मजदूरका माग पूरा गर्ने सिडिओको आश्वासन

  प्रकाशित मिति
२९ भाद्र २०७३, बुधबार ०९:५४


untitledबिर्तामोड । झापाका प्रमुख जिल्ला अधिकारीले बिर्तामोडस्थित गिरी बन्धु टी स्टेट सञ्चालकले सेवासुबिधा कटौतीको विरोधमा आन्दोलनरत मजदुरलाई भेटेरै माग सम्बोधन गर्न पहल गर्ने आश्वासन दिएका छन् । प्रमुख जिल्ला अधिकारी मदनकुमार भुजेलले एक सातायता रिले अनशनमा बसिरहेका मजदुरलाई मंगलबार दिउसो धर्नास्थलमै पुगेर बगान सञ्चालकसँग मागका विषयमा कुरा गर्ने बताएका हुन् ।

प्रमुख जिल्ला अधिकारी भुजेलले मजदुर सङ्गठनले उठाएको माग दुवै पक्षको हितमा रहेको उल्लेख गर्दै समाधानका लागि पहल गर्ने बताएका हुन् । ‘मजदुरले उठाएका अधिकांश माग ठिक छन्, जायज छन्, दुबै पक्षको हित हुने माग पनि छन्’, उनले भने – ‘जायज माग पूरा गर्न पहल गर्छ ।’ सिडियो भुजेलले आन्दोलनरत मजदुरका माग ध्यानपूर्वक सुनेका थिए । धर्नारत मजदुरले पनि सिडियो भुजेल धर्नास्थलमै आएपछि माग पूरा हुने विश्वास व्यक्त गरेका छन् ।

चिया उत्पादनका लागि कहलिएको झापाको गिरी बन्धु टी स्टेट सञ्चालकले सेवासुबिधा कटौती गरेको विरोधमा प्रतिष्ठान स्तरको ट्रेड युनियनले भदौँ २२ गतेदेखि रिले अनशन गरिरहेको छ । बिर्तामोड नगरपालिका–५ र शनिअर्जुन नगरपालिका–९ मा फैलिएको गिरी बन्धु टी स्टेट प्रालिमा कार्यरत श्रमिकले बगानका सञ्चालकले ४ वर्षदेखि निरन्तर सेवासुबिधा कटौती गरिरहेको दाबी गरेर आन्दोलन थालेका हुन् । श्रमिक माथिको ज्यादती अन्त्य गर्नुपर्ने माग राखेर प्रतिष्ठान स्तरको ट्रेड युनियनले आन्दोलन थालेको हो ।

प्रतिष्ठान स्तरको ट्रेड युनियनका अध्यक्ष नारायण दर्जीले पहिलो चरणको आन्दोलन अन्तरगत रिले अनशन बसेको बताए । निर्धारित नियम र विभिन्न चरणका सम्झौता अनुसार कम्पनीले तलब सुबिधा नदिएको उल्लेख गर्दै व्यवस्थापन, श्रम कार्यालय मेची र जिल्ला प्रशासन कार्यालय झापामा लिखित रुपमै समस्या समाधानका लागि अनुरोध गरिएपनि सुनुवाई नभएपछि आन्दोलन सुरु गर्नु परेको उनले जनाएको छ ।

सञ्चालकहरुले आफ्ना माग राख्दा कुरै सुन्न नचाहेको ट्रेड युनियनले जनाएको छ । माग पूरा गर्न सञ्चालकको चासो नदेखिएपछि श्रमिकहरुले २२ गतेदेखि प्रतिष्ठानको मुलद्वारमा १० दिने रिले अनशन बस्न थालेका हुन् । रिले अनशनबाट पनि माग सम्बोधन नभए असोज २ गतेदेखि दोस्रो चरणको आन्दोलन शुरु गर्ने उनले बताए । ‘अब सशक्त आन्दोलन गर्छौं’, दर्जीले भने – ‘हामीले पाउने सेवासुबिधा कसैले खोस्न पाउँदैन ।’

गिरी बन्धु टी स्टेटमा कार्यरत मजदुरले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । चिया बगानमा ३ सय ५ जना कामदारलाई स्थायी गर्ने, अवकाश, राजीनामा, निष्काशन तथा मृत्युपछि हुने रिक्त स्थानमा कामदारकै परिवारका सदस्यहरुलाई स्थायी गर्दै जाने व्यवस्थापकसँगको सम्झौता भएपनि अहिले १ सय ९५ जना कामदार मात्रै रहेकाले रिक्त स्थानमा स्थायी कामदार नियुक्त गर्न माग गरिएको छ ।

वि.सं. भदौ १० गते नेपाल सरकारले बृद्धि गरेको चिया मजदुरको ज्यालाको फरक रकम तीन किस्तामा एक किस्ता मात्रै भुक्तानी भएको जनाइएको छ । साउनदेखि बढेबापतको दैनिक ज्याला २ सय ५३ रुपैयाँ कार्यान्वयन गर्न ट्रेड युनियनको माग छ । मजदुरले पाउने प्राथमिक उपचार सुचारु गर्न, कामदार कर्मचारीहरुको पारिश्रमिकबाट कट्टा गरिएको सञ्चयकोषको रकम कोषमा दाखिला गर्न पनि सङ्गठनले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: