झापा । दोस्र्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदान गर्ने क्रममा झापा र इलाममा गरी दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक नगरपालिका–९ स्थित हिमाली टोलका ८५ वर्षीय नरेन्द्र भण्डारी र इलाम रोङ गाउँपालिका–३ निवासी चेतनाथ आचार्यको मृत्यु भएको हो ।
भण्डारी दमकस्थित सरस्वती उच्च माविको मतदान केन्द्रमा मतदानका लागि गएका थिए । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब निरीक्षक वीरेन्द्र कोइरालाका अनुसार मतदानका लागि नाम रुजु गरी मतपत्र लिएर मतदान गर्न जानेक्रममा अस्वस्थ भएपछि उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लैजाने क्रममा बिहान ७ः४० बजे बाटोमै मृत्यु भएको हो । मृतक भण्डारी मुटु रोगी रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, इलाम रोङ गाउँपालिकाको कोल्बुङ मतदानस्थलमा मतदान गरी फर्किने क्रममा आचार्य बेहोस भइ लडेका थिए ।
बाटोमा एक्कासी बेहोस भएर लडेका आचार्यलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ । उनको अस्पतालमै उपचारको क्रममा मृत्यु भएको स्थानीयवासी गणेश अर्यालले जानकारी दिए । रोङ गाउँपालिका–३ निवासी आचार्य दिउँसो १२ बजे मतदान गरी घर फर्किरहेका बेला बेहोस भएका थिए ।