झापा । डेङ्गु सङ्क्रमणले भयावह सिर्जना गरेपछि झापाको मुख्य नगरहरु विर्तामोड, भद्रपुर र अर्जुनधारामा मच्छड मार्न विषादीयुक्त मालाथिनको धुँवा छर्किन (फगिङ) थालिएको छ ।
दिउँसो सक्रिय हुने ‘एडिस एजिप्टाई’ नामक पृथक जातिको टाटेपाङ्ग्रे मच्छडले टोकेमा डेङ्गुको भाइरस सङ्क्रमण हुन्छ ।
स्थानीय नगरपालिकाहरुले रोगको जड मच्छड नै मारेर सखाप पार्ने उद्देश्यले प्रभावकारी फगिङ विधिमार्फत विषादी छर्किन थालेको हो । धुँवा छर्किए पछि मच्छड मर्छन् ।
भद्रपुर नगरपालिकाले बुधवार अपरान्ह ४ बजेदेखि विभिन्न वडाहरुमा मालाथिन धुँवा छर्किन थालेको छ ।
नगरकी प्रेस संयोजक गङ्गा बरालले नगरपालिकाले धुँवा छर्किनका लागि तालिका नै सार्वजनिक गरिसकेको बताएकी छन् ।
विर्तामोड र अर्जुनधारा नगरपालिकाको विभिन्न वडामा समेत बुधवार मालाथिन फगिङ गरिएको छ ।
हालसम्म झापामा करीव ४ सयलाई डेङ्गु सङ्क्रमण भइसकेको छ भने तीमध्ये ३ सय बढी विरामी विर्तामोड नगर क्षेत्रका छन् ।
रोगको प्रकोप भयावह रुपमा फैलिरहँदा समेत नगरपालिकाले खासै नियन्त्रणको उपाय नअपनाएको भनी आलोचना भइरहेका बेला बुधवारदेखि तीन वटै नगरमा मालाथिन फगिङ थालिएको हो ।
अर्जुनधारा–७ की ३५ वर्षीय सुनिता बराल अधिकारीको डेङ्गु रोगकै कारण मृत्यु भइसकेको छ । अर्जुनधारा नगरपालिकाले सो वडामा बुधवार मालाथिन धुँवा छर्किएको छ ।
मालाथिनबाट बन्छ धुँवा
मच्छड स्वाभावैले धुँवाबाट भाग्छ । तर त्यसलाई मार्नका लागि धुँवालाई विषालु बनाउन मालाथिन नामक विषादी मिसाइन्छ ।
अहिले नगरपालिकाहरुले छर्किरहेको धुँवामा ४ भाग मालाथिन र ६ भाग डिजेल मिसाइएको छ । विशेष प्रकारको मेसिनको माध्यमबाट मालाथिन र डिजेलको धुँवा निकालेर सवारी साधन चढेर धुँवा स्प्रे गरिन्छ ।
जहाँ जहाँ धुँवा छरिन्छ, त्यस वरपरका सबै प्रकारका मच्छड मर्छन् । तर अग्ला घर र टाढासम्म यसको प्रभाव पुग्दैन ।
धुँवा पनि हानिकारक
नगरपालिकाले केही नै काम गरेन भनेर सर्वत्र आलोचना हुन थालेपछि सहरका गल्लीहरुमा मालाथिन धुँवा छर्किन थालिएको हो ।
तर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले धुँवा छर्किने भन्दा मच्छडको लार्भा खोज्ने र नस्ट गर्ने नियन्त्रण विधिलाई बढी उपयुक्त मान्दै आएको छ ।
विषाक्त धुँवाले मच्छडलाई मात्र नभएर मानव स्वास्थ्यमा समेत हानी पुर्याउने भएकाले डब्ल्युएचओले त्यसो भनेको हो ।
भद्रपुर नगरपालिकाले मालाथिन छर्किने स्थानहरुको रुट बारे नगरवासीहरुलाई अग्रिम जानकारी गराएर धुँवाको हानीबाट समेत जोगिन अग्रिम सतर्क गराएको छ ।
धुँवा छर्किएका बेला घरका झ्याल ढोका खुल्ला राख्न (किनकि विषादीले कोठा गुम्सिन सक्छ), खानेकुरा छोपेर राख्न (किनकि खानामा विषादीको मात्रा मिसिन सक्छ) र बच्चालाई घर वाहिर खेल्न नदिन (किनकि बच्चाको श्वासप्रश्वासमा सकस हुन सक्छ) भद्पुर नगर पालिकाले सर्वसाधारणलाई अनुरोध गरेको छ ।
धुँवाका कारण शरीर र आँखा चिलाए पानीले सफा गर्न समेत नगरपालिकाले अनुरोध गरेको छ ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)