भोकै बस्न नदिन मेचीनगरमा ‘फुड बैङ्क’

  प्रकाशित मिति
१८ चैत्र २०७६, मंगलवार १४:५०


यो फोटो स्थानीय होइन । विदेशको फुडबैंकको हो ।

मेचीनगर । बहत्तर सालको महाभूकम्पका बेला राहत प्रदान गरेर सबैको विश्वास जितेको मेची अभियानका संयोजक विजय डालमियाले लकडाउनका कारण मेचीनगरका कोही पनि खान नपाएर भोकभोकै बस्नु नपरोस् भन्ने उद्देश्यले अहिले फेरि अभियानलाई ब्युँताइएको बताएका छन् ।

चीनको उहान सहरबाट विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण नेपालमा फैलिन नदिन सरकारले देशभर लकडाउनको कडा कदम चालेको छ । लकडाउनको म्याद आठ दिनका लागि थपिएसँगै दैनिक ज्याला मजदुरी गरेर विहान बेलुकाको हातम्ुख जोड्दै आएका अति विपन्न परिवारको भने बिचल्ली हुने स्थिति उत्पन्न भइसकेको छ ।

मजदुर वर्गको स्थिति भयावह देखेपछि मेचीनगरमा हुँदा खाने वर्गले रोगले भन्दा छिटो भोकले मर्नु नपरोस् भनेर मेची अभियान सुरु गरिएको संयोजक डालमियाको भनाई छ ।

अभियानले तीन वटा काम गर्ने देखिएको छ । पहिलो संकटका बेला नगरका प्रमुख राजनीतिक दललाई एउटै छातामुनि ल्याएर साझा दृष्किोण र सामूहिक प्रयासमा हातेमालो गर्न प्रेरित गरेको छ । मेचीनगरका नेकपा, नेपाली कांग्रेस, राप्रपा र समाजबादी पार्टीका प्रमुखहरुलाई अभियानले सदस्य बनाएको छ । बैठक र अन्य गतिविधिमा सबैका दलका नेताहरु सँगै हुने गरेका छन् ।

दोस्रो काम भनेको फुड बैङ्कको स्थापना हो । अभियानले स्थापना गरेको फुड बैङ्कमा दाताहरुले दिएको खाद्यान्न र नगद जम्मा गरिन्छ । छोटो अवधिमै अभियानलाई ९२ हजार ४ सय ९९ रुपैयाँ सहयोग प्राप्त भइसकेको छ ।

महाविनाशकारी भूकम्पका बेला अभियानले ‘हामी जुट्छौँ, फेरि उठ्छौँ’ भन्ने नारा ल्याएको थियो । अहिले कोभिड–१९ सँग जुध्न पनि अभियानले सोही नारा अघि सारेको छ ।

तेस्रो काम भनेको विपन्नलाई बाँडिने राहत हो । महामारीका बेला राज्यले मात्र सहयोग दिएर पुग्दैन । मेची अभियानले करोडको हाराहारीमा सहयोग प्राप्त गर्यो भने त्यसले हुँदाखाने गरीव वर्गलाई राहत पुर्याउन नसोचेको सहयोग पुग्ने निश्चित छ । सर्वदलीय संरचना भएको हुँदा अभियान आम विश्वासको बलियो जगमा उभिएको छ ।

दैनिक ज्याला मजदुरी गरेर खाने विपन्न व्यक्तिहरुलाई फुड बैङ्कमार्फत खाद्यान्न वितरण गर्न थालिएको संयोजक डालमिया बताउँछन् ।

सरकारले लकडाउन सुरु गरेको पहिलो दिन नै मेची अभियानले मेचीनगर–७ स्थित राजा राजवंशीका परिवारलाई १० दिनसम्म पुग्ने खाद्यान्न वितरण गरेको थियो । राजवंशी परिवारलाई चामल, दाल, नुन, खानेतेल, चिउरा, चाउचाउ र आलु वितरण गरिएको थियो ।

सोमबार आफैले उत्पादन गरेको एन–९५ मास्क ५० थान र १० थान पीपीई मेचीनगर नगरपालिकालाई अभियानले हस्तान्तरण गरेको अभियानका संयोजक डालमिया बताउँछन् ।

फुड बैङ्कका लागि मेची अभियानलाई देश–विदेशमा रहेका नेपालीहरुले रकम सहयोग गरिरहेका छन् ।

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ३० हजार र हाल अमेरिका बस्ने प्रसन्न सङ्ग्रौलाले २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

त्यस्तै, बिर्तामोड निवासी प्रहरी नायव निरीक्षक अनुप निरौलाले ५ हजार ५ सय, सुरेश उप्रेतीले ५ हजार, शुभचिया सहकारी बाहुनडाँगीले ११ हजार र बिर्तामोडका एसपी प्रसाई (श्याम)ले १५ हजार ९ सय ९९ रुपैयाँ सहयोग गरेको उनले बताए ।

मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिजय डालमियाको संयोजकत्वमा अभियानको १९ जना सदसयीय समिति निर्माण भएको छ ।

फुड बैङ्कमा सहयोग गर्ने दाताको सङ्ख्या दिनदिनै बढिरहेका छन् । संयोजक डालमियाले सामाजिक सञ्जाल, युट्युब, इन्टरनेट, फोन तथा मेसेजमार्फत शुभेच्छुकहरुले सहयोग गर्ने वचन दिइरहेको बताए ।

डालमियाको संयोजकत्वमा हाल १९ जनाको समिति निर्माण भएको छ । जसको सदस्यमा माधव अर्याल, इन्द्रबहादुर बुढाथोकी, शुशिल आचार्य, प्रकाश भण्डारी, राजु पोखरेल, ओमप्रकाश खापुङ, गोपाल तामाङ, राजु कार्की, शङ्कर थापा, ऋषिराज तिम्सिना र दिपक पोखरेल छन् ।

त्यसैगरी, मोहन निरौला, सन्तोष आचार्य, ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल, तुलसा दङ्गाल, सागर खनाल र भुमिका सुब्बा सदस्य छन् ।

संयोजक डालमियाले ७ जनाको सचिवालय कमिटी रहे पनि अभियानमा सहभागी हुने महानुभावहरुको नाम थपिदै लाने जानकारी दिए ।

मेचीनगर भित्रका विपन्न परिवारलाई मात्र राहत वितरण गरिने अभियानको भनाई छ । मेचीनगर नगरपालिकाको खाद्यान्न व्यवस्थापन समितिको कार्यदलसँगको सहकार्यमा विपन्न मजदुरका परिवारलाई राहत वितरण गरिने बताइएको छ ।

सरकारले घरभित्रै बस्न, मास्क अनिवार्य लगाउन, साबुन पानीले हात मिचिमिची धुन, हात नमिलाउन र विदेशबाट कोही आए जानकारी गराउन आग्रह गरेको छ । विदेशबाट नेपाल आएका ५ जना नेपालीलाई यसको सङ्क्रमणले भेटेको छ ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: