भोलि राप्रपा नेपालको शक्ति प्रदर्शन

  प्रकाशित मिति
२२ जेष्ठ २०७३, शनिबार १७:००


rppविर्तामोड । राप्रपा नेपालले जेठ २४ गते विर्तामोडमा हिन्दु राज्यको पक्षमा शक्ति प्रदर्शन गर्ने भएको छ ।
हिन्दुत्व जागरण अभियान अन्तर्गत सो दिन विर्तामोडमा र्याली र सभाको आयोजना गरिने पार्टीले शनिवार पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रमुख अतिथि रहने कार्यक्रममा विभिन्न धार्मिक गुरुहरूले समेत हिन्दु राज्यको आवश्यकताका विषयमा केन्द्रीत रहेर सम्बोधन गर्ने बताइएको छ ।

पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले सो दिन झापामा पार्टीको तागत परीक्षण हुने बताएका छन् ।
‘कति जनता कार्यक्रममा उतार्ने योजना छ ?’ भन्ने पत्रकारहरूको प्रश्नको जवाफमा महामन्त्री लिङ्देनले भने–‘मान्नुहोस् त्यो दिन शक्ति प्रदर्शन हुनेछ ।’

सम्बैधानिक राजतन्त्र र हिन्दु राज्यको मागबाट पार्टी एक इञ्च पनि पछि नहटेको धारणा सुनाउँदै महामन्त्री लिङ्देनले पार्टी प्रवेशका लागि गाउँ गाउँमा जनलहर उर्लिएको दावी गरे ।

गणतन्त्र, धार्मिक स्वतन्त्रता र सङ्घीयताको कार्यान्वयन गर्ने भन्दै सत्तामा बसेको राप्रपा नेपाललाई त्यसकै विरुद्ध सडकमा नाराबाजी गर्दै हिड्न सुहाउँछ भन्ने पत्रकारहरूको अर्को जिज्ञासाको जवाफ दिदै उनले भने–‘संविधानले गणतन्त्र र सङ्घीयतालाई अपरिवर्तनीय भनेको छैन ।’

जनताको अभिमत लिएर नेपालमा सम्बैधानिक राजतन्त्र र हिन्दु राज्य फर्काउने पार्टीको नीति संविधानको कार्यान्वयनसँग नबाँझिने उनले जिकीर गरे । ‘जनताले जे पनि परिवर्तन गर्न पाउने भन्ने अधिकार भएको संविधान कार्यान्वयन गर्न राप्रपा नेपाललाई कुनै आपत्ति छैन’–उनको भनाई थियो ।

उनले आगामी चुनावबाट राप्रपा नेपाल मुलुकको पहिलो शक्तिको रुपमा उदाउने दावी गरेका छन् ।
कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष अम्बर बिष्ट लगायतका थुप्रै नेताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: