मगर समुदायले मनाए माघे चाड

  प्रकाशित मिति
२ माघ २०७५, बुधबार १३:०९


इटाभट्टा । मगर समुदायले आफ्नो प्रमुख राष्ट्रिय साँस्कृतिक चाड माघे सकराती शुभकामना आदान प्रदान तथा बृहत् मगरात साँस्कृतिक कार्यक्रम गरी मनाएका छन् ।

नेपाल मगर सङ्घ प्रारम्भिक समिति काँकरभिट्टाले मेचीनगर–८ प्रतिभा टोलस्थित पट्टन प्राणी कल्याण बौद्ध बिहार गुम्बामा मङ्गलबार पर्व विशेष कार्यक्रम आयोजना गरेको हो ।

नेपाल मगर समुदायद्वारा सञ्चालित उक्त गुम्बा परिसरमा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि सांसद् श्रीप्रसाद मैनालीले विभिन्न प्रजातीका विरुवा रापेर गरेका थिए ।

सो अवसरमा प्रमुख अतिथि मैनालीले मगर समुदायले आफ्नो संस्कार, संस्कृति, धर्म, रीतिरिवाज, भेषभूषा, भाषा, खानपान, रहनसहन, लवज बुझ्नुपर्नेमा जोड दिँदै आफ्नो परम्पराको संरक्षण एवम् सम्र्वद्धनका लागि एकताबद्ध हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

जातीय एवम् सांस्कृतिक रुपले मेचीनगर सम्पन्न रहेको चर्चा गर्दै सांसद् मैनालीले नगरमा जातीय संग्राहलय निर्माण गर्न र आदिवासी जनजातीलाई सम्बोधन गर्ने प्रकृतिका योजना ल्याउन प्रदेश सरकार सकारात्मक रहेको बताए ।

उक्त कार्यक्रममा गुम्बा सञ्चालक समितिले गुम्बा परिसरलाई धार्मिक तथा पर्यटकीय गन्तव्य स्थल बनाउन, नदी तटबन्धन गर्न, घेराबारालगायत पूर्वाधार विकासका विविध योजना माग गरिएको प्रस्तावना प्रमुख अतिथि सांसद् मैनालीलाई हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा मेचीनगर– ८ का अध्यक्ष विकेन्द्र धिमाल, थामी समाजका झापा अध्यक्ष लालबहादुर थामी, तमू ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषद् मेचीनगर सङ्गठन सचिव प्रकाश गुरुङ, नेवाः समाज मेचीनगर अध्यक्ष कमल गुभाजु, नेपाल तामाङ घेदुङ सङ्घ मेचीनगर उपाध्यक्ष रामबहादुर वाइबा, तामाङ गुम्बा समिति काँकरभिट्टाका उपाध्यक्ष राजन तामाङ, नेकपा नेता माधव अर्याललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

‘माघे सकराती राष्ट्रिय चाड मनाउँदै अघि बढौं, मगरात पहिचान र अधिकार प्राप्तिका लागि लडौं’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा कौडा, मारुनी, हुर्रालगायत मगर समुदायको साँस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।

आयोजक समितिका अध्यक्ष धनबहादुर मगरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल मगर सङ्घ मेचीनगर अध्यक्ष विकास थापा मगरले स्वागतसहित औचित्यमाथि प्रकाश पारे भने सञ्चालन समिति पूर्व सचिव राकेश थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: