भ्रष्टको जरा उखेल्न उठौँ

  प्रकाशित मिति
२८ माघ २०७७, बुधबार १५:५८


।। गगन ढकाल ।।
नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवम् संसदीय प्रणालीको आधारभूत मर्म एवम् मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिमको जिकिर गर्दै पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्वरा संसद विघटनको घोषण भएसँगै नेपाली राजनीतिमा तरङ्ग उत्पन्न भएको कुरा सबैमा जानकार नै छ ।

यस तरङ्गलाई नजिकबाट नियाल्ने केही राजनीतिशास्त्री र राजनितीज्ञहरुले यो एमसीसीको खेलोफड्को भएको तर्क पेश गर्नुहुन्छ त कोहि भारतीय ग्रान्ड डिजाइन भएको । एमसीसीको खेलोफड्कोलाई नियाल्ने हो भने सुरुदेखि नै एमसीसी मुलुकको लागि उचित छ भन्ने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको सभापति शेरबहादुर देउवा लगायतका नेताहरु संसद् विघटन संवैधानिक भएको र ताजा जनादेशमा जानुपर्ने आवश्यकता भएको वताइरहनुभएको छ । तर सत्तारूढ पार्टी कै शिर्ष नेता पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल र प्रतिपक्षी पार्टिका रामचन्द्र पौडेल र गगन थापा लगायतका नेताहरु सुरुदेखि नै एमसीसीको विरुद्धमा बोलिरहनु भएको थियो र अहिले पनि संसद विघटन असंवैधानिक भएको तर्क पेश गरिरहनुभएको छ ।

अब कुरा गरौँ भारतीय ग्राण्ड डिजाइनको । जनयुद्ध कालदेखि नै हालका नेकपाका अर्का अध्यक्ष प्रचण्डको भारततर्फ अलि झुकाव देखिन्छ । त्यसैले उहाँलाई केही प्रतिपक्षी नेता तथा राजनीतिक विश्लेषकहरुले भारतले जे भन्यो त्यही मान्ने प्रतिनिधि पनि भन्ने गरेको पाइन्छ । यद्यपि उहाँ माथिको यो आरोप प्रमाणित भने भएको छैन । तर पनि केही समय अगाडि उहाँको श्रीमती बिरामी हुँदा भारत गएसँगै उहाँलाई भारतीय इशारामा चलेको आरोप लगाइरहेको पाइन्छ । केही समय यता प्रचण्डको निकट मित्र रहनु भएको माधवकुमार नेपालमा सत्तामोह औधी जागेको भने स्पष्ट देख्न सकिन्छ । साथै प्रधानमन्त्री केपी ओलीले नयाँ मानचित्र सार्वजनिक गरेसँगै भारतीय मिडियाहरुले उहाँलाई नङ्ग्याइरहेका छन् । यी घटनाहरुलाई सामान्य रुपले हेर्ने हो भने सम्पूर्ण दोष एमसीसी र भारतलाई नै लगाउन सकिन्छ । यद्यपि सदैव अरुको खेलोफड्को र ग्राण्ड डिजाइनलाई सम्पूर्ण दोष खन्याउदै आरोप प्रत्यारोप गर्ने नेतृत्व वर्गको चरित्र भने विश्वासिलो देखिदैन । सदैव अरुलाई आरोप लगाउँदै एकाअर्कालाई गालिगलौज गर्ने र आफुलाई सर्बश्रेष्ठ बुद्धिमता भएको ठान्ने, कहिलै आत्मालोचना नगर्ने नेतृत्ववर्गको कर्मले मुलुकलाई जञ्जिरतातर्फ धकेलिरहेको छ । तर के मुलुकलाई अद्योगतितिर धकेल्न नेताहरुको मात्रै हात छ त ? कि यसमा अरुको पनि हात छ ?

मलाई लाग्छ यसमा अरुको पनि हात छ । गाउँको मन्दिरमा ठूलो राशिको चन्दा दिनेलाई नै मतदान दिने मतदाताको हात छ । आफ्नो क्षेत्रको नेता आफैँ छनौट गर्न पाउने अधिकार हुँदाहुँदै पनि डोनेसनको भरमा आएको केन्द्रीय सर्कुलरलाई महाराजको हुकुम सरह शिरोपण गर्ने कार्यकर्ताको हात छ । नेताहरुको भाषणलाई आवश्यकता भन्दा ज्यादा प्रचारप्रसार गर्ने पत्रकारको हात छ । पार्टीको काम सकेर मात्रै कार्यालय र विद्यालय उपस्थित हुने कर्मचारी र शिक्षकको हात छ । जसले क्यान्टिनको बाँकी तिरिदिन्छ उसैको झण्डा बोकेर जनसागर बनाउने विद्यार्थीको हात छ । जसले जोशिला र उग्र कुरा गर्छ उसैको पछि अन्धभक्त भएर लाग्ने युवाको हात छ । मलाई लाग्छ यो मुलुक बिगार्न हामी सबैको हात छ र अब हामी सबैले मिलेर मुलुक बनाउन अत्याधिक जरुरी छ ।

हाल संसद् विघटन संवैधानिक कि असंवैधानिक भनेर विभिन्न तर्कवितर्क भइरहेका छन् । जबकि यो मुद्दा नेपालको संवैधानिक निकाय संविधानको व्याख्या गर्ने सर्बोच्च अदालतमा पुगिसकेको छ । अदालतमा पुगिसकेको मुद्दाको बारेमा सडकमा बहस गर्नुको कुनै तुक हुँदैन तर पनि आफूलाई गतिलो सावित गर्न नेतागणहरुले गरिरहनु भएको यस तर्कप्रति खेद छ । साथै यस्ता तर्कलाई समर्थन गर्दै बरर ताली पड्काउने कार्यकर्ता दयापात्र मात्र बनिरहेका छन् । वास्तवमा भन्ने हो भने संसद विघटनप्रति नागरिकको कस्तो प्रतिक्रिया छ, यो कत्तिको जनवादी छ भनेर चाहिँ तर्क गर्नुपर्ने हो । यसले मुलुकलाई कत्तिको राजनीतिक र आर्थिक घाटा–नाफा हुन्छ नागरिकलाई प्रष्ट पारिदिनु पर्ने हो । तनमन दिएर मुलुक निर्माणका लागि ज्यानको बाजी थापेर परिवर्तनमा होमिएका परिवर्तनकारीको भावनाको बारेमा बुझ्नुपर्ने हो, उनीहरुको भावनाको कदर गर्नु पर्ने हो तर यसमा कुनै पनि पार्टीका कुनै नेतालाई ध्यान छैन ।

जब–जब मुलुक अप्ठ्यारोमा पर्छ तब–तब पत्रकार र युवाको जिम्मेवारी बढ्छ । पत्रकारहरुले सत्यतथ्य समाचार निष्पक्ष ढंगबाट सम्प्रेषण गरेर नागरिकहरुको विश्वास र भरोसा बनेर परिवर्तनको रुपरेखा कोर्न सक्छन् भने युवाहरुले कालोलाई कालो र सेतोलाई सेतो भनेर एक विवेकशील र बिभेदरहित समाजको निर्माण गर्न सक्छन् । तर हाल हाम्रो मुलुकमा यस्तो देखिदैन । उदाहरणका लागि एक साता अगाडि वरिष्ठ लेखक खगेन्द्र संग्रौलाले लेख्नु भएको “तैले गोर्खापत्र पढ्नु परोस्” शिर्षकको बिचारलाई लिन सकिन्छ । त्यसै बिचारको मुनि मेरै गाउँका एक नामी नेताज्युले खगेन्द्र सरलाई गाली कै भावनाले कमेन्ट गर्नु भएको रहेछ । कमेन्टमा लेखिएको थियो “तैले कान्तिपुर पढ्नु परोस्” । यति मात्रै हैन पत्रकारितामा भएको एकपक्षीय समर्थनको अवशेषलाई अझ मजाले बुझ्न झापाली पत्रकारिता र वरिष्ठ पत्रकारहरुले एकपछि अर्को गर्दै सार्वजनिक गरिरहनु भएको बैचारिक अभिव्यक्तिहरुलाई पनि हेर्न सकिन्छ । मेरो बुझाइमा सकेसम्म पत्रकारहरु स्वतन्त्र हुनुपर्ने हो । तर कुनै बिचारप्रति आस्था भए पनि सार्वजनिक रुपमै कसै एकको जयजयकार नै गर्नु चाहिँ पेशागत रुपमा अस्वाभाविक र असुहाउँदिलो देखिन्छ ।

अब कुरा गरौँ युवाहरुको । कोही युवाहरु चारतारे र रुख अङ्कित झण्डा बोकेर संविधान रक्षामा उत्रेको जिकिर गर्छन् भने कोही अरु शिर्ष नेताहरुमा ओली अलिक ठिक र राष्ट्रवादी भएको तर्क पेश गर्दै ओलीको पक्षमा उत्रेका छन् त कोही ओली सर्वसत्तावादी र अलोकतान्त्रिक भएको तर्क पेश गर्दै माधव–प्रचण्ड पक्षलाई समर्थन गर्दछन् । झन् ओली र प्रचण्ड पक्ष बिच त ठूलै आक्रोश देख्न देखिन्छ । उनीहरु एकार्कालाई प्रतिगमनकारी र मार्चण्ड पक्ष भनेर गाली गरिरहेका छन् । युवाहरु आफ्नो पक्षलाई समर्थन गर्न उपत्यका धाउने क्रम बढिरहेको कुरा सबैमा जानकार नै छ । केही साता अगाडि प्रचण्ड समूहले उपत्यकामा गरेको शक्ति प्रदर्शनमा उपत्यका बाहिरबाट मत्रै दुई लाख समर्थक आएका प्रचण्डले दाबी गर्नु भएको थियो । त्यही प्रदर्शनमा केही उपस्थितहरुको अन्तर्वार्ता लिँदा उनीहरुले यातायात खर्च र खानबस्नको व्यवस्था पार्टीले गरेको जानकारी भयो । अब प्रचण्डले नै भन्नुभएको संख्यालाई सदर मानेर न्यूनतम प्रतिव्यक्ति खर्च रु. १००० का दरले हिसाब गर्ने हो भने जम्मा खर्च बीस करोड पुग्छ । यसरी नै ओली पक्षको सङ्ख्या तीन लाख (उहाँकै भनाइ अनुसार ) समर्थकको खर्च तीस करोड पुग्छ । शक्ति प्रदर्शन कै लागि मात्रै कहाँबाट जुट्छ यत्रो रकम ? स्रोतको खोजी कसले गर्ने ? खोजी गर्नुपर्ने युवा र पत्रकारको समूह त जयजयकार मै व्यस्त छन् । भ्रष्टाचार वा डोनेशनबाट कमाइएको रकम कै दम्भमा गरिएको प्रदर्शनमा समर्थन गर्नेहरुको हात छ कि छैन, मुलुकलाई अन्धकारतर्फ धकेल्न ?

कोही मांसाहारी आन्दोलन गर्छु भन्ने भाषणमा ताली पिट्ने, कोही संवेदनशील पदमा बसेर जनयुद्ध गर्छु भन्ने भाषणमा ताली पिट्ने त कोही प्रतिपक्षमा बसेर जनयुद्ध गर्छु भन्दा ताली पिट्ने । सबै आन्दोलन गर्ने, क्रान्ति गर्ने र शक्ति प्रदर्शन गर्ने अनि उनीहरुको मागको सम्बोधन चाहिँ कसले गर्ने ? केही दशक अगाडि मात्रै फ्याँकिएको तानाशाह वंशसत्ताले कि जयजयकार गर्ने समूहले ? विशेष गरी आफुलाई अलिक चेतनशील र आधुनिक मान्ने साथीहरु अझै कति दिन फलाना यस्तो चिलाना उस्तोको पछाडि कुद्ने ? फलाना अलिक कम भ्रष्ट भन्दै कति दिन जयजयकार गर्ने ? अब त भ्रष्टको जरै उखेलेर फ्याँक्ने समय आएन र ! उठौँ साथी उठौँ भ्रष्टको जरा उखेल्न उठौँ । मुलुकको मुहार फेर्नलाई उठौँ । सुनौलो किरण बोक्नलाई उठौँ । आमूल परिवर्तनको कोशेढुङ्गो हुनलाई उठौँ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: