मतदाता भन्छन् ‘कामका आधारमा भोट दिन्छौँ’

  प्रकाशित मिति
२६ जेष्ठ २०७४, शुक्रबार ११:३७


arjundhara (2)

बिर्तामोड । मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्रको रुपमा परिचित बिर्तामोड नगरपालिकाका टोलटोलमा यतिबेला चुनावी चर्चा चुलिएको छ । मतदाताहरु नगरका प्रमुख, उपप्रमुख र वडाका प्रतिनिधिका रुपमा विभिन्न दलबाट प्रत्यासी उम्मेद्वारको विश्लेषण गर्नमा व्यस्त छन् ।

‘सवाल कुन पार्टीलाई जिताउने होइन, राम्रो एवम् प्रभावशाली व्यक्ति को हो भन्ने नै हो’, ४४ वर्षीय तेजमणि प्रसाई भन्छन् । बिर्तामोड नगरपालिका–१ का यी शिक्षित युवा राजनीतिक दलको भावनामा बगेर मत खसाल्दा गलत व्यक्ति चुनिन सक्ने जोखिम औँल्याउँछन् । चुनावमा खर्च गर्न सक्नेलाई मात्र पार्टीले टिकट दिने र आर्थिक सम्पन्नताकै भरमा चुनाव जितिन्छ भन्ने पुरानो सोचलाई अब बदल्नुपर्ने उनको ठम्याइ छ ।

स्थानीय तहमा आउने करोडौँ रुपैयाँ बजेट भरपूर परिचालनका लागि कुशल जनप्रतिनिधिको आवश्यकता रहनेमा प्रसाईले जोड दिए । चुनाव नजिकिँदै गर्दा बिर्तामोड नगरपालिकामा मतदाता उम्मेद्वारप्रति गहिरो चासो व्यक्त गर्न थालेका छन् । दलहरु पनि बाजागाजासहित जुलुस र ¥याली निकालेर चुनावी प्रचारमा व्यस्त छन् । उनीहरुले वडापिच्छे सम्पर्क कार्यालय खोलिसकेका छन् । घोषित उम्मेद्वारले मतदातासँग भेटघाट बढाएका छन् । हिजोअस्तिसम्म टोल छरछिमेकमा वास्तै नगर्नेहरु उम्मेद्वार बनेपछि टाढैबाट भए पनि अभिवादन गर्न थालेका छन् ।

‘अरु बेला भेट हुँदा नबोल्ने नेताहरु उम्मेद्वार बनेपछि नरम स्वरमा भोट माग्न आइरहेका छन्’, एक स्थानीयले भने, ‘हामीलाई भोट बैङ्कका रुपमा मात्र हेर्नेलाई भन्दा हाम्रा समस्यालाई नजिकबाट नियाल्ने उम्मेद्वारलाई जिताउन हामी लागिपरेका छौँ ।’

mechinagar- 7 madan basti (2)

यतिबेला चिया पसलदेखि स्कुल–कलेज र चोकगल्लीमा चुनावकै चर्चा सुनिन्छ । बिर्तामोडका समस्या र मेयर, उपमेयरका प्रत्यासीका बारेमा मतदाता छलफलमा व्यस्त छन् । फोहोरमैला व्यवस्थापन, ढल निकास, व्यवस्थित सडक, सर्वसुलभ सञ्चार सेवा, जेब्रा क्रससहितको प्रभावकारी ट्राफिक व्यवस्थापन, सुविधासम्पन्न बसपार्क र पार्किङ बिर्तामोड नगरपालिकाका साझा समस्या हुन् ।

निर्वाचित जनप्रतिनिधिले पाँच वर्षमा यी काम मात्र गरिदिए जनताले अर्को पटक पनि उसैलाई विजयी बनाउने बिर्तामोडका व्यवसायी विपिन कोइराला बताउँछन्, ‘यति ठूलो नगरपालिकामा ढलको समेत व्यवस्था छैन, बिर्तामोड बजारमै व्यवसाय गर्दै आएका उनी भन्छन्, ‘दुर्गन्धित नालाले गर्दा बजारमा माक्स नलगाइ हिँड्न सक्ने अवस्था छैन ।’ बिर्तामोडलाई समृद्ध बनाउन प्रष्ट भिजन भएका जनप्रतिनिधि चुन्नुपर्ने उनको कथन छ ।

बिर्तामोड नगरपालिकामा प्रमुख राजनीतिक दलले उम्मेद्वार छनोट टुङ्ग्याएसँगै चुनावी सरगर्मी बढेको छ । नेकपा एमालेका तर्फबाट ध्रुवकुमार शिवाकोटी मेयरको उम्मेद्वार रुपमा चुनावी मैदानमा उत्रिएसँगै चुनावी माहोल तात्तिएको हो ।

नेपाली काङ्ग्रेसबाट जलकुमार गुरुङ, एमालेबाट ध्रुवकुमार सिवाकोटी, माओवादी केन्द्रबाट सीपी कडरिया र राप्रपाबाट भक्ति सिटौला बिर्तामोड नगरपालिकाको मेयरका लागि चुनावी मैदानमा उत्रिएका छन् । सबै उम्मेद्वार आआफ्नो प्रतिबद्धतासहित मतदाताको घरदैलोमा पुग्न थालेका छन् ।

स्थानीय तहको चुनाव भएका कारण यो चुनाव संसदीय चुनावभन्दा भिन्न हुने दलका नेता कार्यकर्ता बताउँछन् । मतदाता पनि गत निर्वाचनको जस्तो झुटा आश्वासनका भरमा यसपटक मतदान नगर्ने मुडमा छन् । ‘अघिल्लो पटक भोट माग्न आउँदा सुकुम्बासी समस्या समाधान गर्ने वाचा गरेका नेता सांसद भए तर फर्किएर आएनन्, समस्या समाधानका लागि कुनै पहल पनि गरेनन्, सुकुम्बासी बस्तीका जयसिंह राजवंशीले भने । यसपटक भने आफूहरु झुटा आश्वासनमा विश्वास नगर्ने उनले बताए । ‘हामी अहिलेसम्म गरेको कामका आधारमा यसपटक भोट दिन्छौँ’, उनले भने ।

uml office

बिर्तामोड नगरपालिकाका मेयरका प्रत्यासी सबै अब्बल देखिन्छन् । नेपाली काङ्ग्रेसबाट प्रत्यासी जलकुमार गुरुङ बिर्तामोड खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष एवम् झापा फुटबल सङ्घका अध्यक्ष हुन् । एमालेका प्रत्यासी ध्रुवकुमार सिवाकोटी तत्कालीन अनारमनी गाविसका अध्यक्ष हुन् । राप्रपाका प्रत्यासी भक्ति सिटौला पनि सामाजिक रुपमा परिचित छन् । सबैभन्दा कान्छो उम्मेद्वारका रुपमा माओवादी केन्द्रबाट चुनावी मैदानमा उत्रिएका सीपी कडरिया झापामा विकासे नेताका रुपमा परिचित छन् ।

पछिल्लो समय उनले विकास निर्माणका लागि महत्वपूर्ण योगदान गरेको बताइन्छ । बिर्तामोडको १० वटै वडामा विकास निर्माणका योजना पु¥याएका सीपी जनताका सामु लोकप्रिय छन् । ‘मन्त्री, सांसदले गर्न नसकेको विकास निर्माणका काम सीपी कडरियाले गर्नुभएको छ’, गरामनीका नरेन्द्र फुँयलले भने, ‘उहाँ यस क्षेत्रमा विकासे नेताको रुपमा परिचित हुनुहुन्छ ।’

सीपीले देउनिया–पाथीभरा सिँचाइ योजना भद्रपुर नगरपालिकामा ६५ करोड, टाघनडुब्बा र कुमरखोदमा खोनपानी ट्यांकी निर्माणका लागि ३० करोड, बङ्गुरभिट्टा सिँचाइ योजना बिर्तामोड नगरपालिका–६ मा १० करोड, हर्चना–तिनमुखे पैनी निर्माणमा सात करोड, बिर्तामोड–८ मा भिरचुली खोलामा पुल निर्माणका लागि एक करोड १० लाख, बिर्तामोड–१० मा कालीखोला–जर्मनडाँडामा पुल निर्माणका लागि १४ लाख, बिर्तामोड पश्चिम बस स्टेण्डबाट काली मन्दिरसम्मको बाटो कालोपत्रे गर्न ५० लाख, महानन्द चोक हुँदै, सहरेडाँगी जाने बाटोका लागि ५० लाख, सहिद चन्द्रमार्गका लागि ४५ लाख, बिर्ताबजार पूर्व लोकमार्गका लागि १७ लाख, सम्झनाचोक हुँदै सावडिग्री गोलधाप जोड्ने बाटोका लागि ४२ लाख, बिर्तामोड–२ मा श्रीहरि सामुदायिक भवन निर्माणका लागि १५ लाख, देउनिया खोलामा नदी नियन्त्रणका लागि ५५ लाख रुपैयाँ बजेट ल्याएर जनताको मन जित्न सफल भएको फुँयलले बताए ।

सीपीले पूर्वमै पहिलो पटक बिर्तामोडमा विषादी परीक्षण प्रयोगशाला निर्माणका लागि एक करोडभन्दा बढी बजेट ल्याएर काम सुचारु भएको छ । उनकै पहलमा बिर्तामोडका–१, ४, ५, ६ र १० नम्बर वडामा सहरी स्वास्थ्य चौकी सञ्चालनमा आएका छन् ।

विकास निर्माणमा अब्बल मानिने सीपीलाई बिर्तामोड नगरपालिकाको मेयरमा विजय गराउन युवाहरु सीपी कडरिया जिताउ अभियानमा लागेका छन् । स्थानीय तहको निर्वाचनमा पार्टी भन्दा व्यक्ति चुन्नुपर्ने बताउँछन्, स्थानीय श्री सिटौला । ‘यो निर्वाचन नेपालको इतिहासमै पहिलो पटक हुँदैछ’, उनले भने, ‘विकास निर्माण लगायत सम्पूर्ण काम अब स्थानीय तहबाटै हुने कारणले सक्षम जनप्रतिनिधि चुन्नुपर्छ ।’ नेताका झुटा आवश्वासनको पछि नलागी हिजो कसले के गरेका छन्, त्यसकै आधारमा मतदान गर्नुपर्ने उनको धारणा छ ।

चुनावको मिति नजिकिँदै जाँदा दलहरुले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । सबै दल आआफ्नो पक्षमा माहोल बनाउन तल्लीन छन् । बिर्तामोडको विकास तथा समृद्धिका लागि उम्मेद्वारले आआफ्ना धारणा सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: