भ्रमण बर्ष सफल पार्ने महाअभियानको सुरुवात

  प्रकाशित मिति
३ पुष २०७६, बिहीबार १६:२६


संगीता थापा
नेपाल सरकारले सन २०२० लाई भ्रमण वर्षको रुपमा घोषणा गरे पश्चात नेपालको विभिन्न जिल्लाहरुमा फरकफरक तरिकावाट भ्रमण वर्ष सफल पार्न कायक्रमहरु भइरहेका छन् । यसै सन्दर्भमा मलाई पनि झापाको मेचीनगरका महिलाहरुको तर्फवाट भ्रमण बर्षको प्रचार प्रसारका लागि केही थालनी गर्नुपर्छ भन्ने लाग्यो । त्यसपछि मेचीनगरका क्रियाशील केही महिला साथीहरुलाई मोवाइलको माध्यमवाट फोन र म्यासेन्जरवाट कुरा सुनाए । यसरी शुरुमा कुरा गरिएका साथीहरुमा मिरा पोख्रेल, रेनुका डाँगी, जानुका ओली, सीता पोख्रेल, नमुना निरौला, अस्मिता खरेल हुनुहुन्छ । मैले महिलाहरुको समूह बनाएर स्थानीय क्षेत्रको यात्रा गरौं भन्ने कुरा उहाँहरुलाई सुनाएँ । उहाँहरुले मेरो कुरालाई उत्साहित हुँदै स्वागतयोग्य कुरा आयो लौन आयोजना गरौं भन्नुभयो । पहिलोपटक खुट्टिडाँगी सामुदायिक वनको कटेजमा वसेर प्रतिनिधिमुलक ढंगवाट छलफल शुरु गरियो । यात्रा त गर्ने तर कहाँबाट कसरी गर्ने भन्ने बिषयमा धुलावारी र काँकडभिट्टामा पटकपटक छलफल हुँदैगयो । समन्वय गर्ने साथीहरुको संख्या पनि बढ्दै गयो । केही समयको छलफलपछि मेचीनगरको धुलावारी मोडवाट वुद्धशान्ति गाउँपालिका –७ भ्युटावर र जरेवरसम्मको पैदल यात्रा गर्नेे रुढ तय भयो । सोही अनुरुप मेचीनगर नगरपालिका र वुद्धशान्ति गाउँपालिकासँग समन्वय गर्नुपर्छ भन्ने महिला टिमले ठहर गर्यो । मेचीनगरको उपप्रमुख मिना उप्रेतीसँग काँकडभिट्टाका साथीहरुले कुराकानी भयो । उहाँको सकारात्मक कुरा आएपछि वुद्धशान्ति गाउँपालिका उपाध्याक्ष मिरा भुर्तेलसँग महिला टिमका साथीहरु रेनुका डाँगी, जानुका ओली, इन्दिरा भण्डारी र पुष्पा भण्डारी गई हालसम्म भएको सवै कुराको जानकारी गराउनुभयो । जानकारी पाउना साथ टिमलाई स्वागत गर्दै यस क्षेत्रलाई छानेकोमा धन्यवादसहित आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बचन दिनुभयो । बुद्धशान्ति– ७ का वडाध्यक्ष मातृका पौड्यालले वुद्धशान्तिको भ्युटावर र जरेवरसम्मको पैदल यात्रामा महिलाको टीम आउँदै गरेको सुन्नासाथ खानाको व्यवस्था गरिदिने कुराले उर्जा थप्ने काम भएको थियो ।

यात्रा गर्नु पूर्व सवै पुर्व तयारी गरिसकेको यो टिमले २०७६ मंसिर २८ गते शनिवारको दिन विहान ८ बजे धुलावारी मोडमा भेला भइसक्ने भय गरियो । शनिवार विहान ८ः३० मा हाम्रो यात्रालाई विदाई तथा हौसला वढाउने शुभकामना प्रदान गर्न मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती, महिला नेतृहरु शारदा शर्मा घिमिरे, सरस्वती सिटौला, अग्रज व्यक्तित्वहरु अर्जुन पौडयाल, ऋषिराज तिम्सिना, ध्रुव कनाल, जीवन पौडयाल, पत्रकार मोहन काजी, गोविन्द घिमिरे लगायतको उपस्थिति रहेको थियो । सवै धुलावारी मोडमा गोलवन्द रहेको हाम्रो ३५ जना महिलाको टिम र हामीलाई हौसला वढाउन उपस्थित रहनु महानुभावहरुलाई हाम्रो यात्राका बारेमा महिलाहरुको टिमको तर्फवाट रेणुका डाँगीले जानकारी गराउनु भएको थियो ।

उपस्थित सबैको शुभकामना लिएर हाम्रो समूह बुद्धशान्ति पुग्ने उत्साह लिएर बिहान करिब ९ः३० बजे उत्तरतर्फ लाग्यो । वडो रमाइलो उत्साहित टिम छिटोछिटो अगाडि बढ्न थाल्यो । अलि विस्तारै हिडौं भन्दै केही साथि अगाडि व्यानर वोक्ने साथीलाई रोक्न आउनुहुन्थ्यो । धुलाबारी उत्तरतर्फ मेचीनगर–९ मा नै रहेका पर्यटकीय क्षेत्रहरु खुट्टिडाँगी सामुदायिक वन र थोप्लेबिरान सामुदायिक वन समूह हाम्रो यात्राको बाटैमा परेका थिए । ती क्षेत्रलाई नियाल्दै यिनको बिकासमा के कसरी अगाडि बढ्न सकिन्छ भन्ने बिषयमा यात्राकै दौरान केही छलफल पनि भए ।
हामीले थोप्लेबिरान सामुदायिक बन पुग्दा करिब १० बजिसकेको थियो । केही भोक लागेको समेत संकेत पेटले गर्न थालेको वेलामा साथी रेणुका डाँगी र गीता भण्डारीले आफनै घरमा भुटेको मकै र पवित्रा दहालले गुन्द्रुक र वटमास सादेको अचारले राम्रो मार्केट पायो । यात्रा कै क्रममा भुटेको मकै र सादेको गुन्द्रुकको स्वाद लिंदै हामी अगाडि बढ्यौं । अवको हाम्रो यात्रामा करिव ३ किलोमिटर जंगल थियो । वाटोमा परेको जंगलले हामीलाई हात्ती आतंक बारे सम्झायो । जंगल प्रवेश गर्दै गर्दा झापामा भइरहेको हात्ती आतंक र पर्यटनसंग जोडेर गरिएको कुराकानीले जंगल काटिएको थाहै भएन ।

जंगल पछि आयो बुद्धशान्ति–४ को सुन्दर गाउँ मंगलबारे । मंगलवारेबाट हामीसँगै यात्रामा जोडिनु भयो साथी अस्मितकला लिम्वु । हाम्रो यात्रा गन्तब्य तिर लम्किनै रह्यो । हाम्रो पूर्व योजना अनुसार मंगलवारे वजार पूर्व गणेश मा.वि छेउ विष्टको घरमा खाजाको व्यवस्थापन गर्ने काम भएको थियो । सोही अनुरुप १२ः४५ मा हाम्रो टिम सोही ठाउँमा पुग्यो । केही थकान महसुस हुन थालेको साथीहरु घरको आँगन र पेटिमा वस्न थाल्यौं । सोही घरको करिव ७५ वर्ष माथिको हजुरआमाले कसैलाई कुर्सी, कसैलाई वोरा त कसैलाई मुढा दिएर वसाईलाई व्यवस्थित गरेको हेरिरहें यति रसिलो यो उमेर समूहको मान्छे फुर्तिलो देख्दा हाम्रो थकाई त कता भाग्यो । यति मात्र कहाँ हो र साथीहरुले मोवाइलवाट गीत वजाउँदै रमाइलो गर्न थाल्नु भयो हजुरआमा पनि संगसंगै नाच्नुभयो । ओहो कत्ति रमाइलो हामीलाई थप उर्जा मिल्यो । खाजा र केही मनोरञ्जन पश्चात हाम्रो यात्रा पुनः अगाडि बढ्यो । हामी बर्नेको चिया वगान र हापेन चोक हुँदै उकालो लाग्यौं । यो वेला हाम्रो घडीमा करिव २ वजिसकेको थियो । साथीहरुले आ–आफनो झोलामा ल्याएको केही फलफुलहरु झिक्दै खाँदै यात्रा निरन्तर अगाडि वढिरहयो । उकालो जाँदै गर्दा वुद्धशान्ति गाउँपालिकाको उपाध्यक्ष मिरा भुर्तेल र कार्यपालिका सदस्यहरुको गाडी त्यहाँवाट हामीलाई शुभकामना दिदै अगाडि वढयो । हामी ३ वजेको समयमा हाम्रो गन्तब्यको नजिकै पुग्यौं । वरैवाट डम्फु र मादल डोलकको आवाज गुञ्जन थाल्यो । मन फुरुङ्ग हुन थाल्यो । हामी भ्युटावर क्षेत्र प्रवेश गर्यौ । त्यहाँ पुग्दा जातीय पहिरनमा सजिएका टिम वाजा गाजासहित खादा ओढाएर अविर टिका लगाएर स्वागत गर्दा हाम्रो थकानले हाम्रो शरिरमा स्थान नै पाएन । जव हामी त्यहाँ गोलवन्द भएर उभियौं । हाम्रो टिमको तर्फवाट यात्राको उद्देश्यको वारेमा सविना वजगाईले कुराहरु राख्नुभएको थियो भने वुद्धशान्तिवाट उपाध्यक्ष मिरा भुर्तेल, वडा न–७ का वडा अध्यक्ष मातृका पौडयाल, भ्युटावरको अध्यक्ष निरकुमार सुवेदीले शुभकामनासहित वुद्धशान्तिमा सञ्चालनमा र योजनामा रहेका पर्यटन क्षेत्रको वारेमा जानकारी गराउने काम भएको थियो ।

जानकारी पश्चात केही मनोरञ्जन र क्यामेरामा केही फोटोहरु कैद गर्ने काम भयो । गाउँपालिकाको अगुवाईमा हामी वडा नम्बर–७ मा रहेको मेन रोडले नै छोएको एउटा होटलमा वडाध्यक्षज्यूले तयार पारेको खानामा सहभागी भयौं । खाना खादै गर्दाको समयमा वुद्धशान्ति गाउँपालिकाले गरेको स्वागत र सम्मानप्रति साथीहरु विचमा चर्चाको विषय वन्यो । केही समय आराम गरेपछि वडा अध्यक्ष मातृका पौडयालको अगुवाईमा हाम्रो टिम जरेवर तिर लाग्यो । ठूला–ठूला भिर वारी पट्टि ठूलो वरको रुख जुन जरेवरको नामले चिनिन्छ । जरेवर वुद्धशान्ति गाउँपालिका, विचमा खोला र पारिपट्टि इलाम जिल्लाको ठूलो भिर रहेको ठाउँमा पुग्यौं । साँच्चै रमणिय क्षेत्र रहेछ जरेवर । उक्त क्षेत्र पर्यटकीय केन्द्र बन्न अघि बढिरहेको थियो । जरेवरको अवलोकन पछि हामी वडा अध्यक्ष मातृका पौडेलबाट विदा भयांै । फर्किंदा साँझ पर्न लागेको थियो । बिहान जाँदा पैदल यात्रा गरेका हामीले फर्कंदा सवारी साधनको साहारा लिएर घरसम्म आईपुग्यौं ।

हाम्रो पैदल यात्रा हेर्नेहरुका लागि त्यो एक दिने पैदल यात्रा थियो । तर हाम्रा लागि त्यो एकदिने यात्रा मात्र थिएन त्यो त भ्रमण बर्ष सफल बनाउने महाअभियानको एउटा शुरुवात थियो । मंसिर २८ गतेको यात्रा सम्पन्न भए पछि हामीबीच यस बिषयमा कुराकानी भइरहेका छन् । हाम्रो स्थानीय ठाउँहरु नै यति सुन्दर छन् कि ती ठाउँहरुको प्रचार प्रसार नभएका कारण आज घुम्नका लागि मात्रै मानिसहरु धेरै टाढा गइरहेका छन् । यात्रापछि मलाई लाग्यो हामीले झापाका पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा जोड दिनैपर्छ र भ्रमण बर्षमा धेरै भन्दा धेरै बिदेशी पाहुना र स्वदेशीहरुलाई झापाका पर्यटकीय क्षेत्रहरु हेर्ने वातावरण बनाउनुपर्छ । यसका लागि सरकारले मात्र होइन स्थानीय नागरिकले समेत आआफ्नो ठाउँबाट सकारात्मक सहयोग पु¥याउन जरुरी छ ।
पर्यटन भनेको घुमफिर मात्र होइन । यो त रोजगार हो, स्थानीय उत्पादनको बजार प्रबद्र्धन हो । बिदेशी भूमिमा भएका युवाहरुलाई स्वदेशमा नै आत्मनिर्भर बनाउने एउटा दीगो उद्योग पनि पर्यटन क्षेत्र नै हो भन्नेमा दुई मत छैन । त्यसैले पर्यटन प्रबद्र्धनमा सबै लागि परौं र देशलाई सम्बृद्धिको बाटोमा अगाडि बढाऔं । अन्त्यमा हाम्रो यात्रालाई सफल बनाउन सहयोग गर्नु हुने मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिका, मेची उद्योग वाणिज्य संघ लगायत प्रत्यक्ष र अप्रत्यक्ष सहयोग पु¥याउनु हुने सबै प्रति हार्दिक आभार प्रकट गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: