बाहुनडाँगी । शुक्रवार निधन भएका गणतन्त्रबादी नेता एवम् मङ्गोल नेशनल अर्गनाइजेसनका अध्यक्ष गोपाल गुरुङको धर्मनिरपेक्ष विधिबाट सोमवार उत्तरपूर्वी झापाको बाहुनडाँगीमा अन्त्येष्टी गरिएको छ ।
बाहुनडाँगी–४ स्थित निर्माणाधीन मङ्गोल रिसर्च सेन्टरको परिसरमा गुरुङको पार्थिव शरीरलाई जमिनमुनि समाधिस्थ गरिएको थियो ।
आजीवन लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताका लागि सङ्घर्ष गरेका चर्चित नेता गुरुङलाई हजारौँ समर्थकले त्यहाँ भावपूर्ण श्रद्धा अर्पणसहित अन्तिम विदाई गरेका थिए ।
ललितपुरको अलका अस्पतालमा गत शुक्रवार ८१ वर्षको उमेरमा निधन भएका उनको पार्थिव शरीर अन्त्येष्टि गर्न सोमवार विहान झापा ल्याइएको थियो ।
समाधिस्थ गर्नु अघि बाहुनडाँगी–३ स्थित नवज्योति निमाविको प्राङ्गणमा उनको शब श्रद्धाञ्जलिका लागि राखिएको थियो ।
त्यहाँ अर्गनाइजेसनमा दोस्रो वरियताका नेता मानिएका मूलसचिव बुद्धलाल मेचेले पार्टीको झण्डा ओढाएका थिए भने कोषाध्यक्ष दिनेश वान्तवा, सचिव वीरलाल वान्तवा, सहसचिव सन्तोष तामाङ र स्व. गुरुङका छोरा हनी गुरुङले शोक मन्तव्य प्रकट गरेका थिए ।
वक्ताहरूले गुरुङ सच्चा लोकतन्त्रबादी र उत्पीडित मूलवासीको अधिकारका लागि लड्ने अन्तर्राष्ट्रिय नेता भएको धारणा व्यक्त गरेका थिए ।
विद्यालयदेखि मङ्गोल रिसर्च सेन्टरसम्म भएको गुरुङको शवयात्रामा हजारौँ पार्टी कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयबासीको सहभागिता रहेको थियो ।
दाहसंस्कारमा सहभागी हुन इलाम, सुनसरी, गोरखा, दार्जीलिङ लगायतका स्थानबाट समर्थक, नातेदार तथा शुभेच्छुक बाहुनडाँगी आएका थिए ।
अष्ट्रेलियामा रहेका नेता गुरुङका एक मात्र छोरा हनि गुरुङ, बुहारी निना श्रेष्ठ र नाति अजल गुरुङ अस्ट्रेलियाबाट आइपुगेका थिए । गुरुङका साइला भाइ आरवी गुरुङ र बहिनी कृष्णा गुरुङ दार्जीलिङबाट आइपुगेका थिए ।
अन्त्येष्टि गरिएको स्थलमा स्व. गोपाल गुरुङको स्मृतिमा मङ्गोल सङ्ग्रहालय स्थापना गरिने पार्टीका नेता दिलीप धिमालले बताए ।
नेता गुरुङको जन्म दार्जीलिङमा र थातबास इलाममा भए पनि उनकै इच्छा बमोजिम अन्त्येष्टि कार्य झापाको बाहुनडाँगीमा गरिएको पार्टीका प्रबक्ता थमनबहादुर बुढा मगरले बताए ।
‘प्रेसिडेन्टले आफ्नो निधनपछि अन्त्येष्टि झापाको बाहुनडाँगीमा होस् भन्ने इच्छा व्यक्त गर्दै आउनु भएको थियो’, पार्टीका प्रबक्ता मगरले लोकतन्त्रसँग भने–‘उहाँको इच्छा बमोजिम नै झापामा अन्त्येष्टि गरिएको हो ।’
स्व. गुरुङले आफ्नो शब नजलाउन र जमिनमुनि गाड्दा शरीरका लुगा नखोलिदिन इच्छा गरेकाले उनले लगाएका सर्ट र पेन्टसँगै पार्थिव शरीरलाई बाकसमा हालेर अन्त्येष्टि गरिएको थियो ।
जीवनभर धर्म निरेपक्षताका पक्षमा सङ्घर्ष गरेका नेता भएकाले उनको अन्त्येष्टिमा कुनै पनि धार्मिक विधि प्रयोग गरिएको थिएन । शबमा खादा र फुलका गुच्छा चढाइएको थियो ।
जीवनका अन्तिम क्षणहरूमा साथै रहेका पार्टीका प्रबक्ता थमन बुढा मगरले निधन हुनुभन्दा एक महिना अघि मात्र नेता गुरुङलाई ब्लड क्यान्सरले ग्रसित पारेको र क्यान्सर चौथो चरणमा पुगिसकेको पत्तो लागेको बताए ।
‘प्रेसिडेन्टलाई पनि क्यान्सर बारे थाहा थियो, उहाँ मेरो रोग निको हुन्छ कि हुँदैन भनेर बारम्वार हामीलाई सोधिरहनुहुन्थ्यो’–प्रबक्ता थापा भन्छन् ।
रोगले निकै च्यापेका बेला उनी आफुलाई झापा लैजान भन्दै कार्यकर्तालाई अराउने गर्दथे । तर उपचार त्यागेर झापा लैजान सम्भव नभएको थापा बताउँछन् ।
२७ जुलाई १९३५ मा जन्मिएका गुरुङ साहित्यकार, पत्रकार र राजनीतिक नेताको रुपमा परिचित भए । उनले राजबन्दीको रुपमा भद्रगोल जेलमा थुनिएका बेला मङ्गोल नेशनल अर्गनाइजेसन नामक राजनीतिक सङ्गठन जन्माएका थिए ।
पञ्चायतकालमा राजतन्त्रको विरोध गरेर जेलनेल समेत भागेका उनले २०४७ सालको संविधानलाई ‘कागजको खोस्टो’ भनेर टिप्पणी गरेका थिए । २०७२ सालको संविधानमा धर्मनिरपेक्षता, गणतन्त्र र सङ्घीयता स्थापनालाई सकारात्मक रुपमा लिए पनि उनले मङ्गोलहरूको हक र अधिकार अझै स्थापित भइनसकेको धारणा राख्दै आएका थिए ।
हक्की, विद्वान, जुझारु, दूरदर्शी नेताको पहिचान बनाएका उनले जोडदार रुपमा उठाउँदै आएका गणतन्त्र र धर्मनिरपेक्षताका विचार र मागहरू अहिलेको राजनीतिक परिवेशमा सर्वस्वीकार्य हुनुले उनी दूरदर्शी भएको पुष्टि हुन्छ ।