मञ्चमै रोइन् मृतककी दिदी

  प्रकाशित मिति
८ बैशाख २०७३, बुधबार ०१:१५


lalita 1 uae 5

कनकाई, ८ बैशाख । स्थान ः कनकाई सामुदायिक बन उपभोक्ता समूह सुरुङ्गाको सभाहल । झापाली समाज युएईले आर्थिक सहयोग वितरण गर्न मङ्गलवार दिउँसो कार्यव्रmमको आयोजना गरेको थियो । प्रमुख अतिथि थिए–झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेल । स्थानीय राजनीतिक दल र सामाजिक सङ्घ संस्थाका प्रतिनिधि, पत्रकार लगायतको उपस्थितिले खचाखच थियो सभाहल ।

उद्घोषकले ललिता राजबंशीलाई आर्थिक सहयोग ग्रहण गर्न मञ्चमा बोलाए । प्रजिअ भुजेलले आयोजकका तर्फबाट उनलाई २५ हजार रुपैयाँ नगदै थमाए । सुक्सुकाउँदै खामबन्दी नगद लिदै गर्दा ललिताले आयोजकसँग भनिन्–‘मलाई केही भन्नु छ, बोल्ने अवसर दिनुहोस् ।’ सहयोग अरुलाई पनि हस्तान्तरण गरिने भएकाले उद्घोषकले ‘केही बेरपछि बोल्न दिने’ आश्वासन दिएपछि उनी दर्शक दीर्घामै आएर बसिन् ।

उनी थिइन्–गत मङ्सिर २८ गते बैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई)मा मृत्यु भएका राजगढ–८ का २१ वर्षीय प्रकाश राजबंशीकी दिदी । आयोजकले प्रकाशको परिवारलाई राहत स्वरुप झापाली समाज युएईका तर्फबाट दिने निर्णय गरेको सहयोग रकम ग्रहण गर्न ललितालाई कार्यव्रmममा निम्त्याएको थियो ।

अतिथि तथा दर्शकको ध्यान हलको कुनामा बसेकी ललितातिर गइरहेको थियो । उद्घोषकले उनलाई मन्तव्यका लागि बोलाए । उनी मञ्चमा उक्लिन् र माइक समातेर विस्तारै बोल्न थालिन् ।

उनी जति बोल्दै जान्थिन्, त्यतिनै भक्कानिन्थिन् । उनको भाइ कसरी विदेश गए र एजेन्टले कसरी ठग्यो भन्ने विषयबाट मन्तव्य थालेकी उनको पीडानुभूतिका शब्द शब्दले सबैलाई स्तब्ध पारेको थियो ।

मञ्चमा बोल्दा बोल्दै डाको छाडेकी उनको रोदन कार्यव्रmमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भुजेलले भने सुन्न पाएनन् । किनकि, ललिता बोल्नुभन्दा ठिक अघि ‘मेरो हतारो छ’ भन्दै प्रजिअले बोल्ने पालो मागेर कार्यक्रमस्थल छाडिसकेका थिए ।

ललिताका अनुसार उनको भाइ प्रकाश राजबंशी २०७२ साल असार १५ गते बैदेशिक रोजगारीको सिलसिलामा युएई गएका थिए । ‘सेल्स मेनको काम छ, राम्रो तलव र सुविधा छ’ भन्दै विश्वास दिलाएर डाँगीवारी चाक्रावस्ती घर भएका एजेन्ट गोपाल राजबंशीले प्रकाशको परिवारसँग ८० हजार रुपैयाँ लिएका रहेछन् ।

प्रकाशले युएईमा भने जस्तो काम र दाम दुबै पाएनन् । त्यहाँ पुगेर उनले ट्रलीव्वाइको काम गर्नु पर्यो । उनलाई काममा पठाउनका लागि श्रम स्वीकृति लिने प्रक्रिया समेत पूरा गरिएको रहेनछ । उनको इन्सुरेन्स पनि गरिएको थिएन ।

ललिताले आफ्नो भाइ मेनपावरको एजेन्टको ठगाइमा परेको रुँदै रुँदै बताएकी थिइन् । डिप्रेसनमा परेका प्रकाशको गत मङ्सिर २८ गते युएईको आजमान लुलुस्थित सात तला माथिको झ्यालबाट खसेर घटनास्थलमै मृत्यु भएको थियो ।

श्रम स्वीकृति नलिइएको, इन्सुरेन्स समेत नगरिएको कारण उनको मृत्युमा समेत परिवारजनले कुनै राहत पाउन सकेनन् ।
‘मेरो भाइलाई ठगी गर्ने गोपाललाई कार्वाही गराउन तपाइँहरूसँग सहयोगका लागि अनुरोध गर्दछु’, ललिता भन्दै थिइन् । उनले गोपाललाई फोनबाट सम्पर्क गर्दा ‘मलाई फोन नगर, जहाँ जान्छ्यौँ जाउ, तिमीले केही पनि गर्न सक्दैनौँ’ भनेर उल्टै धम्क्याएको बताइन् ।

मास्टर्स डिग्री गरेकी ललिताले आफु पढेलेखेको व्यक्ति भएर पनि ठगीविरुद्ध कार्वाहीका लागि केही गर्न नसकेकोमा खिन्नता व्यक्त गरिन् । गाउँलेहरूसँग कार्वाहीका लागि हारगुहार गर्दा ‘तिमी छोरी मान्छे हौँ, तिम्रो कुरा कसैले सुन्दैन, बरु सहेरै बस्’ भनेर सम्झाउने गरेको समेत उनले गुनासो गरिन् ।

रुँदा रुँदै मन्तव्य सकाएकी उनलाई कार्यव्रmमपछि अतिथि, आयोजक र पत्रकारहरूले ठगी गर्ने व्यक्तिलाई कार्वाही गराउन सहयोग गर्ने आश्वासन दिएका थिए ।

झापाली युएई समाजकी आजीवन सदस्य टीका प्रसाइँले प्रकाशलाई भिजिट भिसामा नेपालबाट पठाइएको र त्यहाँ पुगेर कठिन काममा लगाइएको पाइएको बताइन् ।

शिवाकोटी मेनपावर सर्भिस् प्रालिका प्रबन्ध निर्देशक भुपाल शिवाकोटीले अनाधिकृत एजेन्टको बदमासीले प्रकाश राजबंशीलाई प्रव्रिmया पूरा नगरी विदेश पठाइएको हुनसक्ने बताउँदै यस्तो गलत कार्य गर्नेलाई कार्वाही दिलाउन सहयोग गरिने बताए ।

विदेशमै मृत्यु भएका प्रकाशलाई एक महिनापछि शब बल्ल घर ल्याइएको थियो । उनका पिताको १२ बर्ष अघि नै निधन भइसकेको थियो । उनको ललितासहित ३ दिदीबहिनी र दुई भाइ रहेका छन् । आमा फागुनीदेवी वृद्धा अवस्थामा रहेकी छन् ।

कार्यक्रममा नेपाल महिला सङ्घ झापाकी सभापति सुशिला ढकाल, तमलोपाका केन्द्रीय सदस्य त्रिनारायण राजबंशी, समाजसेवी रमेशकुमार श्रेष्ठ, समाजकी सदस्य टीका प्रसाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा दुबै मिर्गौला खराब भएका खुदुनावारी–८ की चन्द्रमाया सार्की र कनकाई–४ का मानबहादुर बजगाइँलाई समाजका तर्फबाट उपचार सहयोग स्वरुप जनही २५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

कनकाई–५ की मिर्गौला खराव भएकी डम्वरकुमार रम्तेललाई समेत १० हजार रुपैयाँ तत्काल सहयोग उपलब्ध गराइएको थियो भने आयोजकले दुबईमा दुर्घटनामा परेर मृत्यु भएका भुवन भण्डारी र मिर्गौला ड्यामेज भएर मृत्यु भएका किशोर जोशीको परिवारलाई किरिया खर्च वापत ४० हजार रुपैयाँ प्रदान गरिएको जनाइएको थियो ।

समाजसेवी इन्दिरा उप्रेतीको सभापतित्वमा भएको कार्यक्रममा झापाली युएई समाजका सदस्य तथा शिवाकोटी मेनपावर सर्भिस् प्रालिका प्रबन्ध निर्देशक भुपाल शिवाकोटीले कार्यव्रmमको औचित्यमाथि प्रकाश पार्दै आपतविपत र कठिनाईमा परेका झापालीलाई समाजले विभिन्न सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिएका थिए ।

प्रतिदिन दैनिकका सम्पादक राजेन्द्र गौतमले उद्घोषण र महेश्वर उप्रेतीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यव्रmममा नेपाली काङ्ग्रेस कनकाईका सभापति नेत्र चिमरिया, कनकाई सामुदायिक वनका अध्यक्ष रुद्र चिमरिया, तरुण दलका जिल्ला नेता तुलसी बिमली, युनाइटेड रिभरसाइड युवा फाउन्डेसनका अध्यक्ष लव घिमिरे, लोकतन्त्र पोस्टका प्रधान सम्पादक मोहन काजी लगायत अतिथि रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: