भोको पेटलाई ठिङ्ग्याएर लकडाउन हुँदैन सरकार

  प्रकाशित मिति
६ बैशाख २०७७, शनिबार १३:०४


पत्रकारहरु पनि लकडाउनमा छन् । घरलाई नै कार्यालय ठानेर पत्रकारिता कर्म गरिरहेका छन् । जरुरी कामबाहेक फिल्डमा जानु पनि हुँदैन । लकडाउनमा बस्दा मनमा अनेक विचार उम्रिन्छन् । प्रस्तुत छ लोकतन्त्र पोस्टका कार्यकारी सम्पादक अर्जुन कार्कीको लकडाउन विचार :-

अर्जुन कार्की

लकडाउन पालना गर्ने विषयमा तीन वटा कुरालाई जोड दिन यहाँ सान्दर्भिक ठानेको छु ।

पहिलो : प्रहरी एक्लैले लकडाउनको पालना गराउन सक्दैन ।

दोस्रो : नागरिक जागरुक हुन जरुरी छ ।

तेस्रो : राज्य वा स्थानीय सरकार गम्भीर बन्न आवश्यक देखिन्छ ।

यी माथिका तीन वटा विषयलाई मनन् गर्ने हो भने पहिलो कुरा प्रहरीको भूमिका महत्वपूर्ण छ । उसको देशमा शान्ति, सुरक्षा तथा अमनचयन कायम राख्नु पर्ने दायित्व छ ।

सरकारले दिइएका निर्देशनहरु अक्षरस् पालना गर्नु सुरक्षाकर्मीको जिम्मेवारीमा पर्छ । सरकारले लकडाउन गरेको वैशाख १० गते एक महिना पुग्दैछ । यस अवधिमा नागरिकले लकडाउन उल्लङ्घन गरेका घटना प्रशस्त छन् । खुल्ला सीमाका कारण प्रहरीलाई लकडाउन पालना गर्न झन् सकस छ ।

विदेशबाट आएका, लागूऔषधको धन्दा चलाउने लगायतका लकडाउन उल्लङ्घन गर्ने व्यक्तिहरुले गर्दा प्रहरीलाई चोरपुलिस खेले जस्तै भएको छ । नागरिकसँग सहकार्य नगरेसम्म सडकमा जिम गराएर, उठबस तथा घण्टौँ उभ्याएर, भाटा हानेर, हिरासतमा राखेर लकडाउनको पालना गर्नेवाला छैनन् ।

दोस्रो कुरा नागरिकमा चेतनाको कमी हो वा जानी जानी त्यसो गरेको । चीनको वुहान सहरबाट विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणले दुई सय भन्दाबढी सानाठूला देशहरुलाई हायलकायल बनाएको छ ।

ठूला देशहरुले एक महिनादेखि एकवर्षका लागि लकडाउन थपेको थप्यै छ । घरमा नै बस्नु कोरोनाबाट बच्ने उत्तम एकमात्र उपाय सबै मुलुकले ठानिरहेका छन् । यी कुराहरुबाट नागरिक जानकार छैनन् भन्न सकिदैन । हाम्रा नागरिकहरु पनि प्रविधिमैत्री हुँदै गइरहेका छन् ।

विश्वमा भइरहेका हरेक घटनाको पलपलमा हेर्ने र थाहा पाउने गरेका छन् । कोरोनाले हजारौं नागरिकको ज्यान गइसकेको छ भने लाखौंको सङ्ख्यामा नागरिक सङ्क्रमित छन् । उनीहरुको अवस्था के हुने हो, भगवान भरोसामा छन् ।

तेस्रो कुरा यी सब कुराबाट सरकार पक्कै बेखवर भने छैन । हुन त हाम्रो देश सानो छ । स्रोत साधन सीमित छ । यो महामारीलाई सरकारले चाहेर पनि रोक्न सक्दैन । बडेमानका देशहरुलाई त हम्मे हम्मे भएको छ । हाम्रो देशमा सायद भगवानकै बास छ होला ।

अहिलेसम्म सङ्क्रमण भएकाको स्थिति समेत सुधार हुन थालेको छ । केहि सङ्ख्यामा सङ्क्रमित थपिए पनि यसलाई हामीले सकारात्मक नै लिनु पर्छ । नत्र अहिले विदेशको हिसाव गर्ने हो भने हाम्रोमा भुईचालो आए जसरी सोरपटार गरेर लान्थ्यो ।

निश्कर्ष :
नागरिकले लकडाउनको पालना एक महिना होइन एक वर्षसम्म पनि गर्छन् । तर, गाठी कुरा यहिँनेर छ । मलाई त लाग्छ कि नागरिकले जानी जानी लकडाउन उल्लङ्घन गरिरहेका छन् ।

म त भन्छु–सरकार नै विरामीको वेडमा छ । किनकि जनताको आवश्यकता अझै बुझ्न ढिलो गरिरहेको छ । सरकारले घोषणा गरिदिनु पर्यो कि जनतालाई भोकै राख्दिन, जति महिना लकडाउन भए पनि घरैमा बस्नु रासन पानीको व्यवस्था गरदिन्छु । अहिलेको सरकारसँग त्यो भन्ने आँट छ, हिम्मत छ, यो मेरो सरकारलाई प्रश्न ? यदि त्यो भन्ने आँट छ भने अब ढिलो नगरौँ ।

अहिलेसम्मको स्थिति ठिकै छ । यो क्रमिक रुपमा बिग्रिदै गएको खण्डमा भविश्यमा यसले विकराल रुप लिने कुरामा दुइमत छैन । नागरिकले जसरी सरकारले पनि पर्ख र हेर को रणनीति लिएको स्पष्ट बुझिन्छ । नागरिक भटाभट मर्न थाल्छन् अनि देखाजाला भन्ने स्थितिको पर्खाइमा सरकार बसेको छ ।

यो नसोच्नु कि सरकार दातृ निकायले सहयोग दिन्छ र सबै ठिक भइहाल्छ भनेर । उनीहरुको स्थिति पनि डामाडोल भइसकेको छ । आर्थिक सङ्कट सबै मुलुकमा हुन थालेको छ । सरकारले यसका लागि पूर्व तयारी बेलैमा गर्न जरुरी छ । आफ्नो औकातले भ्याएसम्मको तयारी गर्न अब ढिला नगरौँ ।

चीनबाट शुरु भएको कारोना भाइरस फेरि चीनमा नै आएर टुङ्गिने खतरा छ । भारतको स्थिति हेर्दा झन् जटिल बन्दै गएको अवस्था छ । छिमेकी देशहरुको अवस्था हेरेर पनि सरकार अब चुप लागेर बस्ने बेला छैन । नागरिकलाई घरबाट निस्कन नदिन गाँस, बास र कपासको ग्यारेन्टी सरकारले गरिदिनु पर्यो ।

नत्र इटालीको स्थिति भोग्न अब नेपाली पनि तयार हुनु पर्छ । सरकारले अहिले चलाखी गरेको देख्दा लाग्छ, नागरिकसँग अकुत सम्पति छ, घरमा बसेर खाइहाल्छन् भन्ने सोचाई सरकारको छ भने त्यो विडम्बना हुनेछ । त्यो दुःखद घटनाको पर्खाइ सिवाय अरु केहि हुनै सक्दैन ।

सरकारको चलाखी पनि कस्तो ताजुवकै छ भने नागरिकको उद्योग धन्दा, कलकारखाना, यातायात, पसल तथा बजार बन्द देखीदेखी ठूला बैङ्कहरुलाई चाहिँ सहुलियत दिने साना तथा मझौला बैङ्कलाई वास्ता नगर्ने । घरवेटीलाई कोठा भाडा नलिनु, इन्टरनेट, विजुली, खानेपानी, खाद्यान्न, शैक्षिक क्षेत्र लगायतमा सहुलियत गर्ने केहि दिन अघि सरकारले निर्णय गर्यो । तर, यसको कार्यान्वयन भएको छैन ।

यो त सम्भ्रान्त वर्गका लागि मात्र सुविधा गरेको रहेछ भन्ने बुझियो । इन्टरनेट, विजुली, खानेपानीको महशुलको छुट कुनै पनि कार्यालयमा आजका मितिसम्म दिइएको छैन ।

ऋण लिएर घर बनाएको, साना तथा मझौला उद्योग र पसल सञ्चालन गरेका र मजदुरको पीडा कसले बुझिदिने सरकार ? कोठावालासँग भाडा नउठाए कहाँबाट बैङ्कको किस्ता र व्याज तिर्ने घर मालिकले, कोठा भाडा लिएकाको पनि पसल बन्द छ, उनीहरुले घर मालिकलाई भाडा कसरी तिर्ने होला ?

दैनिक ज्यालादारी गरेर खाने वर्गले कसरी परिवार पाल्ने यी यावत समस्या लकडाउनका बेला देखिएका ज्वलन्त घटना हुन् । निजी क्षेत्रका बैङ्क तथा सहकारीहरुले आफ्ना सदस्यले जम्मा गरेको पैसा झिक्ने बेलामा सिलिङ तोकिदियो । बैङ्क तथा सहकारीले आफ्ना सदस्यले जम्मा गरेको पैसा पाउन सकेनन् ।

सञ्चालक समितिका पदाधिकारीहरुका लागि विभिन्न शिर्षकमा भ्रमण भत्ता लगायत अन्य थप सेवा सुविधा र मोटो रकमको वजेट छुट्याइएको हुन्छ तर, त्यहिका शेयर सदस्यलाई एक महिनाका लागि सापटी भनेर न्युन रकम दिइन्छ, लकडाउनका बेला त्यो पैसा कसरी तिर्ने हुन ?

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र विशेष कर्मचारीहरुले यस्तो बेलामा ज्यान दाउमा राखेर अहोरात्र खटिरहेका छन् । उनीहरुको स्वास्थ्यप्रति सरकारले पटकै ध्यान दिइएको पाइँदैन । उनीहरुलाई चाहिने अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन सकेको अवस्था छैन ।

सरकारले नागरिकलाई सबै सेवा सुविधा दिएर घरैमा रासनपानीको व्यवस्था गरे लकडाउनको उल्लङ्घन कदापि हुने छैन । यसो गर्न सके कोरोनाको जोखिमबाट बच्ने कुरामा दुईमत छैन । यदि सरकारले यी कुराहरुको व्यवस्था गर्न नसके स्वाभाविक रुपमा नागरिकले हातमुख जोड्न लकडाउन उल्लङ्घन गरेर सडकमा आउन सक्छन् ।

सरकारले मुख्यत : नागरिकलाई तीन वर्गमा विभाजित गरी कार्यान्वयनमा जान आवश्यक छ । पहिलो कुरा नागरिकलाई निम्न, मध्यम र सम्भ्रान्त अर्थात धनाढ्य वर्गमा रुपान्तरण गर्नु पर्यो । अनि सरकार सोही अनुसार कोरोना भाइरस विरुद्वको लडाइँको तयारीमा जुट्नुको विकल्प छैन ।

[email protected]

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: