चिनेको व्यक्तित्व ।  साथै कुशल अभिभावक पनि। “जीवनका भोगाईहरु” ले उहाँको संघर्षशील इतिहासका विभिन्न आरोह- अवरोहलाई उजागर गरेको छ। गजल लेखन र गायनमा पनि उत्तिकै  सिपालु  उनको “धरातलमा उभिएर” गजल सङ्ग्रह पनि प्रकाशित भैसकेको छ। आरतीजीको घर अगाडिबाट अघि बढ्दा करिव १०:३० बजेको थियो। विर्तामोड सूर्योदय टेलिभिजन जाने मार्ग अगाडि हाम्रो गाडी रोकियो। आरतीजीले दिएको किताब” धरातलमा उभिएर” सूर्योदय टेलिभिजनमा छोड्नु पर्ने रहेछ खगिन्द्राजीले। विजय दाइ वाहेक हामी सवै उत्रियौं र लाग्यौं सूर्योदय टेलिभिजनको भवन तर्फ। झापाको दोस्रो टेलिभिजन। स्थानीय स्तरमा भएका,घटेका समाच लगायत समाजका विभिन्न पक्षलाई समेटेर कार्यक्रमहरु प्रसारण गर्ने हुँदा स्थानीय झापावासीले मात्र हैन पूर्वाञ्चलमै लोकप्रियता हाँसिल गर्दै गरेको टेलिभिजन च्यानल हो सूर्योदय टेलिभिजन। हाम्रो साहित्यिक यात्राकी सहयात्री खगिन्द्रा यस टेलिभिजनबाट प्रसारण हुने”सुशेली  ” कार्यक्रमकी सञ्चालक पनि हुन।  त्यहाँबाट करिव ५/७ मिनेट पछि फर्कियौं र गाडी चढ्यौं। विर्तमोडबाट लाग्यौं हामी पश्चिम तर्फ। दमकबाट हेम अधिकारी थपिनु भयो हाम्रो यात्रामा। गाडीको बन्दोबस्त पनि उहाँले नै गर्नु भएको रहेछ। त्यही भएर पनि हाम्रो हिडाई केही ढिला हुन गयो।

दमकको गाडी भएका कारण दमकबाट काकरभिट्टा पुगेर चन्द्रगढी हुँदै फेरि दमक नै पुग्नु पर्ने भएकाले हामीले निर्धारण गरेको समय भन्दा निकै विलम्व भएको थियो। जेहोस् अब भने हाम्रो  साहित्यिक यात्राका सहभागीहरुको कोटा पूरा भयो। दमकबाट हामी हिंड्दा ११:३० बजेको  थियो। हाम्रो साहित्यिक यात्राका सहभागीहरुको संख्या थियो सातजनाको। गाडी नं  मे १ च ४५३९ र गरुजीको नाम थियो यामप्रसाद भट्टराई।  हेम सरले सुटुक्क भन्न भ्याई सक्नु भएको थियो हामीलाई। गाडी चलाउँने गुरुजी गाडी मालिक हुन्। राजनीतिक हिसावले पनि सचेत र जिम्मेवार मान्छे।  सायद गाडी चालकलाई चालककै रुपमा व्यवहार गर्दा कतै तलमाथि पो हुने हो कि भनेर हेम सरले सचेत गराएको हुनु पर्छ भन्ने ठान्यौं हामीले। जे भए पनि गाडी चलाउँने मान्छेलाई सम्बोधन गर्ने प्रिय शब्द रहेछ गुरु र अझ आदरभावले भन्दा गुरूजी। वास्तवमा गाडी चलाउँनेलाई त ड्राइभर भन्नू पर्थ्यो। तर आजभोलि ड्राइभरलाई ड्राईभर भन्न हुदैन, खलासीलाई खलासी भन्न हुदैन। ड्राईभरलाई गुरुजी, खलासीलाई सहयोगी वा सह- चालक, अन्धालाई दृष्टिविहीन ।

यस्ता धेरै शब्द छन्  धेरै विशेषण छन् जुन सिधाभाषामा भन्न मिल्दैन आजभोलि। गुरुजीको अर्थविस्तार भएर अहिले धेरै क्षेत्र ओगटेको पाइन्छ। पुजा गर्ने पण्डित पनि गुरुजी, व्याशासनमा बसेर पुराण भन्ने व्यासाचार्य पनि गुरुजी । स्कुल कलेजका सरहरु पनि गुरुजी। हुँदा हुँदा साथीसाथी विच पनि गुरुजी भन्न थालिएको सुनिन्छ। जेहोस् गुरुजी शव्दले  व्यापकता पाउनु खुसीकै कुरा मान्नु पर्ला। हामी साहित्यक यात्राका सहभागीहरुमध्ये सुभद्रा भट्टराई र हेम अधिकारी मात्र मेरालागि नयाँ सहयात्री । अरु सवै हामी यस अघिका यात्रामा संगसंगै यात्रा गरिसकेका छौं।  यसको अर्थ उहाँहरुको आनीबानीका वारे एकआपसमा परिचित भए पनि नयाँ सहयात्री दुईजनाका वारेमा हामी अनभिज्ञ नै थियौं।  संगत नगरुञ्जेल कसैलाई  चिनिदैन पनि। तर जब संगत गरिन्छ, घुलमिल भइन्छ त्यसबेला मात्र एकआपसका गतिविधि थाहा पाईन्छ। दमकबाट पश्चिम लागेपछि गाडीमा निकै रमाइला कुराकानी हुँदै गए। इटहरी पुग्दा १२:३० वजि सकेको थियो। भुवन सुब्बा  विर्तामोड देखि नै भोक लाग्यो भन्दै हुनु हुन्थ्यो। हामी विहान ८ बजे खाना खानेहरु पनि भोकाइ सकेका थियौं। गुरुजी पनि भोकै हुनु हुन्थ्यो। हामी पाँचजनाले न्यू मितेरी होटलमा खाना खायौं । हेम अधिकारी, कल्पना ओली र सुभद्रा भट्टराई भने अर्कै होटलमा चिया खान लाग्नु भयो।  साधा भात १५०/- र मासुभात ३७०/- रहेछ। तर होटलको सेवा भने निकै सुस्त थियो। होटल सञ्चालकले सेवाग्राहीको सेवा सुविधामा विशेष ध्यान पर्याउनु पर्ने देखियो। चुस्त दुरुस्त र छरितो ढंगले सेवा प्रवाह गर्नु पर्ने सुझाव  पनि दिएँ मैले होटल सञ्चालकलाई। खाना खाई सकेर गाडी भएतिर आउँदा प्रलेस सुनसरीका अध्यक्ष  राम प्रसाद खरेलसंग पनि भेट भयो। उहाँसंग संक्षिप्त परिचय पश्चात् हामी लाग्यौं गन्तव्य तर्फ। यतिबेला दिनको ठीक १ बजिसकेको थियो । इटहरीबाट पश्चिम तर्फ बढ्दै गएपछि गाडीभित्र रमाईलो वातावरण बन्दै गयो।

त्यसो त गाडीमा मिठामिठा गीतहरु वजिरहेका थिए। तिनै गीतहरूमा स्वर थप्तै ताली बजाउँदै अझ रमाईलो वातावरण बनाउँदै गयौं हामी। हाम्रो यात्राका सहभागी कल्पना ओली र सुभद्रा भट्टराईको वार्तालाप सुन्दा यस्तो लाग्थ्यो कुनै पनि बेला हात मिसामिस हुन्छ । सुरुमा त म छक्क परें। एकअर्कालाई तँ तँ र म म गर्दै झगडा गरेकै जस्तो वार्तालाप सुनेर। सुभद्रा मेडम बोल्न थालेपछि अरुले त बोल्ने मौकै नपाउने।  कल्पना मेडम र सुभद्रा मेडम बाल्यकाल देखिकै साथी भएकाले गहिरो प्रेम र  आत्मियता रहेछ। यही प्रेम र आत्मियताले गर्दा उहाँहरु  यस किसिमको व्यवहार गर्नु हुँदो रहेछ। उहाँहरुको  तँतँ र मम मा रत्ति पनि स्वार्थीपन झल्कदैनथ्यो। उहाँहरुको वार्तालाप सुन्दा कहिलेकाहीं त यस्तो लाग्थ्यो उहाँहरुको विचमा अर्को साथी बसाउँनु पर्छ। कुटाकुट नै पर्छ  कि जस्तो। जति अघि बढ्दै गयौं हामी पनि त्यति नै बानी पर्दै गयौं।  यी दुई दिदी- बैनीको चाला यस्तै रहेछ भनेर हामीले खासै महत्व दिन छाड्यौं ।  उहाँहरुको वार्तालापले हाम्रो यात्रालाई रमाइलै बनाउँदै थियो। हरेक मान्छेको आ-आफ्नै विशेषता हुन्छ, गुण र दोष हुन्छ। कसैको कसैसंग मिल्दैन।  सुभद्राजीमा भने अचम्मकै विशेषता पाएँ मैले, सायद अरु साथीहरुले पनि।  हाम्रो गाडी निरन्तर अघि बढीरहेको छ। खै कहाँ पुगेका थियौं कुन्नी हामी ,उहाँको फोनको घण्टी बज्यो। फोन रिसिभ गर्दै बंगाली भाषामा मजाले गफ गर्नुभो। कुराकानीका क्रममा थाहाभो, वंगलादेशबाट एउटा साहित्यिक कार्यक्रममा  ५/६ जनाको समूह लिएर आउनु भनी निमन्त्रणा पो आएको रहेछ।  उहाँको कमेडियन तरिकाले बोलेर सवैलाई हसाउने कला साँच्चै अचम्मकै रहेछ। उहाँले भनेका रोचक पिसले हाम्रो यात्रालाई भरपुर मनोरञ्जन दिईरहेको थियो। यमराजले चित्रगुप्तलाई दुईदिन कक्र्याउनेमा बसेर आउनु भनी अराएको  र यमराजले नै चित्र गुप्तलाई मेरो कोठाको सुनको चावि दिएर पठाउ भनेको सम्झदा अहिले पनि हाँसो रोक्न गाह्रो पर्छ। चन्द्रनिगाहपुरमा पुगेर हामीले नास्ता गर्यौं। निकै चिसो थियो वातावरण। आलु र मटरको तात्तातो  रसयुक्त सब्जी , प्याज र हरियो खुर्सानीको स- साना टुक्राहरु र धनियाँको मिश्रणले निक‌ स्वादिष्ट बनेको थियो सब्जी। त्यसमा मुरैको मर्याक मर्याक।  नाकबाट हल्का पानी र स्याँक स्याँक।साँच्चै स्मरणीय थियो त्यो नास्ता।

हामी त्यहाँबाट झण्डै आधा घण्टाको विश्राम पछि फेरि बढ्यौं अगाडि।  कहिले थकाईले शिथिल  महसुस गर्दै त कहिले पुन: सक्रिय भएर गीत,  चुट्किला, कुराकानी, हँसाई सवैको समिश्रणमले तन र मनलाई सन्तुष्टि दिदै हामी निरन्तर अघि बढी रह्यौं। भैरहवाबाट बेलाबेला डा. कपीलदेव लामिछानेको फोन आइरहन्थ्यो।। जति ढिलो भए पनि बास बस्न भैरहवा नै आइपुग्नु पर्छ भनेर उहाँले जोड दिनु हुन्थ्यो।  विहान लाग्ने बाक्लो हुस्सुका कारण गाडी कुदाउँन समस्या पर्ने भएर रहेछ। डा . लामिछाने आयोजक संस्था अर्थात् प्रश्रित प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष। आमन्त्रित अतिथिहरुको व्यवस्थान गर्ने जिम्मा पनि उहाँकै भएकाले विशेष ख्याल गर्दै हुनु हुन्थ्यो हाम्रो। बेलुकाको खान चितवनमा खाने सल्लाह भयो । सुभद्राजीले चितवन निवासी  आफन्तलाई फोन गरेर खानाको व्यवस्था मिलाउनुभो।  हामी लगभग नौ बजे चितवन पुग्यौं। सुभद्राजी मार्फत् खाना अर्डर गरेको होटल   अगाडि गाडी रोकेर हामी होटल भित्र पस्यौं। “फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन ” भने जस्तै भयो मलाई। होटल भित्र छिरेर वासरुम सोधेको होटलको निकै पछाडिपट्टी रहेछ। बाटो पनि हिलो, बत्ती पनि छैन। मोवाइल बालेर दु:खले काम चलाएँ। अरु साथीहरु खास गरि महिला साथीहरुलाई झन् कति कठिन भो होला। त्यसपछि होटल भित्रका खाने कोठाहरु हेरेको त्यस्त‌ै फोहोर।त्यहाँ त एकछिन पनि बस्न मन लागेन। हेम अधिकारी सर त अघि नै निस्किएर अगाडिपट्टीको लुम्बिनी होटलमा गैसक्नु भएको रहेछ। विजय दाइ  र खगिन्द्रा खुसी पनि त्यही होटलमा गइसक्नु भएको रहेछ।  म पनि पुगें। गाडी गुरुजी पनि पुग्नु भयो ।हामी पाँचजनाले त्यहाँ खाना खायौं। सवैजनाले शुद्ध शाकाहारी खाना खायौं। खाना अर्डर गरेको होटलमा भुवन सुव्वा, कल्पना ओली र सुभद्राले खानु भयो। अर्डरको खाना भएकाले हामी पाँचैजनाको खानाको पैसा त्यहाँ पनि तिर्यौं। हामी पाँचजनाले दुईठाउँमा  खाना खाएको र नखाएको पनि पैसा भुक्तानी गरेर रेकर्ड बनायौं। धन्न सुभद्रा भट्टराईको हप्की खानु परेन। त्यहाँबाट भैरहवा तर्फ प्रस्थान गर्दा रातको १०:०० बजिसकेको थियो। रातको दशबजे हाम्रो गाडी आफ्नै लय र गतिमा अघि बढी रह्यो। गुरुजी निदाएर बाटालाई नै साइड दिनु हुने हो कि भन्ने डरले हामी एकदुईजना भने कुराकानीमै मस्त रह्यौं । अन्य साथीहरु भने निदाए वा निदाएक अभिनय गरेको त्यो त थाहा भएन तर निदाए जस्ता चाहिं देखिन्थे। खासगरी सुभद्राजी , कल्पनाजी र म भने कुराकानीमै व्यस्त भयौं। हाम्रो कुराकानीले गुरुजी पनि चनाखो बन्नु  हुनेछ भन्ने हाम्रो मान्यता थियो। सानोगाडी, अडेस पनि राम्री लाग्न नमिल्ने , निकै कष्टकर थियो हाम्रो यात्रा यद्यपि भित्री मनदेखि नै हामी यात्रिएकाले र सकारात्मक सोचका साथ अघि बढेकाले काँडै टेके पनि फूललाई टेकेको अनुभूति गरेका थियौं हामीले।भुमही भन्ने स्थानबाट बुटवल तर्फजाने मार्ग छाडेर बाईपासको बाटो लाग्यो हाम्रो गाडी। यो बाटो अलिक छोटो र भिडभाड कम हुने हुदो रहेछ। निकै अगाडि पुगेपछि एउटा इन्डियन नम्मरको कार रोकेर कारको ड्राइभरले सुनौली बोर्डर जाने बाटो सोध्यो। हामीले भैरहवाट जान्छ भन्यौं।

फेरि त्यो ड्राइभरले भैरहवा त मलाई थाहा छ भन्यो। यतिकैमा हाम्रो गाडी अगडि बढी सकेको थियो। सुभद्राजीले शंका गर्दै त्यो गाडीले एक्सिडेन्ट गराएर भागे जस्तो छ। त्यसको बोली र व्यवहार एकदम अतालिएको थियो भन्नु भो। तिमी सिआडीमा जागिर खानु पर्ने मान्छे , कसरी पो टिचर भयौ हौ ? भन्दै विजय दाइले भने पछि सवै गलल हाँस्यौं। यसरी रमाईलै रमाईलो वातावरणमा हाम्रो यात्रा निरन्तर अघि बढिरह्यो।  रातको १:०० बजे हामी भैरहवा पुग्यौं। भैरहवा त पुग्यौं तर हामीलाई बस्ने ब्यवस्था मिलाइएको होटलमा पुग्न बाँकी थियो। भैरहवा वसपार्कबाट ५० मिटर जति दक्षिण “होटल क्यास्टल”मा बासको व्यवस्था मिलाईएको  कुरा डा. कपील लामिछानेले अगाडि नै जानकारी गराउँनु भएको थियो। तर  बाक्लो हुस्सु र रातको बेला भएकाले होटल पत्ता लगाउन निकै मुस्किल पर्यो। झण्डै हामी बाटो भुलेर बुटवल तर्फ लागेको। डिउटीमा रहेका प्रहरीलाई र होटलको स्टाफलाई  फोन गरेर बल्ल बल्ल पुग्यौं  होटलमा। होटलमन पुर्याउने कार्यमा हेम सर र सुभद्राजीको गतिलै मिहेनत परेको थियो। गाडीबाट उत्रिएर पैदल हिंडेर होटलको खोजी गर्दा   खुट्टाको राम्रै कसरत भएको हुनु पर्छ। जेहोस् होटलमा पाइला टेक्दा रातको २: बजिसकेको थियो। होटल राम्रै रहेछ। कोठाहरु ठिकै थिए। सरसफाई पनि राम्रो थियो। होटलका भाइहरुले ‎तातोपानीको व्यवस्था मिलाई दिए।  विजय दाइ र म ३०५ नं कोठामा, गुरुजी र हेम सर ३०४ नं कोठामा, खगिन्द्रा र कल्पना ओली  ३०२ नं र भुवन सुब्बाजी र सुभद्राजी ३०३ नं कोठामा बसेका थियौं।  हामी कोठामा बसेको एकछिन पछि काठमाण्डौबाट आउनु भएका साहित्यकार मित्र रमेश शुभेच्छुक हाम्रो कोठामा टुप्लुक्क आउनु भयो। उहाँ मोदनाथ प्रश्रितहरु संगै आउनु भएको रहेछ काठमाण्डौबाट। उहाँ पनि यही होटलमा बस्नु भएको रहेछ। एकछिन गफिए पछि हामी सुत्यौं घुप्लुक्क ओछ्यानमा । धन्न विजय दाइ घुर्नु हुँदो रहेनछ। नत्र रातभरी जाग्रम बस्नु पर्ने हुन्थ्यो। यसरी यात्रा गर्दा धेरैचोटी म ननिदाई जाग्रम बसेको छु । कारण संगै एउटै कोठामा सुतेको साथी घुरेर हैरान खेलाउँ छन्। मलाई भने घुरेको आवाज कानमा परेपछि निद्रादेवी कोसौं टाढा भाग्छिन्। अनि कसरी निदाउनु र! जेहोस्, यहाँ भने सुरुमा निदाउन सकस परे पनि एकछिन पछि मजाले निद्रा लाग्यो। विहान ब्यूझन त ५ बजे नै ब्यूँझिएँ। तर ७ बजे मात्र ओछ्यानबाट उठ्ने काम भयो। अरु साथीहरु पनि ७ बजे उठिसक्नु भएको रहेछ। तल्लो तलामा झरेर रिसेप्सनमा चिया कफी खायौं। चिसो निकै थियो। हुस्सु ठीकठीकै लागेको थियो। विशान १० बजे खाना खाएर लाग्यौं हामी कार्यक्रम स्थलतिर। त्यो भन्दा अगाडि रमेस शुभेच्छुलाई पर्खियौं।

पाल्पाली स्रष्टा मेरा मित्र राम प्रसाद अर्याल पनि पाल्पाबाट हामी बसेकै होटलमा खाना खान आउनु हुन्छ। उहाँलाई पनि संगै लिएर आउन डा. कपीलदेव लामिछानेले फोन मार्फत् जानकारी गराएकाले रामजीले खाना खाउञ्जेल पर्खियौं। गाडीमा नौजना भन्दा बढी नअटाउँने, मान्छे ११ जना भैयो। यो अवस्था देखेपछि हेमसर र म हिंड्दै अघि बढ्यौं। अलिक माथि पुगेपछि एउटा अटोरिक्सा चढेर कार्यक्रम स्थल निर्माण व्यवसायी संघको सभाहल पुग्यौं। केही चिरपरिचित, केही अपरिचित धेरैजनासंग भेटघाट, सम्वन्ध नवीकरण गर्ने अवसर प्राप्त भयो। चन्द्रगढीका मित्र , वर्तमान साहित्य प्रतिष्ठान,चन्द्रगढीका संस्थापक अध्यक्ष ,हाल नेपाल लेखक संघका केन्द्रीय महासचिवको भूमिकामा रहनु भएका प्रिय मित्र रत्नमणि नेपालजीसंग पनि भेटघाट भयो त्यहाँ। रत्नमणिजी निकै सक्रिय र केही गर्नु पर्छ भन्ने उत्साही कान्छे। चन्द्रगढीमा उहाँको नेतृत्वमा वर्तमान साहित्य प्रतिष्ठानले निकै काम गरेको कुरा यहाँका अग्रज व्यक्तित्वहरु बताउँछन्। उहाँ लगायत अग्रज स्रष्टाहरु , समकालीन साथीहरु र नवोदित मित्रहरुसंग फोटो लिने काम पनि गरियो। निकै रमाईलो वातावरण थियो त्यहाँ। कार्यक्रम सुरु हुँदा ११:४५ भैसकेको थियो। भित्तामा आँखा पर्यो।  आकर्षक व्यानर टाँगिएको थियो। व्यानरमा लेखिएको थियो-” महिला साहित्य विमर्श,स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम।

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष डा. कपीलदेव लामिछानेको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाको उपमेयर उमा काफ्लेको प्रमुख आतिथ्य, डा. मोदनाथ प्रश्रित, आख्यानकार कविता पौडेल र सिद्धार्थनगर नगरपालिकाको मेयर हरि प्रसाद अधिकारीको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा पाँचजना नारी स्रष्टाहरुलाई उहाँहरुले नेपाली साहित्यको श्रीबृद्धिमा पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै प्रतिष्ठानले सम्मान गरेको थियो। गंगा लिगल( भैरहवा) , दुर्गा पौडेल( तिलोत्तमा), सुशीला प्रधानाङ्ग( काठमाण्डौ), सुनकुमारी( सोनु) गुरुङ( भैरहवा) र भुवन सुब्बा खरेल( झापा)लाई सम्मान गरिएको थियो।कार्यक्रममा शालीग्राम पौडेलको खोजमूलक कृति “रुपन्देहीका प्रवन्ध काव्य” र कविता पौडेलको ” अजिमा” उपन्यासको लोकार्पण गरिएको थियो।  नेपाली साहित्यको क्षेत्रमा रुपन्देहीको राम्रै योगदान रहेको कुरा मैले झापा बसेर पनि त्यहाँको साहित्यिक गतिविधिलाई अध्ययन गर्दा थाहा पाएको छु।यहाँको पटक पटकको साहित्यिक यात्रामा आउँदाको अनुभव र यहाँको साहित्यिक गतिविधिलाई हृदयङ्गम गर्दा पनि त्यो कुराको पुष्टि हुन्छ। प्रसङ्ग पुस्तक लोकार्पणको आउँदै थियो । कविता पौडेलको उपन्यास” अजिमा” को समीक्षा नारायण प्रसाद पन्त र रमेस शुभेच्छुकले र शालीग्राम पौडेलको ” रूपन्देहीका प्रवन्ध काव्य”को समीक्षा प्रेम तिवारीले गरेका थिए ।

कृति लोकार्पण र समीक्षाको पाटो सकिए पछि मन्तव्य र विचविचमा रचना वाचनको कार्यक्रम पुरानै शैली हो। पुरानै परम्परा हो। प्रमुख अतिथि उमा काफ्ले,विशिष्ट अतिथि हरि प्रसाद अधिकारी, डा. मोदनाथ प्रश्रित( हाम्रो संस्कृतिमा नारीको स्थान विषयमा) अधिकारी , विशिष्ट अतिथि कविता पौडेल, समाजसेवी ओमकार गौचन लगायतको मन्तव्यले दर्शक स्रोतालाई उर्जा दिइरहेको थियो।  हरेक महिनाको पहिलो शनिवार गर्ने गरिएको सिद्धार्थ साहित्य परिषदको नियमित कार्यक्रम” सिद्धार्थ साहित्य संगम” पनि मिसिएको कुराको जानकारी भित्तामा सजिएको व्यानरले बोलिरहेको थियो।  त्यसैगरी सहयोगी संस्थाको रुपमा सिद्धार्थ नगरपालिका, सिद्धार्थ साहित्य परिषद् भैरहवा,  भैरहवा सञ्चार गृह र सिद्धार्थ सामुदायिक समाज रहेको जानकारी पनि नबोलीकनै भित्तामा सजिएका व्यानरले बताईरहेका थिए। सिद्धार्थ साहित्य संगमले गर्ने रचना वाचन कार्यक्रम यही कार्यक्रममा राखिएका कारण  विचविचमा गीत, मुक्तक कविता र गजलले कार्यक्रमको रौनकतामा वृद्धि भैरहेको महसुस हुन्थ्यो। दर्शक स्रोताको वाह! वाह! र तालीलको गडगडाहटले कवि, गायकहरुलाई फुरुङ्ग पारेर हौस्याई रहेको भान हुन्थ्यो। झापाका देवीचरण भण्डारीको गीत र मुक्तक, झापाकै कवि हेम अधिकारीको व्यङ्गात्मक कविता, भैरहवाका कवि रमेश समर्थनको चोटिला मुक्तकहरु, झापाकी जोशिली कवि सुभद्रा भट्टराई, भैरहवाका युवाकवि गिरिश मगर ,  लक्ष्मी शर्मा, राधा पाण्डे, हृदय लेकाली, डीवी पुन, खगेन्द्र प्रसाद बस्याल, कविता रिजाल र राम प्रसाद अर्याल लगायतका कविहरुको आकर्षक प्रस्तुतिले कार्यक्रमलाई चरमोत्कर्षमा पुर्याई रहेको भान हुन्थ्यो।

सम्मानित नारी स्रष्टाहरुको बेजोडको प्रस्तुति , ओहो! कति रमाईलो पल थियो त्यो।  झापाली  सञ्चारकर्मी, कथाकार, छन्दवादी कवि सुमधुर स्वरकी धनी खगिन्द्रा खुसीजीकी  फुपुको निधनको खवर ६ गते विहान ओछ्यानबाट नउठ्तै आएछ खुसीजीलाई । दुर्गापुर निवासी ६८ वर्षीय खगिन्द्राजीकी एकमात्र फूपू तारा नेपाल आगोले जलेर मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार गरिरहँदाको अवस्थामा दु:खद् निधन भएको थाहा पाएर हाम्रो सिंगो टिम पनि दु:खी बनेको थियो। जीवन र मृत्यु न  कसैको बसमा हुन्छ न कसैले चाहे जस्तो हुन्छ ,न त चाहेर नै हुन्छ आखिर जस्तो सुकै परिस्थिति आइपरे पनि त्यसको सामना  गर्नु  वाहेक अर्को विकल्प नै के पो हुन्छ र! परिस्थ आफैले बुझ्नु वाहेक अर्को विकल्प हुदैन भनेर सम्झायौं हामीले खगिन्द्राजीलाई। आफ्नी फुपुको निधनले भावविह्वल बनेकी खुसीलाई त्यहाँको साहित्यिक कार्यक्रमको रमाईलोले छुन सकेन। सायद त्यही भएर होला उहाँको मनले कार्यक्रममा सहभागी बन्न चाहेन। उहाँ र अर्की झापाली स्रष्टा कल्पना ओली लुम्बिनी तर्फ लाग्नु भयो।उहाँहरुलाई भैरहवाकै स्रष्टा तथा मेरा मित्र तिलक लामिछानेले लुम्बिनी घुमाएर ल्याउने कार्यमा आफ्नो वाहन सहित सहजीकरण गर्नु भएछ। हामीले पनि कार्यक्रममा बस्नै पर्छ भनेर खुसीजीलाई कर गर्न सकेनौं। सायद जो कसैलाई पनि यो अवस्थामा यस्तै हुन्छ होला। कार्यक्रममा सहभागी भएर  स्रोतालाई आफ्नो सुमधुर गलाले लठ्ठ पार्ने प्रस्तुति सहभागीहरुले सुन्न नपाउँदा हामीलाई भने नून विनाको सब्जी जस्तो खल्लो अनुभूति भयो। उहाँ संगै झापाली अर्की कवि कल्पना ओली  पनि लुम्विनी तर्फ लागेकाले उहाँहरुको प्रस्तुति हुन सकेन। हामी झापाली टोली कार्यक्रम समापन हुञ्जेल बस्न भ्याएनौं।  बेलुकाको ४ बजिसकेको थियो।हामी झापा फर्कनै पर्ने भएकाले हतारहतार विदा मागेर होटल तर्फ लाग्यौं। बेलुकाको ठीक पाँचबजे त्यहाँबाट झापा तर्फ लाग्यौं। हिजो भैरहवा तर्फ जाँदाको जसरी नै गाडीमा विभिन्न किसिमका कुराकानी र ठट्यौली गर्दै आइयो। हेटौडाबाट निकै पूर्व ३ नं पुल भन्ने ठाउँमा हाम्रो गाडी खानाको लागि रोकियो। हेम अधिकारी , खगिन्द्रा खुसी र मैले भुटेका फूल मकै र चिया  खायौं। अरु साथीहरुले कसैले के कसैले के खानुभो। त्यहाँबाट हामी प्रस्थान गर्दा रातको १०:३० बजेको थियो। जति अगाडि बढ्यो उति बाक्लो हुस्सु। गाडी कुदाउन नै कठिन। ठाउँठाउँमा त गाडी नै रोक्नु पर्ने अवस्था। ठाउँठाउँमा  त नाईट गाडीको उज्यालोको भर पर्नु पर्ने अवस्था। हुस्सुको कारण गाडी गुरुजीलाई निकै गाह्रो परेको थियो।  विहान  ४ बजे वरमझिया ,सप्तरी आइपुगेपछि झण्डै १ घण्टा विश्राम गरियो। गाडी गुरुजीले एकछिन भए पनि आँखाको बीस मार्नुभो।  विहान ५ बजे त्यहाँबाट प्रस्थान गर्यौं हामी। दमकमा हेम अधिकारी सर उत्रिनुभो। त्यसपछि हाम्रो गाडी पुन: अगाडि बढ्यो। विर्तामोडबाट चन्द्रगढी तर्फ मोडियो हाम्रो गाडी। लेखनाथ चोकबाट दक्षिण मोडिएर सरस्वती  चोकमा खगिन्द्राजीलाई छोडेर हामी फेरि मोडियौं लेखनाथ चोक तर्फ।  त्यहाँबाट धनुषमोड हुँदै चाराली तर्फ लाग्यो हाम्रो गाडी। मेरो घर आउन अब धेरै टाढा थिएन। मेरो घरको अगाडि गाडी रोकेर म उत्रिएँ। कल्पना मेडम र सुभद्रा मेडम पनि मेरो घर सम्म पाउ कष्ट गर्नुभो। वासरुममा फ्रेस भएर फर्किनुभो। एककप चिया खाउँ भन्न पनि नमिल्ने अवस्थाले भने मलाई दु:खी बनायो। बाटासम्म गएर उहाँहरुलाई वाईवाई गरें। यतिबेला दिनको ११ बजिसकेको थियो। छोटो समयको लामो साहित्यिक यात्रा टुंगि सकेको थियो। तर काकरभिट्टाका साथीहरुको भने अझै केही समयको यात्रा बाँकी नै थियो। जेहोस् हामी ७ जनाको सानो तर खारिएको साहित्यिक टोलीको भैरहवा सम्मको यात्राले अझै सकृय र सिर्जनशील बनाउनेछ भन्ने कुरामा हामी सवैलाई आशावादी बनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: