भोकतिर्खा बिर्सेर लकडाउनको फ्रन्टलाइनमा प्रहरी

  प्रकाशित मिति
१७ चैत्र २०७६, सोमबार २१:२१


लकडाउनका बेला ज्येष्ठ नागरिकलाई उद्धार गर्दै प्रहरी ।                                       फोटो : नेपाल प्रहरीको आधिकारिक फेसबुक पेज ।

भद्रपुर । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले लकडाउनलाई झन् कडा तुल्याउँदै लगेको छ । तर लकडाउनमा ड्युटी गर्नैपर्ने बाध्यतामा रहेका फ्रन्टलाइनका सुरक्षाकर्मी (प्रहरी)ले भने न समयमा खान र न आराम नै गर्न पाएका छन् । सारा मानिस घरभित्र बस्दा उनीहरु तातो सडकमा चाउचाउको भरमा दिनभर ड्युटी गरिरहेका भेटिन्छन् ।

सोमवार भद्रपुर, चन्द्रगढी, पृथ्वीनगर, चारआली, धुलावारी र विर्तामोडमा अनुगमन गर्दा सामान्य मास्क र लौरो बोकेर तातो घाममा सडकमा उभिएका नेपाल प्रहरीको निकै कष्टकर अवस्था देखियो ।

‘जोखिम त हामीलाई पनि उत्तिकै छ,’ मेचीनगरस्थित राजमार्गमा लौरो बोकेर गस्तीमा खटिएका एक प्रहरी जवानले भने–‘नागरिकको सेवा गर्ने कसम खाएर जागिरमा आएका हौं, यतिबेला आम मानिसले लकडाउनका कारण कष्टकर जीवन भोगिरहेका छन् । आफ्नो कुरा सोच्नै भ्याएका छैनौं ।’

उनीहरुसँग सामान्य मास्क थियो । जिद्दीवाल कतिपय नागरिकलाई सम्झाउँदा व्यहोर्नु परेको हैरानी प्रहरीको असिन्पसिन् अनुहारमा प्रस्ट झल्किन्थ्यो । समयमा भात र खाजा खान नपाउने अवस्थाबाट गुज्रिएका प्रहरीहरु तैपनि शान्त थिए । यसलाई उनीहरुले कोरोनाले निम्त्याएको चौतर्फी सङ्कटका रुपमा बुझेका थिए ।

मेचीनगरको इटाभट्टामा प्रहरीको सानो बिट छ । केही मात्र प्रहरी खटाइएका छन् त्यहाँ । तर उनीहरु साँघुरो कार्यालय कोठाको कुनामा पकाएको खाना खुला ठाउँमा बेञ्चमै बसेर खाइरहेका हुन्छन् । खाना खाँदै ड्युटी गर्नु पर्ने भएका कारण उनीहरुले बिट बाहिरै खाना खानुपर्ने अवस्था आएको हो ।

जनकपुरमा लकडाउनमा जनता सम्झाउँदै प्रहरी ।

राजमार्ग र सहायक सडकहरुमा लकडाउन पालना गराउन आफ्ना सम्पूर्ण ९२ वटा युनिटलाई परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला बताउँछन् ।

सङ्कट र विपत्का बेला भरपर्दो साथी बनेर आम नागरिकको सुरक्षा र हितमा प्रहरी समर्पित रहँदै आएको बताउँदै उनले कोभिड १९ को सङ्क्रमणबाट जोगिने विषयमा स्वयम्समेत सजग रहन ड्युटीमा खटिने प्रहरीलाई निर्देशन दिइएको जानकारी दिए ।

मास्कको अभाव नहोस् भनेर जिल्ला प्रहरी कार्यालय झापाले आफ्नै कार्यालयमा मास्क उत्पादन गरिरहेको छ । ती मास्क जिल्लाभरका प्रहरी युनिटहरुमा पुर्याइएका छन् । ड्युटीमा खटिने प्रहरीको भात न पानीको अवस्था देखेर दाताहरु समेत दयालु बन्न थालेका छन् ।

झापाको प्रहरीलाई जीवन विकास बैङ्कले ६०० कार्टुन पिउने पानी, ३० कार्टुन बिस्कुट र ८० कार्टुन चाउचाउ सहयोग दिएको छ । मनषा थाइफुड्सले ६० कार्टुन मगमग चाउचाउ र एसियन थाइफुड्सले ५० कार्टुन रमपम चाउचाउ दिएको छ । बुट्टाबारीका सरसफाई अभियन्ता गणेश ढुङ्गानाले विभिन्न दाताबाट जुटाएको पिउने पानीको बोतलहरु फिल्डमै पुगेर प्रहरीलाई बाँड्दै आएका छन् ।

सोमवार दिउँसो लकडाउनको अनुगमनमा पृथ्वीनगर पुगेका प्रहरी उपरीक्षक कोइरालाले हरेक युनिटलाई स्यानिटाइजर, पिउने पानीको कार्टुन, बिस्कुट र चाउचाउ वितरण गरे ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको नेतृत्वमा रहेको अनुगमन टोलीमा सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सु, प्रहरी उपरीक्षक कोइरालालगायत थिए ।

‘तपाईहरुका समस्याहरु के के छन् ?’ भन्दै अनुगमन टोलीले सडक र बजारमा खटिएका प्रहरीहरुलाई सोधेको थियो । ड्युटीमा खटिएका प्रहरीबाट समेत प्रजिअले लकडाउनको अवस्थाबारे जानकारी लिएका थिए ।

अनुगमनका हिँडेका प्रहरी उपरीक्षक कोइरालाले जुन युनिटमा पुग्यो त्यहाँ पिउने पानीको कार्टुन, चाउचाउको पोको र स्यानिटाइजर दिएर ड्युटीका प्रहरीलाई हौसला थपेका थिए । ड्युटीको आलोपालो मिलाएर खाना खाने गरे तापनि उनीहरुले बजार र पसल बन्द भएका कारण दिउँसो खाजा नास्ता खान पाउने अवस्था छैन । त्यसबेला यही चाउचाउ र बिस्कुट उनीहरुको भोक मेटाउने भोजन बन्ने गरेको छ ।

कोरोना भाइरसलाई परास्त गर्न प्रहरी र सरकार मात्रै लागेर नपुग्ने प्रमुख जिल्ला अधिकारी राना बताउँछन् । ‘नागरिक समाजले समेत सघाउने र हातेमालो गर्ने बेला हो यो,’ प्रजिअ राना भन्छन्–‘लकडाउनमा आम नागरिकलाई घरभित्रै बसिदिएर सहयोग पुर्याउन लगाउन स्थानीय सरकारको बढी भूमिका हुनुपर्छ ।’

प्रहरी उपरीक्षक कोइरालाले समेत स्थानीय सरकार र टोल विकास समितिहरुको पहलमा लकडाउनको अवस्थामा सर्वसाधारणको घरघरमा अत्यावश्यक सामग्री पुर्याउने व्यवस्था गरिनु पर्नेमा जोड दिए ।

उनका अनुसार धेरैजसो स्थानीय सरकारले जनप्रतिनिधि र टोल विकास संस्थाका अगुवाहरुलाई परिचालन गरेर लकडाउनलाई शतप्रतिशत सफल बनाइरहेको बताए । प्रहरीले टोल विकास संस्थाहरुलाई भरपूर सहयोग पुर्याइरहेको उनको भनाई छ ।

लकडाउन लम्बिदै जाँदा मानिसहरुलाई भोक र अभावले सताउने भएको हँुदा टोलटोलमा खाद्यान्नलगायतका अत्यावश्यक सेवा पुुर्याउन अहिले नै तयारी गरिसक्नु पर्ने अवस्था आएको प्रहरी उपरीक्षकको भनाई छ । उनका अनुसार टोलहरुमा खाद्यान्न लगायतका सामान ढुवानी गर्नका लागि प्रशासनले सवारी अनुमति पत्र दिने भएको छ ।

सुरुका दिनहरुमा झापामा लकडाउन उल्लङ्घन निकै चिन्ताजनक थियो । तर पछिल्ला दिनमा सर्वसाधारणमा चेतना आउन थालेको र लकडाउनको पूर्ण पालना हुन थालेको सरकारी अनुगमन टोलीको ठहर छ ।

।। अम्बिका भण्डारी ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: