मेचीनगर । नेपाल स्वतन्त्र मजदुर सङ्गठन र नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले मजदुरहरूको उपचारका लागि एक करोड रुपैयाँको अक्षय कोष स्थापना गरेको छ ।
‘मजदुर राहत ऐक्यबद्धता कोष’ नाम राखिएको कोषमा मुलुकभरका सङ्गठनका २ सय बढी इकाईले २५ हजार रुपैयाँका दरले रकम जम्मा गर्ने भएका छन् ।
झापाबाट सङ्गठनको मेचीनगर इकाईले मङ्गलवार जिफन्टका केन्द्रीय अध्यक्ष राजीव घिमिरे र मेची अञ्चल इञ्चार्ज सन्त राईलाई कोषका लागि २५ हजार रुपैयाँ हस्तान्तरण गरेको इकाईका अध्यक्ष खडानन्द भण्डारीले जानकारी दिए ।
अध्यक्ष भण्डारीका अनुसार कोषमा रकम जम्मा गर्ने इकाइमा आवद्ध मजदुरहरू र उनीहरूको परिवारका सदस्यलाई क्यान्सर, किड्नी फेल, मुटु, पाठेघर जस्ता प्राणघातक रोग लागेमा उपचारमा लाग्ने ५० हजारदेखि २ लाख रुपैयाँसम्म खर्च कोषले निःशुल्क व्यहोर्ने भएको छ ।