मंगोल नेता गुरुङको निधन

  प्रकाशित मिति
२८ जेष्ठ २०७३, शुक्रबार ०५:४७


gopal-gurung 2
झापा । ब्राह्मणबादको खरो विरोध गर्दै आएका मंगोल नेशनल अर्गनाइजेशनका संस्थापक अध्यक्ष डा. गोपाल गुरुङको ८१ वर्षको उमेरमा निधन भएको छ ।

ललितपुरको अल्का अस्पतालमा रक्त क्यान्सरको उपचार गराइरहेका उनको शुक्रबार बिहान ८ बजेर ५ मिनेटमा निधन भएको हो । एक महिना अघिदेखि उनी अल्का अस्पतालमा उपचाररत थिए ।

जन्म दार्जीलिङमा भए पनि इलाममा बसोबास गर्ने मंगोल नेता गुरुङ पञ्चायतकालदेखि नै संघीय गणतन्त्रको वकालत गर्थे । ‘हिडन फ्याक्ट इन नेप्लिज पोलिटिक्स’ नामक पुस्तक लेखेर जेल परेका उनले ‘मंगोल नेशनल अर्गनाइजेसन’ नामको पार्टी खोलेका थिए ।

आदिवासी र जनजाति भन्ने शब्दको सट्टा मूलवासी शब्द प्रयोग गर्ने उनी पञ्चायतकालमा पूर्ण भूमिगत र त्यसपछि अर्धभूमिगत जीवन बिताउँथे ।

०४६ सालको परिवर्तनपछि चर्चामा आएको ‘सेतामगुराली’ उनैको धारणा थियो । नेपाली राजनीतिका अनदेखा सच्चाइ नामको गुरुङको पुस्तक नेपालमा त्यसबेला प्रतिबन्धित भए पनि सिक्किम र दार्जीलिङमा चर्चित थियो ।

मंगोल जातिको वकालत गरे पनि गोपाल गुरुङ तमुवान, लिम्बुवानजस्ता जातीय राज्यको विपक्षमा थिए । संघ र प्रदेशहरुको नाम जातीय आधारमा नभई नदीनाला र भूगोलका आधारमा राखिनुपर्ने उनको दृष्टिकोण थियो ।

राजनीतिशास्त्रमा विशेष दख्खल भएका गुरुङ अंग्रेजी, हिन्दी र नेपाली तीनवटै भाषाको लेखनमा उत्तिकै दख्खल राख्थे । एक समय जनजाति नेता गोरेबहादुर खपाङ्गी र माओवादी नेता गोपाल किरातीले समेत गोपाल गुरुङलाई आफ्नो आदरणीय नेता मान्थे ।

पछिल्लो समयमा उनी ललितपुरको बाग्डोलमा कार्यकर्ताहरुका साथमा बस्दै आएका थिए । उनकी पत्नीको निधन पहिल्यै भइसकेको छ ।
गुरुङका एकमात्र छोरा अस्ट्रेलियामा छन् । शनिबार उनी काठमाडौं आएपछि गुरुङको सद्गति गरिने बुझिएको छ ।

इलाम, झापा, गोरखालगायतका विभिन्न जिल्लामा गुरुङका समर्थकहरु रहेका छन् ।
गोपालको निधनपछि मंगोल नेशनलकमा कार्यकर्ताहरु शोकमग्न बनेका छन् । झापाका मंगोल नेता तथा पत्रकार दिलीप धिमालले आफ्नो फेसबुकमा विभिन्न अनलाइनमा गुरुङको निधन सम्बन्धी खबरलाई शेयर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: