भोकमरी हुन नदिन पालिकैपिच्छे राहत कोष

  प्रकाशित मिति
१७ चैत्र २०७६, सोमबार १२:०९


मेचीनगर, १७ चैत । झापाका अधिकांश स्थानीय सरकारले कोरोना भाइरसको रोकथाम र विपन्न परिवारलाई भोकमरीबाट बचाउन आकस्मिक राहत कोष स्थापना गरेका छन् । कोषमा प्रत्येकले १० लाखदेखि ५० लाख रुपैयाँसम्म बजेट छुट्याइएको छ ।

मेचीनगर नगरपालिकाले सबैभन्दा बढी ५० लाखको राहत कोष स्थापना गरेको जनाएको छ । नगरप्रमुख विमल आचार्यले विपन्न परिवारको लगत सङ्कलन भइरहेको जनाउँदै लकडाउनमा विचल्ली भएका अतिविपन्न व्यक्तिहरुलाई राहत कोषबाट सहयोग पुर्याइने बताएका छन् ।

कनकाई नगरपालिकाले १५ लाख, शिवसताक्षी नगरपालिकाले १० लाख, दमक नगरपालिकाले ३० लाख र कमल गाउँपालिकाले १० लाखको आकस्मिक राहत कोष स्थापना गरेका छन् ।

झापाका सबै पालिकाले कोषबृद्धिका लागि सहयोग गर्न चाहने व्यक्ति वा सङ्घसंस्थालाई नगद वा जिन्सी जे भए पनि राहत कोषमै जम्मा गर्न अनुरोध समेत गरेका छन् । शिवसताक्षी, कनकाई र दमकका जनप्रतिनिधिहरुले एक महिनाको तलब र भत्ता आकस्मिक राहत कोषमै जम्मा गर्ने घोषणा गरेका छन् ।

‘अब पहिलो प्राथमिकता स्वास्थ्यमा हो, मानिस बाँचे मात्र विकास चाहिन्छ,’ शिवसतासी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा भन्छन्–‘लकडाउन बढ्ने सम्भावना छ, यस्तो अवस्थामा विपन्न समुदायलाई भोकमरीबाट बचाउनु पर्छ । आकस्मिक कोषको बजेटले नपुगेमा विकासको बजेट समेत खर्च गर्छौं ।’

विर्तामोड नगरपालिकाले आकस्मिक राहतका लागि भनेर छुट्टै कोष स्थापना गरेको छैन । तर सङ्कट गहिरिदै गएको हुँदा विकासका लागि छुट्याएको सबै बजेट कोरोनाको रोकथाम, प्रतिरोध र गरीव वर्गको सहयोगका लागि खर्च गरिने नगरप्रमुख ध्रुव शिवाकोटीले बताए ।

स्थानीय तहले यतिबेला पालिकाभित्र रहेका अति विपन्न समुदायको लगत सङ्कलन गर्न टोल विकास समितिलाई परिचालन गरिरहेका छन् । ‘विपन्न जनतालाई भोकले मर्न दिदैनौं,’ कमल गाउँपालिकाकी प्रमुख मेनुका काफ्ले भन्छिन्–‘दैनिक गुजारा चलाउन मुश्किल हुने मजदूरको लगत सङ्कलन गरेर राहत वितरण गर्छौ ।’

उनले गाउँपालिकाभित्रका विभिन्न संघसंस्थाले कोषमा रु. १ लाख ५० हजार जम्मा गरिसकेको जनाउँदै एकद्वार प्रणालीबाट राहत वितरण गरिने बताइन् ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले १४० वटा टोल विकास समितिमार्फत विपन्नहरुको लगत सङ्कलन भइरहेको जनाउँदै जनप्रतिनिधिको उपस्थितिमा एकद्वारबाट राहत बाँडिने जानकारी दिए ।

शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले व्यक्ति तथा संस्थाहरुले आफुखुशी राहत वितरण गर्दा पक्षपात हुने गुनासो आउने भएको हुँदा आफ्नो नगरमा नगरपालिकाको एकद्वार प्रणालीबाट मात्र राहत वितरण गरिने बताए ।

झापाको मेचीनगरका प्रमुख राजनीतिक दलका नेताहरु सम्मिलित मेची अभियानले लकडकाउनका बेला असहायलाई खाद्यान्न वितरण गर्ने उद्देश्यले फुड बैङ्क स्थापना गरेको छ ।

मेची अभियानका संयोजक रहनुभएको मेची उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष विजय डालमियाले नेकपा, नेपाली काङ्ग्रेस, राप्रपा, सङ्घीय समाजबादीलगायतका दलको नगरप्रमुखहरु अभियानमा सदस्य रहनुभएको जानकारी दिए ।

उनले दाताहरुबाट स्वेच्छिक रुपमा प्राप्त भएको नगद तथा खाद्यान्न फुड बैङ्कमा राखिने र वास्तविक विपन्नलाई वितरण गरिने बताए । फुड बैङ्कमा देश विदेशमा रहेका नेपालीहरुले सहयोग घोषणा गर्न थालिसकेका छन् ।

।। अम्बिका भण्डारी ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: